हिलाले बंकुल बजार अस्तव्यस्त

उत्तमकुमार उपाध्याय
बौद्धीमाई नगरपालिका वडा नम्बर ७ र ८ मा पर्ने बंकुल बजार हिलाले अस्तव्यस्त बनेको छ। 

सम्बन्धित पालिका र वडाध्यक्षले सडक मर्मतमा चासो नलिँदा बंकुल बजार हिलाम्य भएको हो। नहरबाट सरमुजवा गाउँ तथा मौलापुर जाने बजारको मूल सडकमै सवारी साधन गुड्न नसक्ने भएको छ। 

सडकको हिलामा चिप्लेर मोटरसाइकल चालक तथा पैदल यात्रु दिनहुँ लडेर दुर्घटनामा पर्ने गरेको स्थानीयवासी उतिम यादवले गुनासो गरे।  ‘बजारका लागि नाला निर्माण गर्न खनिएको खाल्डो त झन् ज्यानमारा बनेको छ’ उनले भने, ‘न नाला बन्छ, न सडक नै।’

चाँडो हिलो र नालाको समस्या समाधान नभए बंकुल बजारबासी आन्दोलन गर्न बाध्य हुने यादवले चेतावनी दिए। नगरपालिकै मुख्य र पुरानो बजारका रुपमा ख्याति कमाएको बंकुल बजारलाई व्यवस्थापन गर्न जनप्रतिनिधि निर्वाचित भएको झन्डै चार वर्ष बितिसक्दा पनि सडक तथा नाला निर्माण गर्न जनप्रतिनिधिले चासो नदेखाएको स्थानीयवासीले आरोप लगाएका छन्। 

यसपालि नगरपालिकाबाट विनियोजित रु  १६ लाखका लागतमा २६४ मिटर लम्बाइ भएको पक्की नाला निर्माण हुन लागेको स्थानीयवासी सिकेन्द्रप्रसाद यादवले बताए।

ठेकेदारले कमसल सामग्री प्रयोग गरी निर्माण गरेको गुणस्तरहीन नाला  साता नबित्दै भत्किएको अर्का स्थानीयवासी सुनील जयसवालले बताए। सडकमा आवतजावत गर्ने मोटरसाइकल, साइकल चालक र  पैदलयात्री चिप्लेर दिनहुँ लड्ने गरेको स्थानीयवासी भागेश्वर यादवले गुनासो गरे। उनका अनुसार यस अवधिमा धेरैको हातखुट्टा भाँचिएको छ। 

वर्षा लागेपछि र बजेट फ्रिज हुन एक महिना बाँकी रहँदा असार महिनामा बजेट पचाउन हतारहतारमा अहिले असारे योजना सञ्चालन भइरहेको स्थानीयवासीले आरोप लगाएका छन्।

जिल्लाका १६  नगरपालिका र दुई  गाउँपालिकाका सबै वडामा निर्माण भइरहेको नाला, सडक ढलानलगायत निर्माणका काममा गुणस्तरहीन सामग्री प्रयोग भइरहेको स्थानीयवासीले गुनासो गरेका छन्। रासस 

प्रकाशित मिति: : 2021-06-16 18:21:00

प्रतिकृया दिनुहोस्