नागरिकता माग गर्दै धनुषाको ढल्केवरमा युवाहरुको प्रदर्शन

विजय साह

जनकपुर

धनुषाको ढल्केवरमा युवाहरुले नागरिकता माग गर्दै शुक्रबार प्रदर्शन गरेका छन्।

सरकारले अध्यादेशमार्फत जन्मसिद्ध नागरिकका सन्तानलाई बंशजको आधारमा नागरिकता प्रदान गर्न ल्याएको कानुन बिहिबार सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै नागरिकता वितरणमा रोक लगाएपछि सरकारविरुद्ध प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा नागरिकताबाट बञ्चित युवाहरुको सहभागिता थियो। उनीहरु प्लेकार्डसहित प्रदर्शन गरेका थिए।

प्रदर्शनका सहभागि युवाहरुले जन्मसिद्ध नागरिकता भएका सन्तानलाई बंशजको आधारमा नागरिकता प्रदान गर, जन्मसिद्धका सन्तानलाई–नागरिकता दे, गैरनागरिक बनाउन–पाइँदैन, देशका असल नागरिक– पहिचान गर, संविधान संशोधन छिटो गर जस्ता नारा लगाएका थिए।

ढल्केवरस्थित खानेपानी कार्यालय अगाडिबाट निकालिएको विरोध प्रदर्शन ढल्केवर चोकको विभिन्न भागमा परिक्रमा गर्दै शहिद स्मार्क पार्क अगाडी पुगेर कोणसभामा परिणत भएका थिए।

कोणसभामा बोल्दै इन्द्रजीत साफीले संविधान जारी भएको पाँच वर्ष बितिसक्दा पनि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेका हजारौं नेपालीका सन्तानहरु अझै पनि नागरिकताविहीन रहेको बताए।

उनले नागरिकता प्राप्त गर्न नसकेकै कारण उच्च शिक्षा हाँसिल गरेर पनि बेरोजगार भएर बस्नु परेको छ। राहदानी बनाउन नसकेर वैदेशिक रोजगारीमा जान सकिरहेका छैनन्। बैंक खाता खोल्न सकेका छैनन्।

उनले आफु पनि सिभिल इन्जिनीयर भएर नागरिकता नभएकै कारण बेरोजगार भएर बस्नु परेको बताउँदै सरकार तथा सर्वोच्च अदालगसँग पीडा बुझिदिन आग्रह गरेका छन्।

सरकारले अध्यादेशमार्फत जन्मसिद्ध नागरिकका सन्तानलाई बंशजको आधारमा नागरिकता प्रदान गर्ने कानुन ल्याएपछि खुशियालीमा दिपावली समेत मनाएका युवाहरु बिहिबार सर्वोच्च अदालतको निर्णयबाट पुनः निरास बनेका छन्।

प्रकाशित मिति: : 2021-06-11 13:33:00

प्रतिकृया दिनुहोस्