राजमार्गमा पुल नहुँदा समस्या

File photo
File photo

गुल्मीको मालिका गाउँपालिका–७ घमिरका एक दम्पत्तीलाई जेठ २८ गते कोरोना पुष्टि भयो। श्रीमानको अक्सिजन कम हुँदा अवस्था जटिल भयो। 

चारदिनसम्म स्थानीय स्वास्थ्य संस्थामै उपचार गराएका दम्पत्तीलाई स्वास्थ्यकर्मीको सल्लाहअनुसार पाँचौँ दिनमा मङ्गलबार तम्घास पठाउने तयारी भयो। 

घमिरबाट अर्जै हुँदै तम्घास जाने सडकमा पहिरो गएकाले तम्घास पुग्न सम्भव भएन। घमिरकै एम्बुलेन्स प्रयोग गरी सङ्क्रमित सिलादीसम्म झरे पनि घमिरबाट आएको खोला बढेका कारण एम्बुलेन्स तर्न सकेन। 

उनीहरुलाई ल्याउन नेपाली सेनाको ट्रक तम्घासबाट सिलादीतर्फ गयो तर इस्माको गुर्बा खोलामा अर्को ट्रक अड्किएको कारण सेनाको ट्रक बिरामी भएको ठाउँसम्म पुग्न सकेन। बिरामी भने मङ्गलबार सिलादीमै बस्नु पर्यो। 

बुधबार बिहान बर्षा अलि कम भएपछि बिरामी बोकेर गुडेको एम्बलेन्स घमिर खोला तरेपनि रोदी खोलाको बीचमा फस्यो। स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा एम्बलेन्सलाई खोलाबाहिर निकालियो। 

अहिले सङ्क्रमित बुल्मको एक होटलमा बसेका छन् भने गाउँपालिकाको अर्को पिक अप गाडी सङ्क्रमित भएको ठाउँसम्म जाँदै गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक बसन्तराज भुसालले बताए। 

भुसालका अनुसार लगातार परेको वर्षाले खोलामा बाढी आएका कारण बिरामीलाई अस्पताल पुर्याउन सकिएको छैन। अहिले बिरामीको अवस्था झन गम्भीर हुँदै गएको छ। 

घमिरबाट आउने बिरामी मात्र होइन, अहिले जिल्लाका अधिकांश ठाउँको हालत यस्तै छ। तम्घासबाट सिमलटारीसम्म २३ किलोमिटर बाटो कालोपत्रे गरिए पनि यस सडकको बीच भागमा पर्ने खोलामा पुल नबन्दा यात्रु भने मर्कामा परेका छन्। 

 राजमार्गमा इस्मा गाउँपालिकाको गुर्बामा गुर्बा खोला, इस्मामै रोदी खोला, चौरासी नजिककैको खोला, हुलाके खोला र घमिर खोला पर्दछन्। अहिलेसम्म कुनै पनि खोलामा पुल नहुँदा यातायात सञ्चालन हुन सकेको छैन। 

राजमार्गमा गुर्बा खोलामा कल्भट बनेपनि गत वर्ष ठूलो बाढी आउँदा कल्भर्ट थुनिएर वरपरका घर डुबेपछि स्थानीयवासीले कल्भर्ट नै भत्काइदिएकाले अहिले त्यहाँको आवाज–जावत बन्द छ। 

रोदी खोला, चौरासी नजिकैको खोला, हुलाके र घमिर खोलामा पुल छैनन्। राजमार्ग बनेपनि पुल नबन्दा विपत्मा राजमार्गको उपयोग हुन सकेको छैन। गुर्बादेखि नै पुल नबन्दा इस्माको हस्तीचौर, धुर्कोटको वस्तु, मदाने र मालिका गाउँपालिकाका वासिन्दा तम्घास आवत–जावत गर्न नसक्ने भएका छन्। 

मदन भण्डारी राजमार्ग गुल्मीका प्रमुख शशांक मिश्रले राजमार्गमा पर्ने खोलामध्ये चार ठाउँमा पुलको डिपिआर भइरहेको जानकारी दिए। गुर्बाखोलामा पानीको सतह कम हुँदाबित्तिकै ह्यूमपाइप राखेर तत्काल यातायात सञ्चालन गर्ने तयारी भएको मिश्रले बताए। 

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले वर्षायाम बढेकाले अत्यावश्यक काम नपरी यात्रा नगर्न आग्रह गरे। तत्कालको लागि पुल र आवश्यक वैकल्पिक व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको पनि शर्माले बताए। रासस 

प्रकाशित मिति: : 2021-06-16 18:30:00

प्रतिकृया दिनुहोस्