प्रधानमन्त्रीकाे गाेप्य सेटिङ

Breaknlinks
Breaknlinks

प्रधानमन्त्रीको कुख्यात आँखाले कहिल्यै देखेन-
चिम्सा आँखाहरुलाई,
थेप्चो नाकहरुलाई,
पसिनाले नुनिलो बनेका अनुहारहरुलाई,
या यस्ता नेपथ्यका हजारौँ यर्थाथहरुलाई। 

उनले त केवल देखे-
ठूला-ठूला नगन्य सपनाहरु,
आफ्नै छड्के ढाका टोपी,
र सत्ताको कुर्सी। 

जब उनलाई भोक लाग्छ, 
तब उनी शिकार बनाउँछन्- जनताको जीवनलाई। 

यूरोपियन मिनिरल पानी खाने
उनको पुरानै बानी हो,
बेलायती जुत्ता पनि उनको प्यारो सोख  नै हो, 
र इटालियन दौरा सुरुवालमा सजिने 
उनको आजीवन रहर छ।

जनताको मृत्युसँग उनी बार्गेनिङ गर्न खप्पिस छन्,
जनतालाई भ्रमको सर्कस देखाउन पनि उनी सिपालु नै छन्,
उनी मध्यरातहरुमा गोप्य सेटिङ गर्न पनि  उत्तिकै माहिर छन्। 

जनताको आँशुमा उनी पाैडी खेलिरहन्छन्- 
आधा-माथि र आधा-मुनि भएर।

उनलाई थाहा छैन-
सुदूरका कहालीलाग्दो कथाबारे,
हिमालका चिसा हावाबारे,
तराइका सुख्खा सिमानाहरुबारे,
विरामी अस्पताहरूबारे,

यस्ता थुप्रै थोकबारे उनलाई केही थाहा छैन, 
तर उनलाई एउटा कुरा भने अवश्य थाहा छ कि-
'मृत्युपश्चात म नर्क जानेछु।' 

-प्रशान्त राेका / रुकुम

प्रकाशित मिति: : 2021-05-27 20:07:00

प्रतिकृया दिनुहोस्