पूर्वी मोरङमा कांग्रेसको बिडम्वना ! को हुन् फागो ? के हुन् फागो ? 

गत मंसिर ९ गते उर्लाबारी आएका तत्कालीन शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले मेयर खड्ग फागोलाई आगामी निर्वाचनमा एमालेको 'सूर्य चिन्ह' लिएर चुनाव उठ्न आग्रह गरे। विपक्षी पार्टीका मन्त्रीले सार्वजनिक मञ्चबाटै ‘दल बदल्न’ आग्रह गरिहँदा मोरङ–१ का कांग्रेस क्षेत्रीय सभापतिसमेत रहेका फागो निकै प्रफुल्ल देखिन्थे। 

उक्त कार्यक्रममा मन्त्रीको आग्रहलाई खण्डन गर्ने अवस्था नरहे पनि त्यसयता फागोले मन्त्रीका भनाइको प्रत्युत्तर दिन आवश्यक ठानेका छैनन्। फागोको अस्थिर चरित्रकै कारण ‘मन पेट’ पाएर मन्त्री श्रेष्ठले सार्वजनिक रुपमै एमालेबाट चुनाव लड्न प्रस्ताव गरेको स्थानीय कांग्रेस कार्यकर्ता बताउँछन्।त्यसो त फागो स्वयम् कांग्रेसप्रति कति प्रतिबद्ध छन्, त्यो जान्न उनको विगत र वर्तमानलाई नियाल्दा प्रष्ट हुन्छ। तत्कालीन मोरङ– २ का कांग्रेस सभापति सनम पालुङ्वाको दुर्घटनामा निधन भएपछि फागोले कांग्रेसको स्थानीय राजनीतिमा 'स्पेस' बनाउन सफल भएका हुन्। त्यसअघिको उनको चिनारी ‘टोले गुण्डा’का रुपमा थियो। दैनिक झै–झगडा, मारपिटमा उत्रनु र अनेक लफडाबाजी गर्नु उनको दिनचर्या थियो। 

उसै पनि कम्युनिष्टहरुको दबदबा रहेको पूर्वी मोरङमा सनम पालुङ्वाजस्ता नेताको असमायिक निधनले कांग्रेसको स्थानीय संगठनमा ठूलै रिक्तता पैदा गरेको थियो। एक प्रकारले भद्रगोल अवस्थामा थियो– कांग्रेसको संगठन। यही ‘भद्रगोल’लाई सामान्य कार्यकर्ता फागोले ‘गोल’ गर्ने अवसरका रूपमा उपयोग गरे। 

पालुङ्वाको निधनपछि ललित अधिकारी सभापति, तुलसी आपगाईं उपसभापति र खड्ग फागो सचिव रहेको कांग्रेसको क्षेत्रीय तदर्थ समिति गठन भयो। 

क्षेत्रीय उपसभापति आपगाईं केही समयपछि नै  कांग्रेस परित्याग गरी माओवादी प्रवेश गरे। लगत्तै कांग्रेसको बाह्रौँ महाधिवेशनको सरगर्मी सुरु भइसकेको थियो। राजनीतिक भूगोल बदलिएर मोरङ–९ नम्बर कायम भएको क्षेत्रमा सभापतिको दौडमा ललित अधिकारी र फागो नै रहे। कांग्रेस मोरङ–९ को क्षेत्रीय अधिवेशन लेटाङमा तय गरियो। तर, अचम्म र उदेक लाग्दो पक्ष चाहिँ मुलुकमै प्रजातन्त्रको जननी मानिने दलकै क्षेत्रीय अधिवेशनमा प्रजातान्त्रिक अभ्यास गरिएन। गैरकांग्रेससहितको दलबल बटुलेर फागो क्षेत्रीय सभापति स्वघोषित भए। उक्त घटना स्थानीय कांग्रेसजनको मानसपटलमा ताजै छ।

त्यसयता क्षेत्रीय सभापतिमा बहाल छन्– फागो। उनको उत्कट चाहना कांग्रेसबाट संसदीय चुनाव को ‘टिकट हत्याउनु’ थियो। भगिरथ प्रयत्न गर्दा पनि उनी संसदीय चुनावमा उम्मेद्वार बन्न सकेनन्। त्यसको कारण थियो– ०६९ असार ५ गते आफ्नै घरअगाडि दुई जना व्यक्तिलाई सांघातिक हमला गरी हत्या गरेको अभियोगमा फागो जेल चलान हुनु। 



उर्लाबारीका मेयर फागाे ‘फरार आरोपी’को सूचीमा !

'फरार आरोपी'लाई किन पक्रिदैन प्रहरी ?



एक वर्षपछि ०७० असारमा उनी जेलमुक्त भए। सोही वर्षको मंसिरमा दोस्रो संविधानसभा चुनाव तय भयो। उनी उम्मेद्वार बन्ने कसरतमा लागे तर पार्टी केन्द्रले हालका मोरङ कांग्रेसका सभापति डिगबहादुर लिम्बूलाई उम्मेद्वार घोषणा गर्यो। 

न राजनीतिक पृष्ठभूमि, न त कुनै राजनीतिक चरित्र ! फागोको आकांक्षा भने चुलिँदै गयो।  कांग्रेसजनले उनी यत्तिमै चूप लागेर बस्लान् भन्ने अनुमान गर्ने त कुरै थिएन। भयो पनि त्यस्तै। उनी रोकिएनन्। 

संविधानसभा चुनावमा डिगबहादुरले ‘टिकट’ पाउनासाथ फागोले केही समर्थकलाई उरालेर उर्लाबारीस्थित कांग्रेसको कार्यालयमा तालाबन्दी गराए। फागोको अर्जुनदृष्टि थियो– उम्मेद्वार बन्ने। जसरी पनि डिगबहादुरको साटो आफूलाई उम्मेद्वारका रुपमा प्रतिस्थापन गर्नु उनको एकमात्र लक्ष्य थियो। 

फागोको दबाबले केही काम गरेन। पार्टी केन्द्रीय समितिले मोरङ–९ को उम्मेद्वार हेरफेरमा कुनै चासो देखाएन। त्यसपछि उनी ‘शतरन्जको चाल’ चल्नतिर लागे। 

माओवादीका प्रभावशाली नेता वर्षमान पुन मोरङ–९ बाट चुनाव लड्न गएपछि सो क्षेत्र मुलुकभरि चासोको विषय बनेको थियो। 'साम, दाम, दण्ड, भेद' का सबै सूत्र प्रयोग गरेर 'जसरी भए पनि' चुनाव जित्ने हत्कण्डा अपनाएका पुनलाई ‘कांग्रेसी कलह’ले आत्मबल बढेको थियो। 'तिर्खा धाउनुपर्नेमा खोलै धाएको' अवस्थाजस्तो फागो आफैँ पुनको समीप गए। उनीहरुबीच बाक्लै उठ्बस हुनथाल्यो। खड्ग फागोकै दाजु भेषराजले सञ्चालन गरेको उर्लाबारी–५ स्थित होटल सिंघिममा माओवादी उम्मेद्वार पुनले ‘डेराडन्डा’ जमाएका थिए। जसका कारण पुनसँग गोप्य मन्त्रणा गर्न पनि फागोका लागि उक्त होटल सहज बन्यो।

'एनि–हाउ डिगबहादुर हराऊ’ भन्ने एकसूत्रीय अभियानमा लागेका फागोको 'मिशन'मा त्यतिबेला धक्का लाग्यो, जब लिम्बू मोरङ–९ बाट शानदार मत ल्याएर जिते। 
आम निर्वाचनमा पार्टी परिचालनका ‘कमाण्डर’बिनै डिगबहादुरले चुनाव जितेको परिघटना अद्भूत क्षण बनेको मोरङका कांग्रेसीबीच आज पनि चर्चा हुने गर्छ। ‘वर्षमान नआएको भए मोरङ–९ मा उति बेलै माओवादीले फागोलाई उठाउने थियो’, एक स्थानीय कांग्रेस कार्यकर्ताले भने, 'प्राविधिक कारणले मात्र उनी कांग्रेसमा रहेका हुन्।'

हुन पनि ०७० सालको चुनाको पूर्वसन्ध्यामा मोरङ कांग्रेसका उम्दा नेताहरु बाबुराजा ओझा, ज्ञानेन्द्र ढकाल, नन्दु सरदारलगायत माओवादीमा प्रवेश गरेका थिए। सत्यनारायण भगत फोरम लोकतान्त्रिक बनेका थिए।

चुनावी परिणामले माओवादीको आकार खुम्चियो। कांग्रेस सबैभन्दा ठूलो दल बन्यो। ती कार्यकर्ताले भने, ‘राजनीतिक तस्बिर प्रष्ट भएपछि अस्थिर चरित्रका फागो कांग्रेसमै रोकिन बाध्य भए।’
पूर्वोत्तर मोरङलाई नै आधार क्षेत्र बनाएका डिगबहादुर लिम्बू मोरङ कांग्रेसका सभापति बनेपछि फागोको ‘राजनीतिक ग्राफ’ उसै पनि सीधै ओरालो लाग्ने क्रममा थियो। संघीय संसद्को टिकट पाउने संभावना सदाका लागि क्षीण भइरहेको बेला फागोलाई स्थानीय चुनावको घोषणा ‘सञ्जिवनी बुटी’ सावित भयो। यसर्थ कि लेटाङ घर भएका डिगबहादुर लिम्बु, शंकर राई, ईश्वरी कोइराला, केराबारीका रोहित कार्की लगायत पार्टीका ‘सिनियर’हरु उर्लाबारीको मैदानमा खडा हुने कुरै थिएन।

यता, उर्लाबारीका कांग्रेसजनका उनले एक–एक गरी नाडी छामिसकेका थिए। आकांक्षी सबैलाई ‘ह्याकुलाकै बल’ मा मिचेर फागो कांग्रेसबाट उर्लाबारी नगरपालिकाको मेयरका उम्मेद्वार बन्न सफल रहे। विपक्षी पार्टीहरुको कमजोर उपस्थिति र कांग्रेस कार्यकर्ताहरुको एकताको बलमा फागो निर्वाचित भए। 

परन्तु उनी मेयरमा निर्वाचित भएको तीन वर्ष बितिसक्दा पनि उर्लाबारीका कांग्रेसजनले कुनै अपनत्व महशुस गर्नसकेका छैनन्। अर्कोतिर विकास–निर्माणको अवस्थामा आसपासका स्थानीय तहभन्दा उर्लाबारी पछि परेको महसुस  स्थानीयवासीको छ। उर्लाबारी नगरपालिकामा भ्रष्टाचार र बेथिति कतिसम्म मौलाएको छ भने महालेखा परीक्षणको प्रतिवेदन हेरे मात्र पुग्छ। जनप्रतिनिधिका नाममा करोडौँको बेरुजु छ।

हिजो चुनावताका अहोरात्र खटेर जिताउन जो–जो लागिपरे, तिनै व्यक्तिहरु यतिबेला फागोको विपक्षमा छन्। राजघाटका नारायण बस्नेतले त फागोलाई अभद्र व्यवहार गरेको कसुरमा मुद्दा नै हालेका छन्। 

सन्नी देवल अभिनित बलिउड सिनेमा ‘इन्डियन’को एउटा संवाद उल्लेख गर्दै फागोबाट प्रताडित बस्नेतले भने, ‘एक चक्ला चलानेवाला देख्ते–देख्ते सरकार चलाने बन जाता हे, इसका जिम्मेदार हम है !’ 

यसैगरी उर्लाबारी कांग्रेसका नेतृत्व तहमा रहेका र जिल्ला, क्षेत्रमा प्रतिनिधित्व गर्नेहरु सबैजसो फागोको गैरराजनीतिक क्रियाकलापप्रति आक्रोशित छन्। के त्यसो भए फागोका पक्षमा कार्यकर्ता र समर्थक नै छैनन् त ? ‘जरुर उनका डाइहर्ट फ्यान नै छन्’, स्थानीय एक कार्यकर्ताले भने, 'फागोकै कारण ठेक्कापट्टामा लागेका, नगरपालिकामा जागिर पाएका र पार्टीका नवप्रवेशीहरु नै उनका खेलो–फड्को गर्ने सहारा हुन्।'

स्थानीय चुनाव सम्पन्न भएपछिकै परिदृश्यलाई लिऊँ– आम निर्वाचनको माहौल सुरु भएको अवस्था थियो। उर्लाबारीसमेत समेटिएको हालको मोरङ–१, नम्बर क्षेत्रबाट कांग्रेसका संघीय उम्मेद्वारमा उनै डिगबहादुर लिम्बू छनौट भए। प्रदेश ‘क’ तर्फ स्थानीय ललित अधिकारी चुनावी मैदानमा खडा भए। कांग्रेसका चुनावी कमाण्डर क्षेत्रीय सभापतिको हैसियतमा फागो नै थिए। सिंगो निर्वाचन क्षेत्रका चारवटा स्थानीय तहमध्ये तीनवटाको प्रमुखमा कांग्रेसले नै जितेको थियो तर लिम्बू र अधिकारीले नराम्रोसँग पराजय व्यहोरे। 

हारको कारण पार्टी क्षेत्रीय सभापतिको ‘खुलेआम अन्तर्घात’ रहे पनि कार्यकर्तापंक्ति ‘फागोफोबिया’ का कारण आजका मितिसम्म मौनता साँध्न बाध्य छन्।
अर्कातिर पार्टी नेतृत्व र सहकर्मीप्रति फागो कतिसम्म कृतघ्न छन् भन्ने उदाहरण हेर्न उनका कथनी नै पर्याप्त छन्। सार्वजनिक खपतका लागि ‘आफूअनुकूल’ मन्तव्य दिन सिपालु उनले हालै दिएको विवादास्पद अभिव्यक्तिले स्थानीय कांग्रेसजन आश्चर्यचकित भएका छन्। तीन साताअघि उर्लाबारीका व्यापारीहरुले चौकमै एक कार्यक्रमको आयोजना गरे।



मेयर फागोले चरित्र हत्या गरेको भन्दै कांग्रेस नेताको आक्रोश

प्रमुख अतिथि निम्त्याइएका थिए– नगर प्रमुख फागो। व्यापार–व्यवसाय धराशायी बनिरहेको सन्दर्भमा मेयरबाट त्यसको स्पष्ट खाका प्रस्तुत हुने आम व्यवसायीको अपेक्षा थियो। त्यसविपरीत फागोको मन्तब्य बरालियो। 

आफूइतरका व्यक्तिहरुको छानी–छानी नामै तोकेर उनले सार्वजनिक मञ्चबाटै ‘कटाक्ष’ गरे। सोको प्रतिवाद गर्दै केही दिनपछि कांग्रेसका महाधिवेशन प्रतिनिधि प्रकाश थापाले पत्रकार सम्मेलन आयोजना गरेरै फागोलाई आरोप पुष्टि गर्न चुनौती दिए। जसका कारण यो बेला उर्लाबारीमा कांग्रेसभित्रको विवाद 'भुसको आगो' झैँ सल्केको छ। 

मन्तव्यकै क्रममा फागोले आफ्नो आदर्श मदन भण्डारी र पुष्पलाल श्रेष्ठ भएको बताएर कांग्रेसजनलाई थप चिढ्याए। ‘कम्युनिष्ट नेतालाई आदर्श मान्ने व्यक्ति कसरी कांग्रेस हुनसक्छ ?’ एक कार्यकर्ताले भने, 'खास्टोले छोपेको बिरालो अन्ततः म्याउ गरेरै छोड्यो।'

नेपाली कांग्रेस गठन हुँदैदेखि संस्थापन र इतर गुटमा विभक्त छ। कांग्रेसका नेता, कार्यकर्ता को कतातिर खुलेका छन्, सहजै बुझ्न सकिन्छ। ‘तर, फागो कुन लबीका कांग्रेस हुन् ? कसैले भेउ पाउन सक्दैन’, स्थानीय कांग्रेस कार्यकर्ताहरु भन्छन्, 'उनी (फागो) जता मल्खु उतै ढल्कु प्रवृत्तिका हुन्।' 
सबैको हुन खोज्ने तर कसैको पनि नहुने फागोको स्वभाव छ। 'पार्टी भाँडमे जाँए !', एक वर्षअघि प्रदेश–१ सरकारले स्थानीय मंगलबारे अस्पताललाई मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर नामाकरण गर्यो। नामकै विषयलाई लिएर सत्तारुढ दलइतरका राजनीतिक पार्टीहरु आन्दोलित बने। कांग्रेस उर्लाबारी नगर समितिको अगुवाईमा अस्पतालको मूलढोकाअगाडि दिनैपिच्छे धर्ना र कोणसभा हुन थाल्यो। आफ्नै पार्टीले नेतृत्व गरेको कार्यक्रममा ऐक्यबद्धता जनाउन नगरप्रमुख फागोको दिलचस्पी देखिएन। विरोध प्रदर्शनप्रति मौनता साँधेको भन्दै उतिबेलै कांग्रेस कार्यकर्ताहरुले सामाजिक सञ्जालमार्फत् फागोको भूमिकाप्रति रोष प्रकट गरेका थिए।



मेयर फागोद्वारा फुटबलको रकम हिनामिना! 

मेयर फागोले चरित्र हत्या गरेको भन्दै कांग्रेस नेताको आक्रोश



दिवंगत कम्युनिष्ट नेता मदन भण्डारीको नाममा अस्पताल नामाकरणप्रति कांग्रेसको विरोध रहँदारहँदै समर्थन जनाउन पुगेको फागोकै कृत्यले पुष्टि गरिसकेको छ। जसै मंगलबारे अस्पताल, मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको रुपमा फेरियो, फागो नगरप्रमुखको हैसियतमा सञ्चालक समितिको पदेन सदस्य रहन पुगे। 

नैतिकताको हिसाबमा पनि आफ्नै दलको विरोध रहेको संस्थामा उनले सदस्य बन्न नहुने धेरैको मत छ। त्यति मात्रै होइन, नेपाली कांग्रेसकै एउटा कोटा रहेको ट्रमा समितिको सञ्चालक समितिमा फागोकै जोडबलमा गैरकांग्रेसी विशाल आङदेम्बेलाई मनोनित गरिएको छ। 

केही साताअघि नगर प्रमुख फागोलाई सामाजिक सञ्जालमार्फत् ज्यान मार्ने धम्की आएको भन्दै उनका समर्थकले उर्लाबारीमा ‘कोकोहोलो’ मच्चाए। तर, फागो नै सभापति रहेको क्षेत्रीय समिति र मातहतका समितिहरुले एउटा विज्ञप्तिसमेत निकाल्न आवश्यक ठानेन। न त धम्कि दिने भनिएका व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन पहल नै गर्‍यो। किन त ? कांग्रेस उर्लाबारीका एकजना जिम्वेबार सदस्यले भने–‘जैसी करनी वैसी भरनी !’ मुढेबलकै भरमा आफूअनुकूल चल्छु भन्ने मान्छेलाई धाकधम्की आउनु सामान्य कुरा भएको जनाउदै उनले भने, 'यस्ता प्रवृत्तिका पक्षमा पार्टी सती जाँदैन।' 



मेयर फागो र उनका भतिजाविरुद्ध अभद्र व्यवहारमा मुद्दा !

उर्लाबारीका मेयरद्वारा सेवाग्राहीमाथि कुटपिट 



भनिन्छ, राजनीतिमा वर्तमान हुँदैन, भूत र भविष्य मात्र हुन्छ । उर्लाबारी नगर प्रमुखबारे कांग्रेसका स्थानीय नेताहरु नै आलोचना गर्छन्, ‘दादागिरीमा पाखुरी देखाउने 'डन' कांग्रेस होइन, आफ्नो कर्म र क्षमतामा दशनङ्ग्री खियाएर पौरख गर्ने कांग्रेस हामीलाई चाहिएको छ।’ 

स्थानीय कांग्रेस नेता मुक्तिप्रकाश न्यौपाने भन्छन्, ‘कसले कति भोट ल्याएर चुनाव जितेको थियो, त्यो हेरेर कसैले कांग्रेस ठीकै छ भन्छ भने त्यो अर्को गल्ती हुनेछ। हामीले पार्टीप्रति कर्तव्यनिष्ठ मान्छे खोजेका छौ।’

कांग्रेसका स्थानीय नेताहरूका अनुसार, यतिबेला पूर्वी मोरङको संगठनमा सबथोक लथालिंग छ। आफूखुशी क्रियाशील सदस्यता सिफारिश, फरक विचार राख्नेलाई भौतिक रुपमै सिध्याउन खोज्ने प्रवृत्ति, वैचारिक अस्पष्टता, विधानको अवमूल्यन, नियमित बैठक नै नबस्नेजस्ता भद्रगोल पार्टी व्यवस्थापनलाई फागोकै मनोमानीसँग जोड्ने गरिएको छ।

प्रकाशित मिति: : 2021-05-11 17:27:00

प्रतिकृया दिनुहोस्