नागरिकता अध्यादेश प्रमाणीकरण भएपछि...

नागरिकतासम्बन्धी अध्यादेश प्रमाणीकरण भएको खुशीयालीमा निवर्तमान शहरी विकास मन्त्री एवम् नेता प्रभु साहको निर्वाचन क्षेत्रसहित रौतहटका विभिन्न स्थानमा दीपावली गरिएको छ। 

आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिक अध्यादेश (पहिलो संशोधन) २०७८ प्रमाणीकरण गरेकोले लाखौं नागरिकता विहीन नेपालीको कल्याण हुने भन्दै पहल गरेकोमा प्रभु साह र सरकारलाई धन्यवाद दिदै स्थानीयले दीपावली गरेका हुन्। 

नेता साहको निर्वाचन क्षेत्र रौतहट-३ को कटहरीया नगरपालिका, फतुवा विजयपुर नगरपालिका, देवाही गोनाही नगरपालिका, मौलापुर नगरपालिकाको गाउँगाउँमा दीपावली गरिएको हो। 

यस बाहेक रौतहट सदरमुकाम गौर, राजदेवी, बौधीमाईलगायतका स्थानहरूमा दीपावली गरिएको छ। नेता साहले निरन्तर नागरिकताको समस्या समाधान गर्नका लागि पार्टी भित्र र बाहिर संघर्ष गरेर विजय हासिल गरी जनतालाई खुशी बनाएकोमा दीपावली गरेको स्थानीयको भनाइ छ।

नेपाल नागरिकता अध्यादेश प्रमाणीकरण भएसंगै अब ‘जन्मसिद्ध’ नेपाली नागरिकता लिएका व्यक्तिका सन्तानले वंशजका आधारमा नागरिकता लिन पाउनेछन् भने बाबुको पहिचान नभएका सन्तानलाई आमाका नामबाट वंशजका आधारमा नागरिकता दिइने छ। 

अध्यादेशसंगै अब विदेशी बुहारीले पनि नागरिकता लिन ७ वर्ष कुर्नु नपर्ने भएको छ। गत असार ७ गते नागरिकता विधेयकबारे तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले गरेको निर्णयको ठाडो विरोधमा नेकपाकै नेता प्रभु साह उभिएका थिए। 

प्रकाशित मिति: : 2021-05-23 20:57:00

प्रतिकृया दिनुहोस्