स्वास्थ्य मापदण्डमा कडाइ नगरे अझै बढ्न सक्छ सङ्क्रमण

गोरखापत्र

काठमाडौं

कोरोना सङ्क्रमण बढेपछि सरकारले काठमाडौंँ उपत्यका लगायत अन्य जिल्लामा निषेधाज्ञा जारी गरेको बुधबार १४ दिन पूरा भएको छ। निषेधाज्ञा जारी भएको दुई साता पूरा भइसक्दा पनि कोरोना सङ्क्रमितको सङ्ख्या घट्न सकेको छैन। स्वास्थ्य मापदण्ड अझ कडाइ नगरे स्थिति नियन्त्रणमा लिन कठिन हुने विज्ञहरूको सुझाव छ।

वरिष्ठ भाइरोलोजिस्ट तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले स्वास्थ्य मापदण्ड कडा गरेर कम्तीमा ७० प्रतिशत नागरिकलाई तत्काल खोप दिने कार्यक्रम ल्याउन आग्रह गर्नुभयो। भौतिक दूरी कायम, मास्क र सेनिटाइजर, हात धुने, भीडभाड नगर्नेलगायतका स्वास्थ्य मापदण्डसँगै खोप नै कोरोनाबाट बच्ने उपाय भएको विज्ञको सुझाव छ।

सुरुमा चिकित्सकहरूले दुई सातापछि मात्र निषेधाज्ञाको नतिजा आउन सुरु गर्ने आकलन गरेका थिए तर नेपालमा सङ्क्रमितको साथै मृतक र सक्रिय सङ्क्रमितको सङ्ख्या अप्रत्यासित रूपले अगाडि बढेपछि कोरोनाको भयावह रूप देखा पर्ने विज्ञहरूकै निष्कर्ष छ। सरकारी अस्पतालमा कार्यरत चिकित्सकहरूले नै नेपालको स्वास्थ्य क्षेत्र विकराल बन्दै गएको बताउन थालिसकेका छन्। बुधबारको तथ्याङ्क हेर्दा पनि उपत्यकामा तीन हजार ९२४ जना नयाँ सङ्क्रमित थपिएका छन्। निषेधाज्ञा सुरु हुने दिन उपत्यकामा एक हजार पाँच सय मात्र सङ्क्रमित थिए।

वीर अस्पताल, शिक्षण अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका आकस्मिक कक्षमा कोरोना भएका र नभएका बिरामी बराबरी नै उपचार गराइरहेका छन्। सुरुमा आकस्मिक कक्षमा आउँदा कोरोना वा अन्य रोगले उपचारका लागि आएको हो भन्ने केही थाहा हँुदैन। पछि पीसीआर गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएपछि मात्र थाहा हुन्छ कि बिरामीलाई अरू रोगसँंगै कोरोना पनि रहेछ भनेर। वीर अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीले वीर अस्पतालमा अव्यवस्थित रूपमा उपचार भइरहेको र आफूहरू ठूलो जोखिममा रहेकोे जानकारी दिनुभयो।

प्रकाशित मिति: : 2021-05-13 06:50:00

प्रतिकृया दिनुहोस्