रमित ढुङ्गानाः जुन चलचित्र खेल्यो त्यही हिट

कृष्णउदाशी

काठमाडौँ
Breaknlinks
Breaknlinks

नेपाली चलचित्रमा एक समय थियो- स्टारले जे गरे पनि पच्थ्यो र त्यसलाई नै सही मानिन्थ्यो।

जस्तो कि नायक पुलिस इन्स्पेक्टर, डि एस पी अथवा आर्मी नै किन नहोस् कपाल पालेको पनि हुन सक्थ्यो। तर यथार्थमा पुलिस र आर्मीले कहिल्यै पनि लामो लामो कपाल पाल्दैनन्।

जमानामा एउटा भनाई थियो “राजाले जे गर्छ त्यही नै कानून बन्छ”। त्यही मानसिकता निर्माता निर्देशकहरूमा समेत देखिन्छ।

नायक भनेको नायक हो, नायकले जे गरे पनि स्वाभाविक हुन्छ। मन परेका हिरोका पोष्टकार्डहरू कोठाका भित्ताभरि टाँसिन्थे। हिरो भनेको साँच्चै हिरो नै हुन्थ्यो। रमित ढुङ्गाना पनि धेरै पोष्टकार्ड बिक्री हुने हिरो मध्येका एक हुन्। यो प्रसंग हामीले नायक रमित ढुङ्गानासँग जोड्दै छौँ।

रमित ढुङ्गानाको जन्म लगभग ४० वर्ष पहिला काठमाण्डौको पुरानो सिनामंगलमा भएको हो। उनको बाल्यकाल पनि सोही ठाउँमा बितेको थियो। उनका बुबा कर्णमान ढुङ्गाना त्यस ठाउँका प्रधानपञ्च थिए।

उनीहरूका पुर्खा नुवाकोटबाट काठमाण्डौ आएका थिए। उनीहरूका पुर्खालाई नुवाकोटबाट पृथ्वीनारायण शाहका सेनाले लखेटेका थिए। संयोग भन्नुपर्छ, रमित ढुङ्गानाको जन्म पनि पृथ्वी जयन्तीकै दिन पर्छ।

उनलाई “तपाईका पुर्खालाई पृथ्वी नारायणले दुःख दिएका रहेछन्, त्यो कुरा सम्झिँदा कस्तो लाग्छ ?” भनेर सोध्दा उनी भन्छन्, 'राष्ट्रनायक पृथ्वी नारायण शाह नभएका भए हामीले आज नेपाली हुनुको गर्व गर्न पाउने थिएनौँ, यतिबेला नेपाल कि त भारतको एउटा प्रान्त भएको हुन्थ्यो, कि त चिनको एउटा प्रान्त बनेको हुन्थ्यो। त्यसैले हाम्रा पूर्खाले दुःख पाएकोमा मलाई गुनासो छैन। जब मलाई नेपाली हुनुमा गर्व छ भने बुझ्नोस् राष्ट्र नायक पृथ्वी नारायण शाहप्रति पनि अगाद सम्मान छ।”

उनी धनाड्य परिवारमा जन्मिएका हुन्। उनका बुबाको सिनामंगलमा ५ मुरी धानको बिउ लाग्ने खेत थियो। उनका बुबाका चार वटी श्रीमती हुन्। उनका चार वटी श्रीमतीबाट २२ जना सन्तान जन्मिए।

२२ जना सन्तान मध्ये १२ जना छोरा र १० जना छोरी। रमित ढुङ्गाना २२ औँ सन्तान हुन्। रमित ढुङ्गानाको खास नाम राधेश्याम ढुङ्गाना हो। उनलाई सिनामंगल क्षेत्रमा सबैले आर.डी. भनेर चिन्छन्। चलचित्र क्षेत्रमा उनी रमित ढुङ्गानाको नामले परिचित छन्।

अर्को कुरा, उनीहरू चार वटी आमाका २२ जना सन्तान मध्ये को-को कुन आमाबाट जन्मिएका हुन् भनेर भन्दैनन्। अर्थात उनीहरू २२ जना नै हामी सौता-सौताका छोरा-छोरी हौँ भन्न चाहँदैनन् र सबै दाजु-भाइ दिदी-बहिनीमा समान माया प्रेम दर्शाउँछन्।

यस मामिलामा भने यो परिवार नेपालीकै एक उदाहरणीय परिवार हुन सक्छ। नभए त एक दुई होइन, चारचार जना आमाबाट जन्मिएका छोरा-छोरीमा केही न केहीको बेमेल सिर्जना हुन्छ। केही नभए अंशबण्डा र सम्पतिमा झगडा हुन्छ। रमित ढुङ्गाना २२ जना छोरा-छोरीमा सबैभन्दा कान्छा हुन् भनेर त हामीले भनिसकेका छौँ। यसर्थ उनी आफ्ना बुबाका बुढेसकालका सन्तान पनि हुन्। तर उनले बुबाको मायाको भने अनुभव नै गर्न पाएनन्।

उनी ६ वर्षको हुँदा उनका बुबाले यो संसार छाडे। उनलाई बुबाको अनुहार भने फोटोमा देखेर मात्रै मेरो बुबा यस्तो हुनुहुँदो रहेछ भन्ने याद हुन्छ। नत्र त बुबा जीवित हुँदाको अनुहार भने याद छैन।

उनी बुबाको बारेमा भन्छन् “मेरो बुबा उ बेलामा देव आनन् को चलचित्र ‘हरेराम हरे कृष्ण’ को गीत “दम मारो दम” को भिडियोमा कौडा खेल्दै गरेको सिनमा देखिनु भएको रहेछ। बुबाको जिउँदो अनुहार भने त्यसैमा देखेर ख्याल गरेको छु।”

६ फुट २ इन्च अग्ला रमित ढुङ्गाना नेपाली चलचित्र उद्योगका सबैभन्दा अग्ला नायक पनि हुन्। उनका दाजु अमित ढुङ्गाना पहिलादेखि नै चलचित्र क्षेत्रमा लागि सकेका थिए।

अमित ढुङ्गाना राजेश हमालका साथी हुन्। अमित र राजेश हमालको मित्रताको कारणले गर्दा रमित ढुङ्गानाले पहिले नै राजेश हमाललाई भेटिसकेका थिए। एकपटक राजेश हमालले कुरै-कुरामा अमित ढुङ्गानासँग “तिम्रो भाइ आर. डी. लाई हिरो हुन राम्रो सुहाउँछ, केटाको जिउडाल, उचाइ, आवाज सबै हिरो हुन लायक छ” भनेका थिए। त्यो कुराले अमित ढुङ्गानालाई मज्जाले छोएको थियो।

उनी आफ्नो कान्छो भाइ रमितलाई हिरो बनाउन हर प्रयास गरिरहेका थिए। वि.सं. २०६१ सालमा उनका दाजुहरू र उनीसहित भएर चलचित्र निर्माण गर्ने भए। चलचित्रका लागि राम्रो कथा र गीतहरूको खोजी भयो। कथा भेटियो, मौनता श्रेष्ठले लखेको।

गीतहरू राम्रो फेला परे। निर्देशक मदन घिमिरे र निर्माण पक्षलाई कथा राम्रो लागेपछि राजेश हमाल, विपना थापा र सुशिल क्षेत्री मुख्य भूमिकामा रहने गरी एक प्रकारको सहमति भयो। त्यसै अनुरुप सम्झौता पनि भयो। तर त्यतिबेला सुशिल क्षेत्रीको व्यस्तता यतिसम्म थियो कि उनले कुनै पनि हालतमा समय मिलाउन नै सकेनन्।

विपना थापाको हकमा पनि सोही नियम लागु भयो। उनीहरू दुइजनाले नभ्याएपछि के गर्ने भनेर सल्लाह भयो। हिरोइनको ठाउँमा संचिता लुइटेलसँग सहमति भयो तर हिरो को राख्ने भन्नेबारे सुटिङ सुरु गर्ने भनेर तोकिएको समयसम्म पनि कुनै निर्णय नै हुन सकेन।

त्यसै बीचमा राजेश हमालले अमित ढुङ्गानासँग फ्याट्ट भनिदिए, “आर.डी. लाई खेलाउँन उसको सबैथोक ठिक छ त।” आफ्नै परियोजना हो, जे त होला नि भनेर रमितलाई खेलाउने निर्णयमा पुगे अमित ढुङ्गाना पनि। 

समस्या रमित ढुङ्गानालाई थियो। उनी नाँच्न पनि जान्दैनथिए। अभिनय गर्न पनि जान्दैन थिए। ज्यान मात्रै भएर त हुनेवाला केही पनि थिएन।

रमित ढुङ्गाना भन्छन्, 'सुरुमै एउटा दृष्यको छायाङ्कन गर्नुपर्ने थियो। त्यो दृष्यमा “कहाँ गएर आएको” भनेर बोल्नु पर्ने डाइलग पनि थियो। मैले त्यो डाइलगलाई राम्ररी भन्न नसकेर १२ टेक खाएको छु।'

'माया नमार' चलचित्र रिलिज भएपछि उक्त चलचित्रले राम्रो व्यापार मात्र गरेन चलचित्र सुपर-डुपर भयो।

अधिकांश हलहरूमा ५१ दिन बनाउन सफल भयो। दर्शकले सोचेभन्दा धेरै मन पराइदिए। रमित ढुङ्गानाले पनि आचानक अभिनय गरेको चलचित्रबाट उत्कृष्ठ कलाकारको लागि राष्ट्रिय पुरस्कार पाए।

'माया नमार' चलचित्रको अपार सफलतापछि उनले दोस्रो चलचित्र पाए, धड्कन। धड्कन चलचित्र बलिउड चलचित्र ‘इस्क’ को कथामा बनाइएको नेपाली चलचित्र हो। उनको दोस्रो चलचित्र धड्कन त झन ब्लकबष्टर भयो। त्यस चलचित्रका सबै गीतहरू पनि हिट भए। त्यसपछि उनको अर्को चलचित्र आयो, मुग्लान। मुग्लान चलचित्रको त व्याख्या गर्न आवश्यक नै पर्दैन।

त्यसपछि चलचित्र उद्योगकै व्यस्त कलाकार बनेका रमित ढुङ्गानाले दश वर्षको अवधी मै सयभन्दा धेरै चलचित्रमा काम गरिसकेका छन्। विश्राम लिएको पनि सात-आठ वर्ष भइसक्यो।

राजेश हमालका डाइहार्ट फ्यान रमित ढुङ्गाना, राजेश हमाललाई गुरु भनेर संवोधन गर्छन्। उनी भन्छन्, “राजेश दाइ मेरो द्रोणचार्य, म उहाँको एकलव्य”।

अब रमित ढुङ्गानाको एउटा सपना छ, राष्ट्र नायक श्री ५ पृथ्वीनारायण शाहको बायोपिक चलचित्र बनाउने। तर उनी थप्छन्, “यो काम सजिलो छैन। अरु चलचित्र जस्तो सानो बजेटमा बन्दैन। काल्पनिक कथा राखेर पनि हुँदैन। लगानीको हिसाबले मात्रै पनि अनुमानित नेपाली चालिस करोड खर्च आउने रहेछ। नेपालमा यति ठूलो बजेट लगानी गरेर उठाउन पनि सम्भव छैन। यदि नेपाल सरकारले सहयोग गरेको खण्डमा भने सम्भव छ।”

रमित ढुङ्गानाको यो सपनालाई सरकाले महत्व दिन्छ या त बेवास्ता गर्छ, भविष्यले पक्कै पनि देखाउने छ।

हामी पनि कामना गर्छौँ, रमित र अमित ढुङ्गानाको सपना पुरा होस्। पृथ्वी नारायण शाहको चलचित्र बनाउने उनीहरूको सपना सिंगो देशको सपनासँग जोडियोस्। किनकि, कुनै बेला यो धर्तीमा उनै महापुरुष जन्मिएका थिए, र त अहिले हामीले नेपाली भन्न पाएका छौँ।

प्रकाशित मिति: : 2021-05-22 17:49:00

प्रतिकृया दिनुहोस्