मेलम्चीको बाढीले बगाउँदा आधा घण्टा रुखमा अड्केर बाँचेका नारायणको हृदयस्पर्शी कथा [भिडियो]

लोकान्तर

काठमाडौँ

गगन अर्याल

मेलम्ची बजारभन्दा २ किलोमिटर माथि टिम्बु हल्देमा रहेको हेलम्बु ट्राउट रिसर्च सेन्टरमा सञ्चालक ज्ञानेन्द्र कक्षपति र मेलम्ची नगरपालिका–११ बिसमुरेका नारायण चालिसेसहित १५ जना कामदार ट्राउट माछा ठूलो खोलाबाट सानो खोलामा सारिरहेका थिए ।

असार १ गते साँझ ६ बजे हेलम्बुमा पहिरो आएको सूचना पाएपछि माछा जोगाउनका लागि हतारहतार काम गर्दैै थिए ।

केही माछा सानो खोलामा सारिसकेका थिए तर केही बाँकी थिए । काम गर्दागर्दै एक्कासि मुखका झ्याम्म बालुवाले हानेजस्तो भयो नारायणलाई ।

एकै सेकेन्डमा उनी ढुंगामा ठोक्किन पुगे । हिलोको छालमा कहिले तल त कहिले माथि बजारिँदै गए उनी ।

पानीमुनि लगभग १ मिनेटसम्म रहँदा पनि उनले चेत गुमाएनन् । ‘पानीमुनि म होसमै थिएँ, आँखा हेर्न सकिनँ, सास फेर्न सकिनँ,’ बाढीमा बग्दै गर्दाको अनुभूति सुनाउँदै नारायणले लोकान्तरसँग भने, ‘अँध्यारो थियो । आँखा खोल्न सक्ने कुरै भएन, ढुंगाले त कति हाने हाने ।’

कसो–कसो ५ मिनेटपछि नारायणको टाउको. पानीबाट बाहिर भयो । उनले रुख देखे, अर्का १ जना अर्थात् ज्ञानेन्द्र पनि रुखमा समाएर बसेका थिए । 

भाग्यले उनलाई त्यहीँ रुखमा लग्यो, उनले तुरुन्तै रुख समाए । बाढीको बीचमा सहकर्मीसँगै भएपनि एकअर्कासँग बोल्ने हिम्मत भएन । बाढीको छालले रुखलाई निरन्तर हल्लाइरह्यो । रुखको सहारामा भएपनि दैवले आजै लैजान्छ जस्तो लागिरह्यो उनीहरूलाई ।

प्रकाशित मिति: : 2021-06-19 19:01:00

प्रतिकृया दिनुहोस्