मध्यपुरथिमिमा अक्सिजन उत्पादन

File photo
File photo

मध्यपुरथिमि नगरपालिकाले ६५ लाखमा नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा स्थापना गरेको एयर बेस प्लान्टबाट अक्सिजन उत्पादन गरी आजबाट कोभिड–१९ का बिरामीलाई दिन शुरु गरेको छ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठसहितको टोलीले गएराति १० बजेसम्म अस्पतालमा बसेर उत्पादन परीक्षणको अवलोकन गरेको थियो। परीक्षण सफल भएपछि प्लान्टबाट अक्सिजन पाइप मार्फत बिरामीको शय्यामा पुरयाएर अक्सिजन वितरण गर्न थालिएको हो।

प्लान्टबाट उत्पादित अक्सिजन अस्पतालको आइसियू, हाइ केयर युनिट र भेन्टिलेटरमा भर्ना भएका कोभिड–१९ का २४ बिरामीलाई दिन थालिएको हो। नगरप्रमुख श्रेष्ठले भने, “नेपाल मै पहिलो पटक यो अस्पतालमा हावाबाट अक्सिजन उत्पादन गर्ने एयर बेस अक्सिजन प्लान्ट जडान गर्न सफल भएका छौ, अहिलेको अभावमा यसले धेरै राहत दिएको छ।”

एकदिन अघिसम्म अस्पतालमा भर्ना भएका बिरामीलाई बचाउन अक्सिजनको खोजीमा सीसीएमसीदेखि स्वास्थ्य मन्त्रालय, अक्सिजन कम्पनीसम्म धाउने, एउटा सिलिण्डर खोज्दै बिरामी बचाउन व्यस्त रहनुपर्ने अवस्थाबाट अलिकति राहत मिलेको उनको भनाइ छ।

हाल चीन र अष्ट्रेलियामा मात्रै जडान भएर सञ्चालनमा आएको एयर बेस अक्सिजन प्लान्ट नगरपालिकाले चीनबाट दुई महिना लगाएर ल्याएको हो।

“बल्ल मेशिन ल्यायौँ, यो प्लान्ट राख्न केहीले अबरोध गर्न खोज्दा ढिला भयो, १० दिनमा आइसियू भवनमा जोडेर टहरा बनाएर चार दिनसम्म १५ जना रातदिन खटेर प्लान्ट जोडियो”, नगरप्रमुख श्रेष्ठले भने, “विद्युत प्राधिकरण मध्यपुरथिमि शाखाका प्रमुखदेखि इञ्जिनियरको टोली खटेर अक्सिजन उत्पादन गरेपछि अक्सिजन खोज्दै भौतारिनु पर्ने तनाबबाट केही हदसम्म मुक्त भएका छौ।”

प्रति घण्टा आठ हजार लिटर अक्सिजन उत्पादन गर्ने यो प्लान्टबाट २४ घण्टामा १ लाख ९२ हजार लिटर अक्सिजन उत्पादन हुनेछ। यसले आइसियू, हाइकेयर युनिट र भेन्टिलेटरका २४ बिरामीलाई अक्सिजन पुग्छ। आकस्मिक कक्षलगायतका ठाउँमा राखिएका १९ बिरामीलाई दैनिक ३० सिलिण्डर अक्सिजन आयात गरे पुग्ने छ। विगतमा दैनिक ९० सिलिण्डर अक्सिजन खपत हुने गरेको थियो।

नगरपालिकाले हाल ४२ वटा शय्या सञ्चालन गरी कोभिडका बिरामीको उपचार गरेको छ। अस्पतालको पुरोना क्यान्टिन रहेको भवन र नयाँ बन्दै गरेको रेडियोलोजी ब्लकको भुइतलामा थप २० शय्या विस्तार गरिसकिएको छ।

अक्सिजन अभावले थप बिरामी राख्न नसके पनि अब केही दिनभित्रै ती शय्या पनि सञ्चालनमा ल्याउने नगरप्रमुख श्रेष्ठले बताए।

प्रकाशित मिति: : 2021-05-15 08:49:00

प्रतिकृया दिनुहोस्