धनुषाको कमला नदीबाट ३ जनाको सकुशल उद्धार

विजय साह

जनकपुर

धनुषाको कमला नदीबाट ३ जनालाई सुरक्षाकर्मीको टोलीले सकुशल उद्दार गरेको छ।

जिल्लाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर-८ पोर्ताहा बस्ने संजय चौधरी, गणपत यादव र सितादेवी यादवलाई कमला नदीबाट सुरक्षाकर्मीले सकुशल उद्धार गरेका हुन्।

उद्धार गरिएका तीनै जना कमला नदीको बीच भाग फसेका थिए। उनीहरुलाई बिहिबार दिनको १२ बजे इलाका प्रहरी कार्यालय ढल्केवर, शसस्त्र प्रहरी बेस क्याम्प रघुनाथपुर र दंगा नियन्त्रण गण ढल्केवरबाट खटिएको सुरक्षाकर्मीको संयुक्त टोलीले उद्धार गरेको इप्रका ढल्केवर प्रहरी निरीक्षक प्रदिप सुवेदीले जानकारी दिए।

कमला नदीमा फसेका तीनै जना बुधबार साँझ ८ बजे कमला नदी किनार लगाइएको परवल खेत रुग्न त्यहाँ गएका थिए। बुधबार राति नदीमा आएको बाढीले खेतको दुबै पट्टीको जमिन कटान गरेर खोला बग्न थालेपछि परवल खेत रुग्न गएका तीनै जना कमला नदीमा फसेका थिए।

प्रकाशित मिति: : 2021-07-01 15:01:00

प्रतिकृया दिनुहोस्