निर्देशक तथा निर्माता अशोक शर्माले कोरोनाले फिल्म क्षेत्रलाई १० वर्ष पछाडि धकेल्ने बताएका छन्।
आइतबार नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको ‘कोभिडपछिको फिल्म बजार’ शीर्षकमा बोल्दै कोरोनाले अरु क्षेत्रभन्दा फिल्म क्षेत्र सबैभन्दा बढी मारमा परेको बताएका हुन्।
कोरोनाले दर्शकको हलमा गएर फिल्म हेर्ने बानी हराएकाले फिल्म क्षेत्र पुरानो अवस्थामा फर्किन सहज नहुने उनको भनाइ छ।
‘कोरोनाले नेपाली फिल्म क्षेत्रलाई १० वर्ष पछाडि धकेल्छ। कोरोनाले सिनेमा हेर्ने दर्शकको बानीमा ब्रेक लागेको छ। स्थिति सामान्य भएर फिल्म प्रदर्शन हुन थाल्यो भने पनि केही समय दर्शक हलमा आउँदैनन्। सिनेमा हलमा दर्शक ल्याउनका लागि हामीले एकदमै ठूलो मिहिनेत गर्नुपर्छ।’
कोरोनाले निर्माण सकेर रिलिजको तयारीमा रहेका फिल्मका निर्माता बढी मारमा परेको बताउदैं उनले भने, 'कोरोनाले सरभाइभ हुने अवस्था नभएपछि जय नेपाल हल सधैंका लागि बन्द भयो। कोभिडपछि देशभर २२ वटा सिनेमा हल सधैंका लागि बन्द भइसकेका छन्। यस्तै अवस्था रहे मल्टीप्लेक्सहरु पनि टिक्ने अवस्थामा छैन।'