मधेसका अधिकांश मुद्दा फिर्ता

काठमाडौैं : सरकारले तराई/मधेसको माग सम्बोधन गर्न थालेको छ। मन्त्रिपरिषद् बैठकले तराई/मधेस आन्दोलनमा संलग्न १ सय २० जनाको १५ वटा मुद्दा ‘राजनीतिक निर्णय’का आधारमा फिर्ता लिएको छ। जनता समाजवादी पार्टी (जसपा)सँगको प्रतिबद्धताअनुसार मुद्दा फिर्तासहितको माग सम्बोधन गर्न सरकारले सुरुवात गरेको देखिन्छ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मुद्दा फिर्तासम्बन्धी विशेष निर्णय मन्त्रिपरिषद्ले गरेको जानकारी दिए। नेपाल सरकार वादी भई चलाएको फौजदारी मुद्दाहरू फिर्ता लिनेसम्बन्धी निर्देशिका २०७७ बमोजिम १ सय २० जना संलग्न १५ वटा मुद्दा फिर्ता लिइएको मन्त्री गुरुङले बताए।  

‘विशेषतः यो मधेस आन्दोलनमा मधेसवादी राजनीतिक दल जनता समाजवादी पार्टी (जसपा)को मुद्दा फिर्ता हो’, मन्त्री गुरुङले बुधबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै भने, ‘यो १५ वटा मुद्दा १ सय २० जनाचाहिँ मधेसवादी विभिन्न आन्दोलनबाट उहाँहरूको जुन मुद्दा थियो, त्यो मुद्दाको फिर्ता हो।’ उनले मधेसवादी दल, मधेसी जनताले आन्दोलन गरेर उनीहरूलाई विभिन्न मुद्दा लाग्नुपर्ने र लगाउनुपर्ने कुरो अन्त्य गर्ने अभियानबाटै मन्त्रिपरिषद्ले यो निर्णय गरेको सुनाए। नेत्रविक्रम चन्दसँग सम्बन्धित, अन्य दलहरूले उठाएको मुद्दासँग सम्बन्धित मुद्दा फिर्ता हुने क्रममा रहेको उनको भनाइ थियो।

टीकापुर घटनामा मुछिएका रेशम चौधरीको हकमा भने मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले कसरी अघि बढ्ने विषयमा सरकार र जसपा दुवैले बाटो खोजिरहेका छन्। महान्यायाधिवक्ताको कार्यालयले चौधरीको मुद्दा सर्वोच्च विचाराधीन रहेकाले फिर्ता लिन नसक्ने राय दिएको छ।

सबैभन्दा धेरै जसपा अध्यक्ष महन्थ ठाकुरको गृहजिल्ला महोत्तरीका व्यक्तिको मुद्दा फिर्ता भएको छ। मुद्दा फिर्ता हुनेमा महोत्तरीको साविकको भमरपुरा गाविसका मनिर राइन, गणेश ठाकुर, राजीव ठकुर, नसिब राइन, दुखी मण्डल, साविकको रघुनाथपुर गाविस ६ का भरत यादव, फूलबाबु यादव, जितेन्द्र यादव, देवेन्द्र यादव, राजकुमार यादव, मनोजकुमार यादव छन्। महोत्तरीकै साविक गौशाला नगरपालिका ६ का रिझन महतो, हरिनारायण साह, हरिनारायण महतो, गुदर महतो, साविकको फुलकाहा गाविस ३ का विजय साह, साविक सोनामाइ गाविस  ३ का वीरेन्द्र ठाकुर, साविक पिपरा गाविसका सन्तोष मिश्र, श्रवण मण्डल, लक्ष्मणमहासेठ, रवीन्द्र ठाकुर, शेखर मिश्र, महेन्द्र पासवान, रामनाथ पासवान, सञ्जय मिश्रको मुद्दा फिर्ता भएको छ। महोत्तरीकै साविक इँटाहर्वाकटीका कृष्णदेव शर्मा, जितेन्द्र चौधरी, राजीव ठाकुर, विमलेश चौधरी, चन्दे पासवान, लालबाबु ठाकुर, लवदेव ओझा, पंकज ओझा, विनयकुमार पाण्डे, जयराम तिवारी, सुरेश पाण्डे, सुरेश पण्डित, साविक धिरापुरका रामप्रवेश मण्डल, विपिन झा, मंकेश्वर ठाकुर, सञ्जय राय छन्। 

प्रकाशित मिति: : 2021-04-29 09:59:00

प्रतिकृया दिनुहोस्