अफ्रिकामा खोप व्यवस्थापनका लागि १ अर्ब ३० करोड डलर सहयोगको घोषणा

मास्टरकार्ड फाउन्डेसनले अफ्रिकामा कोभिड–१९ को खोप व्यवस्था गर्न एक अर्ब ३० करोड डलर उपलब्ध गराउने घोषणा गरेको छ।

फाउन्डेसनले उक्त रकम तीन वर्षभित्र खर्च गरिसक्ने जनाएको छ। मास्टरकार्ड फाउन्डेसनबाट पहिलो पटक व्यवस्था गरिएको यस अभियानबाट खोपको व्यवस्था गर्न कठिनाई भोगिरहेको अफ्रिकालाई ठूलो राहत पुग्नेछ। समयमै खोप लगाउन नसके अफ्रिकामा कोभिड–१९ को तेस्रो लहर आउने अनुमान गरिएको छ। 

फाउन्डेसनले छुट मूल्यमा जोन्सन एन्ड जोन्सनबाट खोप खरिद गर्ने योजना बनाएको छ। यो खोप खरिद गर्न जोन्सन कम्पनीसँग अफ्रिकी युनियनले मध्यस्थता गर्दैछ। जोन्सनले २२ करोड डोज खोप अफ्रिकी युनियनलाई उपलब्ध गराउने सम्झौता गरेको छ। युनियनकी एक प्रवक्ताले आगामी अगस्ट महिनाभित्रै जोन्सनको खोप उपलब्ध हुने विश्वास व्यक्त गरे।

विश्व स्वास्थ्य संगठनले अफ्रिकामा कोरोनाभाइरसको तेस्रो लहर आउन सक्ने चेतावनी दिएको भोलिपल्टै क्यानाडाको टोरन्टोस्थित मास्टरकार्ड फाउन्डेसनले रकम व्यवस्था गर्न लागेको घोषणा गरेको हो। अफ्रिकामा हाल कोभिड–१९ को खोपको आपूर्ति लगभग ठप्प छ।

अफ्रिकामा खोपको अभाव हुनुमा खासगरी भारतले सेरम इन्स्टिच्यूटबाट उत्पादन गरिएको खोप निकासीमा प्रतिबन्ध लगाउनु पनि हो। 

अफ्रिकी संक्रामक रोग नियन्त्रण एवं रोकथाम केन्द्र (अफ्रिकी सिडीसी) ले युनियनमा आबद्ध ५५ अफ्रिकी मुलुकमा उक्त खोप समानुपातिक रुपमा वितरण गर्नेछ। 

प्रकाशित मिति: : 2021-06-09 06:34:00

प्रतिकृया दिनुहोस्