सरकार ! नागरिकको मृत्युमाथि कमिसन नखोज

नागरिकको जीवनमाथि पनि कमिसनको अवसर खोज्‍ने सरकासँग अब हामीले के अपेक्षा गर्ने ?

यतिबेला कोरोनाको कहरसँगै सिंगो मुलुक रोइरहेको छ। तर हाम्रा दल र नेताहरू सत्ताको खेलमा रमाइरहेका छन्। उनीहरूको रमिता हेर्दा लाग्छ, उनीहरुलाई कोरोनासँग कुनै परवाह छैन। न त नागरिकको अवस्थाप्रति उनीहरू अलिकति पनि संवेदनशिल देखिन्छन्।

सत्ताको खेलको पुरानै विकृत चित्र र चरित्र फेरि दोहोरिने खतरा छ। राजनीतिको यो फोहरी दृश्य देखेर नागरिक  निकै दिक्क र निराश भएका छन्। अस्पतालमा बेड र अक्सिजन नपाएर कोरोना संक्रमित छटपटाइरहेका छन्।

नागरिक कोरोनासँग यति सकसका साथ संघर्ष गरिरहेका बेला कोरोनाविरुद्धको खोप कमिशनको चक्करमा अड्किएको निकै घिनलाग्दो सत्य खुलासा भएको छ। नागरिकको मृत्यु कुरेर सरकार कमिसनको सेटिङ मिलाउँदैछ। संकटमा नागरिकको जीवन रक्षाको दायित्व लिनुपर्ने सरकारको यो भन्दा लाजमर्दो र घिनलाग्दो चित्र एवं चरित्र अरु के हुन्छ?

कमिशनको किचलोले रकम भुक्तानी भइसकेको थप १० लाख खोप अड्कियो भने थप ५० लाख खोपको खरिद पनि अन्योलमा पर्‍यो। ६० लाख खोप समयमै आइपुगेको भए धेरै नागरिकको ज्यान जोगिने अवस्था हुन्थ्यो।अहिलेसम्म झन्डै ४ लाखले मात्र दुवै डोज खोप लगाएका छन्।

प्रकाशित मिति: : 2021-05-09 16:10:00

प्रतिकृया दिनुहोस्