पर्यटककाे आकर्षक गन्तव्य बन्दै धिताचौर वनस्पति उद्यान (फाेटो फिचर)

सुरुमा बुहुमुल्य जडिबुटी केसर खेतीको लागि परिचित धिताचौर वनस्पति उद्यान आजभोलि आकर्षक पर्टकीय गन्तव्य बनेको छ।

विभिन्न प्रकारका फूलहरुले झकिझकाउ उद्यानमा पछिल्लो समय दैनिक सयौंको संख्यामा पर्यटक घुमफिरका लागि पुग्ने गरेका छन्।

जिल्ला वनस्पति कार्यालयको बोटानिकाल गार्डेनमा विभिन्न प्रकारको बिरुवाहरुका साथै ‘आर्टिफिसियल’ कान्जिरोवा हिमालकाे आकृति बनाइएको हुनाले फुर्सदिलो समयमा ‘रिफ्रेसमेन्ट’का लागि आन्तरिक पर्यटकहरु आउने गरेको नर्सरी नाइके गंग प्रसाद धितालले बताएका छन्।

‘वैशाखदेखि मान्छे आएका आयै छन्’ उनले भने,‘जंगलको बीचमा रमाइलो ठाउँ भएकोले पनि घुम्न आउने मान्छे बढेका हुन्।’

उनका अनुसार उद्यानमा हाल सात किसिमका फूलहरु फुलिरहेका छन्। केही जडिबुटी र जंगली फूलहरु पनि छन्। सहरी क्षेत्रमा निषेधाज्ञा जारी हुँदा उकुसमुकुस भएपछि घुम्न आएको  जम्लाकी शारदा विश्वकर्माले बताएकी छिन्।

‘घरमा बस्दा बोर भयो। धेरैले यो ठाउँको फोटो सामाजिक सञ्जालमा राखेको देखकी थिए।’ उनले भनिन्,‘यहाँ पुगेपछि निकै रमाइलो लाग्यो। वास्तवमा ‘रिफ्रेसमेन्ट सेन्टर’ रहेछ।’

वनस्पति उद्यानमा पछिल्लो समय घुम्न आउने पर्यटकको अभिलेख राख्ने गरिएको छ। समूहमा आउनेमध्ये एक जनाको नाम, ठेगानासँगै आएका पर्यटकको संख्या राख्ने गरिएको धितालले बताए। 

हालसम्म ४४४ जनाको समूहले धिताचौर वनस्पति उद्योग भ्रमण गरिसकेको छन्। बिहान सबेरै खुल्ने उद्यान साँझ पाँच बजे बन्द हुन्छ। निषेधाज्ञाको फुर्सदिलो समयमा तपाईं पनि धिताचौर वनस्पति उद्यान घुमेर आनन्द लिन सक्नु हुन्छ।

 

प्रकाशित मिति: : 2021-06-29 05:48:00

प्रतिकृया दिनुहोस्