कोरोनाको लक्षणबाट जेफाले क्षेत्रमा २ जनाको मृत्यु

उत्तरी मोरङको केराबारी २ सिङ्हदेबिमा कोरोना जस्तै देखिने लक्षणबाट २ दिनमा २ जनाको मृत्यु भएको छ।

सिङ्हदेवी, चिसापानीको माथिल्लो टोलका १ महिला र १ पुरुषको मृत्यु भएको हो। ७१ बर्षीय महिलाको गत शनिबार र ८२ बर्षीय पुरुषको आइतबार बिहान मृत्यु भएको हो।

मृत्यु भएका दुबैलाई ज्वरो आउने, छाती दुख्ने समस्या देखिएको केराबारी २ का वडा अध्यक्ष प्रेम बहादुर लिम्बुले जानकारी दिए।

मृतकहरुको कोभिडसम्बन्धी परिक्षण नगरिएको भएतापनि मृतकमध्ये पुरुषको घरका सदस्य १ जनामा एन्टिजेन पोजेटिभ भएर होम क्वारेन्टाइनमा बस्दै आएका छन् भने अन्य सदस्यहरुसमेत रुघाखोकी तथा ज्वरो आउने समस्या रहेकोले कोरोनाकै कारणले मृत्यु भएको हुन सक्ने अध्यक्ष लिम्बुले बताए।

मृतक दुबै एउटै टोलका हुन्। टोल क्षेत्रका अधिकांश घरमा कोभिडसम्बन्धी लक्षणको कारण सुतिरहेको भएपनि परिक्षण नगरिएकाले के हो भन्ने यकिन गर्न नसकिएको अध्यक्ष लिम्बुको भनाई छ।

उनले अहिले साबिक सिङ्हदेवी वडा नम्बर २, ५, ७, ८ र ९ मा सोही लक्षणको कारण सयौ मान्छेहरु बिरामी रहेको जनाउँदै हालसम्म कोभिडसम्बन्धी एन्टिजेन परिक्षण मात्रै गर्दै आइएकोमा पिसिआर परिक्षणको व्यवस्था गर्न पहल गरिरहेको बताए।

हालसम्म केराबारी २ नम्बर वडामा कोभिडसम्बन्धि एन्टिजेन पोजेटिभ देखिएका ९ जना बिरामी रहेको र उनीहरु होम आइसोलेशनमा रहेको अध्यक्ष लिम्बुले बताए।

खुल्ला नाका, बिबाह, पास्नी जस्ता कार्यक्रमहरुबाट सङ्क्रमण टोलबस्तीमा फैलिएको हुन सक्ने स्थानिय पर्यटन व्यवसायी डिल्लीराम शर्माले बताए।

जेफाले होमस्टेमा मानिसहरुलाई बस्न रोक लगाइएको भएतापनि अन्य कारणबाट वडा बाहिर जाने र आउने क्रम नरोकिँदा तथा समुदायमा हुने बिबाह, पास्नी जस्ता कार्यक्रममा मानिसहरुको भिडभाड हुँदा संक्रमण समुदायस्तरमा फैलिएको हुनसक्ने उनको राय थियो।

स्थानिय महाभारत जेफाले बचत तथा ऋण सहकारी संस्थाका ब्यबस्थापक मनोज अधिकारीले तिब्र रुपमा सङ्क्रमण बढिरहेकोले छिटो स्वाब परिक्षण गर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई आग्रह गरे।

छिटो परिक्षणको प्रबन्ध गर्न र पोजेटिभ देखिएकालाई आइसोलेशन  सेन्टरमा राखेर अक्सिजनलगायतको व्यवस्थापन नगरे भयावह अवस्था आउने भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराए।

प्रकाशित मिति: : 2021-05-23 11:17:00

प्रतिकृया दिनुहोस्