खुलेआम हिँड्छन बलात्कारी, पक्राउ गर्दैन प्रहरी 

मोरङ उर्लाबारीको एक फनपार्कमा बालिका बलात्कार गरेकाे आरोपी खुलेआम हिँडडुल गरिरहेका छन्। 

उर्लाबारी–८ दुर्गापुरीस्थित एभरेष्ट फन पार्कमा १२ वर्षीया बालिकामाथि बलात्कार भएको थियो। दमक घर भएकी बालिका दमककै व्यवसायी दुर्गा पौडेलबाट बलात्कृत भएको खुल्न आएको थियो।

घटनालगतै पीडित परिवारले इलाका प्रहरी कार्यालय उर्लाबारीमा पौडेलविरुद्ध किटानी जाहेरी दिए पनि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छैन।

दमक चाेकमा पुराना मोटरसाइकल बिक्रीको 'रिकण्डिसन पसल' सञ्चालन गर्दै आएका पौडेल अझै पनि निर्वाध हिँडिरहेको पाइएको छ।

पीडित पक्षको जाहेरीअनुसार मुद्दा चलाउन बाध्य भए पनि उर्लाबारी प्रहरीको फनपार्क सञ्चालकसँगको ‘कनेक्सन’ का कारण अभियुक्त खुले आमा हिँडिरहेकाे पीडित पक्षको आरोप छ।



फनपार्ककाे वाेर्ड टाँगेर घण्टे लज सञ्चालन !

उर्लाबारीको एभरेष्ट फनपार्कमा १२ वर्षीया बालिकामाथि बलात्कार



यस विषयमा जानकारी लिदा इप्रका उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक राजाराम खड्काले अनुसन्धान भइरहेको र दोषीको खोजी कार्य भइरहेको बताए।

पौडेल निर्वाध हिँडडुल गरिरहेका छन् नि ? भन्ने प्रश्नमा उनले भने, ' देख्नेहरुले तुरुन्त खबर गरिदिए भैहाल्यो नि !'

स्रोतका अनुसार सो फनपार्कका सञ्चालहरु उर्लाबारी ८ का शिशु शिक्षा सदन बोर्डिङका संचालक इन्द्र आङबुहाङ, सुन व्यापारीसमेत रहेका उर्लाबारी उद्योग वाणिज्य संघका सदस्य अर्जुन नाल्बो र अर्का सुन व्यापारी तुलसी श्रेष्ठको बलात्कार आरोप जोगाउन उर्लाबारी प्रहरीलाई प्रभावमा पार्ने मुख्य भूमिका रहेको छ।

आरोपी  पक्राउ पर्दा होटल सञ्चालक पनि उनीसँगै मुछिने डरले ती बलात्कारीको बचाउमा लागेको पीडित पक्षको दाबी छ।

आरोपी पौडेलले ती बालिकालाई वैशाख ९ र १९ गते रिसाेर्टमा लगेर बलात्कार गरेका थिए।

मुलुकी अपराध संहिता २०७४ मा कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जवर्जस्ती करणी गरेको मानिने छ। १० वर्ष वा १० वर्षभन्दा बढी १४ वर्षभन्दा कम उमेरकी बालिका भए १८ वर्षदखि २० वर्षसम्म दोषीलाई कैद सजाय हुने छ।

प्रकाशित मिति: : 2021-06-02 18:18:00

प्रतिकृया दिनुहोस्