सार्वजनिक भएको २४ घण्टामा गायक/सर्जक प्रकाश सपुतको गीत ‘मेरो पनि होइन र यो देश?’ युट्युब ट्रेन्डिङको पहिलो स्थानमा उक्लेको छ।
सपुतले राष्ट्रिय एकता र सांस्कृतिक विविधतालाई गीतमा उठान गरेका छन्। समाजका विविध मुद्दालाई आफ्ना सिर्जनामा मुखरित गर्न पोख्त सपुतको उक्त गीतमा देशप्रतिको गौरव र गुनासो मिश्रण छ।
राष्ट्रव्यापी प्रतिभाको खोजी कार्यक्रममा सपुतसहितका कलाकार ‘अनागरिक समूह’ बनाएर प्रतिस्पर्धामा भाग लिएको दृश्य भिडियोको शुरुमा देखापर्छ। ‘अनागरिक समूह’बारे निर्णायकको प्रश्नमा सपुतले दिएको जवाफ मर्मस्पर्शी लाग्छ।
सपुतले आफै रचेको गीतमा सङ्गीत पनि उनले नै दिएका छन्। मूल स्वर सपुतकै रहेको उक्त गीतको समूहगत गायनमा उनलाई कलाकार देवेन्द्र बब्लु, सुनिल विकलगायतले सघाएका छन्।
बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मिएका सपुतका यसअघि सार्वजनिक ‘बोलमाया’, ‘गलबन्दी’, ‘फुटेका चुरा’ लगायतका गीतलाईसमेत युट्युबमा सर्वाधिक रुचाइएको थियो।