जसपाको ‘क्षणिक मिलन’

दोस्रो तहका नेताको प्रयासमा जनता समाजवादी पार्टी (जसपा)को सम्भावित विभाजन तत्काललाई टरेको छ। जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच मंगलबार तत्काल सरकारमा नजानेलगायत आठबुँदे सहमति भएको छ।

तर, दुई अध्यक्षबीच सहमति हुँदै गर्दा नेता राजेन्द्र महतो भने आफू संसदीय दलका नेता निर्वाचित भएको भन्दै संघीय संसद् सचिवालयमा पत्र बुझाउँदै थिए। दलको माइन्युटको प्रतिलिपिसहित महतोले संसद् सचिवालयमा पत्र बुझाएका हुन्।

अध्यक्ष ठाकुरसहित आफ्नो पक्षमा रहेका प्रतिनिधिसभा सदस्यको भेलाले वैशाख ३० गते महतोलाई दलका नेता चयन गरेको जनाइएको थियो। पार्टी एकताका बेला आफूलाई दलका नेता बनाउने भद्र सहमतिका आधारमा आफू चयन भएको दाबी महतोले गर्दै आएका छन्। महतो प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने पक्षमा देखिएका छन्। यसलाई रोक्न यादवले अध्यक्ष ठाकुरलाई प्रधानमन्त्रीको आशामा अलमल्याउने प्रयास भएको महतो पक्षको भनाइ छ।

तर, ठाकुर र यादवबीच जसपा तत्काल सरकारमा सहभागी नभई प्रतिपक्षमा बसेर आफ्नो भूमिका निर्वाह गर्ने सहमति भएको छ। यद्यपि, राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने भए त्यसतर्फ बढ्न सकिने सहमतिपत्रमा उल्लेख छ। 

प्रकाशित मिति: : 2021-05-19 15:37:00

प्रतिकृया दिनुहोस्