नेपालमा खोप आउने कहिले? भारतमा अर्को महिनादेखि बालबालिकामा खोपको ट्रायल सुरु

PTI file photo

नेपालमा कोरोना भाइरसविरूद्धको खोपलाई लिएर अन्यौल बढिरहेको बेला छिमेकी भारतमा केटाकेटीका लागि अर्को महिनादेखि खोपको ट्रायल सुरू हुन लागेको छ।

नेपाल सरकारले कमिशनको चक्करमा भारतबाट खरिद गरेको खोप हालसम्म देशमा भित्र्याउन सकिरहेको छैन। पहिलो चरणको खोप लगाएका थुप्रै नेपाली अहिले पनि दोस्रो चरणको खोपका लागि कुरेर बसिरहेका छन्।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तेस्रो लहरको कोरोना भाइरस फैलिने चेतावनीसहित बालबालिका उच्च जोखिममा पर्ने चेतावनी दिइसकेको छ। यस्तो अवस्थामा भारत सरकारले खोप निर्माता कम्पनी भारत बायोटेकलाई २ देखि १८ वर्षसम्मका केटाकेटीमा ट्रायलका लागि खोप लगाउने अनुमति दिएको छ।

कम्पनीका व्यापार व्यवस्थापक तथा अन्तर्राष्ट्रिय एडभोकेसी प्रमुख डा. राचेस एलाले भर्चुअल मिटिङमा यसै वर्षको अन्त्यसम्ममा डब्ल्यूएचओबाट लाइसेन्स प्राप्त हुने आशा व्यक्त गरे।

डा. एलाले यो वर्षको अन्त्यसम्म ७० करोड खोप उत्पादन गर्ने दावी पनि गरेकी छिन्। ‘खोपले राम्रो काम गरिरहेको छ। मान्छेको जिन्दगी पनि बचाइरहेको छ। वर्षको अन्त्यमा ७० करोडसम्म भ्याक्सिन उत्पादनको क्षमता पुग्ने छ,’ डा. एलाले भनेकी छिन्।

भारत सरकारले खोप उत्पादनका लागि कम्पनीलाई १५ सय करोडको एडभान्स अर्डर दिएको उनले बताइन्। सरकारी सहयोगका कारण कम्पनीले गुजरात र बेङ्लुरुमा कम्पनी विस्तार गर्ने कार्य गर्नेछ।

भारतले १२ मेमा २ देखि १८ वर्षसम्मका केटाकेटीलाई बायोटेकको खोप लगाउन स्विकृति प्रदान गरेको थियो। दोस्रो तथा तेस्रो चरणको ट्रायल दुई साताभित्र सुरु हुँदैछ।

प्रकाशित मिति: : 2021-05-25 08:51:00

प्रतिकृया दिनुहोस्