कर्णालीकाे राजनीति राेचक बन्दै, एक भाेट निर्णायक हुने

आज मुख्यमन्त्री महेन्द्र बहादुर शाही सत्ता रहिरहने वा सत्ता च्युत हुने निर्धारण हुनेछ।

यसले फेरि एकपटक नेपाली राजनीतिकाे ध्यान कर्णालीतिर खिचेकाे छ। नेकपा टुक्रिएर बनेकाे नेकपा माओवादी केन्द्रको नेतृत्वको सरकार यतिबेला अल्पमतमा छ।

फुटेर अलग भएकाे नेकपा एमाले प्रमुख पार्टी भइकन पनि सरकारकाे नेतृत्वबिहिन छ। हाल पुरै देशकाे ध्यान कर्णालीतिर खिचिनुकाे कारकाे एमालेले आफ्नाे नेतृत्वमा सरकार बनाउने खेल सुरु गर्नु हाे। 

एक महिनाअघि नै प्रदेशकाे प्रमुख पार्टी नेकपा एमालेले सरकारलाई दिएकाे समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अल्पमतमा परेका थिए। यसैबीचमा उनी भोलि विश्वासको मत लिने तरखरमा छन्। हाल आएर उनकाे सरकार भिरनेरकाे गाईजस्ताे छ। जसलाई बाहिरबाट हेर्नेले रामराम मात्र भन्ने सकिने स्थिति छ।



सरकार नछाड्ने 'मुड'मा मुख्यमन्त्री शाही



रामरामकाे स्थितिबाट उनी यसअघि दुई पटक उम्किसकेका छन्। त्यसबेला लड्नै लाग्दा केन्द्रीय नेतृत्वको छलफलले काँध थापिदिएकाे थियो। काम गर्न नसकेको भन्दै दुईपटकसम्म माओवादी र एमालेका सांसदहरुले सरकार ढाल्न हस्ताक्षर अभियान नै चलाए। त्यहि विवादको धक्का केन्द्रसम्म पनि पुगेकाे थियाे। 

नेकपा विभाजनको बिउ कर्णालीबाटै रोपिएको मानिन्छ। यद्यपि हाल आएर  एमालेले औपचारिक रुपमै सरकारलाई दिएकाे समर्थन लिइसकेको छ। त्यसले मुख्यमन्त्री शाही विश्वासको मत लिने बाध्यात्मक अवस्थामा पुगेका हुन।

कर्णाली प्रदेशसभामा नेकपा एमालेले एक्लै सरकार बनाउने संख्या हिजाेपनि थियाे र आज पनि छ। तर, पनि एमाले र माओवादीकाे एकता पछि बनेकाे नेकपा डबलले एकता जाेगाउन भागबन्डाको राजनीति जर्‍याे। परिणाम कर्णाली प्रदेश नेकपा माओवादी केन्द्रको भागमा परेपछि एमालेले सरकारकाे नेतृत्व लिन पाएकाे थिएन।

केन्द्रीय राजनीतिमा प्रभाव जमाइसकेका मुख्यमन्त्री महेन्द्रबहादुर शाही ऊर्जामन्त्री भएका थिए। त्यसमाथि संसद्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोगको प्रस्ताव नै ल्याएपछि राष्ट्रिय राजनीतिमा उनकाे चर्चा चुलिएकाे थियाे। तर, प्रदेशसभाको निर्वाचन जितेर मुख्यमन्त्री हुने महत्वाकांक्षाले उनी संघमा निर्वाचन छाेडेर प्रदेश सभामा लडेका थिए। जुम्लाबाट नरेश भण्डारी प्रदेश सभामा चुनाव लडेर जितेर मुख्यमन्त्रीकाे प्रतिस्पर्धामा भएपनि सरकारकाे नेतृत्व शाहीकै पाेल्टामा परेकाे थियाे।



कर्णाली प्रदेशसभाकाे कार्यव्यवस्था समिति बैठक बस्दै, मुख्यमन्त्रीले विश्वासको मत लिन १ दिन मात्र बाँकी



सरकार ढाल्न सकेपछि मुख्यमन्त्रीकाे सम्भावित उम्मेदवार तथा नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कंडेल पनि पूर्व पर्यटनमन्त्री हुन भने नेकपा एमालेभित्र कर्णालीमा निकै लोकप्रिय नेता पनि।

मुख्यमन्त्री बन्ने लालसाका कारण संघमा पाएको टिकट त्यागेर प्रदेशमा आएका उनका लागि पार्टी एकाता र भागबण्डा तगाराे बन्याे।  संसद्मा एमालेले एक्लै बहुमत ल्याएर पनि उनी मुख्यमन्त्री हुन नपाउनु दुर्भाग्य नै मान्नुपर्छ। तर यतिबेला भने एमाले सत्ता हत्याउन न्वारान देखिकाे बल लगाइरहेको छ।

यसअघि मुख्यमन्त्री शाहीविरुद्ध हस्ताक्षर अभियान चलाउँदा त्यसको मुख्य योजनाकार पनि यामलाल कँडेलनै भएको आरोप लाग्दै आएको छ। अहिले पुनः सत्ताको बागडोर उनै कँडेलको हातमा आइपुग्ने सम्भावना छ। 

नेकपा विभाजनपछि तल्लो तहसम्म एमालेभित्र विवाद देखिएको छ। तर, कर्णालीमा पनि त्यो विवाद लामो समय रहन पाएन। बरु पार्टी भित्रबाट एकाताकाे सन्देश दिने भनेर एमाले कर्णालीका नेताहरु लागेका छन्।सुरुमा माओवादीलाई नै समर्थन गर्ने अडान लिए पनि कर्णालीमा एमाले विभाजित नगर्ने भन्दै माधव नेपाल पक्षका नेताहरुले पनि एक ढिक्काकाे सन्देश बाँडिरहेका छन्।

माधव नेपाल समूहका तीन जना मन्त्री दल रावल, प्रकाश ज्वाला र नन्दसिंह बुढाले राजीनामा दिँदै संसदीय दलको निर्णय मान्ने बताएपछि मुख्यमन्त्री शाही विश्वासको मत लिने निर्णयमा पुगेका थिए।

हाल कर्णालीमा सत्ताका लागि रस्साकस्सी चलेको छ। संसद्मा भएका जम्मा ४० सिटमध्ये एमालेतिर लागेका धर्मराज रेग्मीलाई माओवादीले कारबाही गरेपछि अब ३९ सिट मात्र बाँकी छ। सभामुखलाई छाडेर भोलिको मतदानमा एमालेका तर्फबाट मत दिने १९ सांसद छन्।



मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिन माओवादीको अपील



मुख्यमन्त्री शाहीतिर १२ माओवादी, ६ कांग्रेस र १ राप्रपा मिल्ने हो भने पनि १९ नै पुग्छ। यस्तोमा मत बराबर भएमा सभामुख नै निर्णायक हुनेछन्। सभामुख एमालेकै भएका कारण भोलिको मतदानमा मुख्यमन्त्री शाहीले विश्वासको मत आफ्नो पक्षमा पार्न नसक्ने चर्चा छ। तर, अहिलेसम्म कांग्रेस र राप्रपाले कसलाई सहयोग गर्नेभन्ने निर्णय गरिसकेका छैनन्। यद्यपि माओवादीले भने आलोपालो सरकार चलाउने प्रस्ताव कांग्रेसलाई दिएको छ।

नेकपा एमालेले पनि कांग्रेस र राप्रपालाई फकाइरहेको छ। आफूसँग स्पष्ट बहुमत हुँदा हुँदै पनि भोलिको मतदानमा आन्तरिक धोका भएमा समस्या पर्नसक्ने भन्दै व्याकअपका लागि कांग्रेस र राप्रपालाई फकाउन लागेको हो।

त्यसमाथि भर्खरै राजिनामा दिएका नन्दसिंह बुढा र दल रावलले मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई मत दिने हल्ला चलिरहेकाे छ। उनीहरु दुबै जना स्पष्टीकरण दिने अवस्थामा पुगेका छन्। 'निष्ठाकाे राजनीति गर्छाैं। मुख्यमन्त्रीकाे पक्षमा मतदान गर्छन् भन्ने हल्ला मात्र हाे।', उनीहरुकाे स्पष्टीकरण छ। 

एकै दिनमा आनका तान बदलिन सक्ने नेपाली राजनीतिकाे नतिजालाई अहिले नै अनुमान गर्न सकिने अवस्था छैन। त्यसैले घर्किरहेकाे समयलाई पर्खनु  सिवाय अर्काे विकल्प छैन।

प्रकाशित मिति: : 2021-04-16 06:37:00

प्रतिकृया दिनुहोस्