अनुमा श्रेष्ठ आत्महत्या प्रकरण

वीर अस्पतालकी मृत नर्स अनुमाकाे परिवारले डा.सुजनविरुद्ध मुद्दा दर्ता गर्‍याे, पक्राउकाे तयारी

फाइल तस्बिर: मृत नर्स अनुमा श्रेष्ठ।

शनिबार अपराह्न प्रेमीको घरमा मृत अवस्थामा भेटिएकी वीर अस्पतालकी नर्स अनुमा श्रेष्ठका परिवारले आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता गराएका छन्।

परिवारले प्रेमी भनिएका डा.सुजन ढकाल तथा उनका बुबाविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दिएका हुन्। विवाह गर्न अस्वीकार गरी आत्महत्या गर्न बाध्य बनाएको भन्दै अनुमाको परिवारले उनीहरुविरुद्ध प्रहरी वृत्त बालाजुमा जाहेरी दर्ता गरेका हुन्।

प्रहरी वृत्त बालाजुका डिएसपी मनोजित कुँवरकाअनुसार मृतक श्रेष्ठको परिवारले आइतबार नै ढकाल तथा उनका बुबाविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिएका हुन्। जाहेरी दर्ता भई हाल अदालतबाट पक्राउ पुर्जी लिने तयारी भइरहेको र पुर्जी प्राप्त भएपछि पक्राउ गरी आवश्यक अनुसन्धान थालिने डिएसपी कुँवरले बताए।

लामो समय प्रेम सम्बन्धमा रहे पनि विवाह गर्न अस्वीकार गरेको भन्दै वीर अस्पतालमा कार्यरत ३४ वर्षीय श्रेष्ठले शनिबार प्रेमी सुजन ढकालको बोहोराटारस्थित घरमा पुगेर आत्महत्या गरेकी थिइन्। मृतक श्रेष्ठकी काकी सिर्जना श्रेष्ठकाअनुसार प्रेमी ढकाल र उनका बुबाले विवाहका लागि अस्वीकार गरेका थिए।

सिर्जनाकाअनुसार अनुमाको सोह्रखुट्टेमा कोठा थियो भने सुजनको घर बालाजु बोहोराटारमा रहेको थियो। अनुमा बेलाबेलामा सुजनकै घरमा समेत गएर बस्ने गरेकी थिइन्। अनुमाले विवाहका लागि पटक–पटक आग्रह गर्दा पनि केटा पक्षले अस्वीकार गरेको बताइएको छ। अनुमाले आत्महत्या गरेकै स्थानबाट एउटा डायरी बरामद भएको प्रहरीले जनाएको छ। बरामद भएको डायरीमा अनुमाले आफ्नो जीवन भोगाइ, प्रेम सम्बन्ध, विवाहका लागि भएको प्रयास र केटापक्षको परिवारले गरेको अस्वीकार लगायतको विषयमा उल्लेख गरेकी छिन्।

अनुमाको शवसँगै भेटिएको ‘सुसाइड डायरी’मा आफूले दुई पटकसम्म गर्भपतन गराएको, प्रेमीका बुवाले विवाह गर्न नदिएको लगायतका कुरासमेत समावेश गरेकी थिइन्। सोही कुरा र आरोपलाई प्रमाणका रूपमा लिएर प्रेमी ढकाल र बुबाविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिइएको हो।

प्रकाशित मिति: : 2023-05-01 16:32:00

प्रतिकृया दिनुहोस्