केही समयअघि मोडल दुर्गेश थापा र गरिमा शर्मा टीकटक लाइभमा आए। उक्त लाइभमा उनीहरुबीच भएका कुराकानीका केही ‘क्लिप’ सामाजिक सञ्जालमा भाइरल बन्यो।
टीकटकबाटै चर्चामा आएकी गरिमालाई लाइभमा दुर्गेश थापाले आफूहरु भर्खरै ब्रेकअप भएका प्रेमी-प्रेमिकाको अभिनय गर्ने प्रस्ताव राख्छन्। अभिनयमा उनीहरुबीच 'गाली गरागर्' को अवस्था सिर्जना हुन्छ।
सुरुमा उनीहरुले सोचेका पनि थिएनन्, उक्त क्लिपहरु भाइरल होलान् र विवादमा समेत तानिनु पर्ला भनेर।
तर, जब ‘रजतपट’ कार्यक्रमका प्रस्तोता प्रकाश सुवेदीले ती भिडियो क्लिपका आधारमा रिपोर्ट नै तयार पारे, तब भने यो विषयले झन् चर्चामा पाएको छ। कार्यक्रममा सुवेदीले ‘विनाशकाले विपरित बुद्धि’ भनेर टिप्पणीसमेत गरेका छन्।
पटक–पटक नायिकाहरुको चरित्र हत्या गर्ने खोजेको आरोप खेप्दै आएका सुवेदी पुन विवादमा तानिएका छन्। 'रजतपट'मा आफूहरुको बारेमा रिपोर्ट नै आएपछि गरिमाले टिकटक लाइभमा आएर कलाकारिता क्षेत्रमा रहँदासम्म विवादमा नफस्ने कोशिस गर्दा-गर्दै पनि जबरजस्ती विवादमा तान्न खोजेको बताएकी छिन्।
मोडल गरिमाले सुवेदीले सत्य-तत्थ्य नबुझी आफ्नो चरित्र हत्या गर्न खोजेको भन्दै न्यायका लागि सम्बन्धित निकायमा जानेसमेत बताएकी छिन्।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् 'रजतपट'मा आफ्नो विषयमा अतिरञ्जित र भ्रमपूर्ण टेलिभिजन रिपोर्ट भएको बताएकी छिन्।
उनी सामाजिक सञ्जालमा लेख्छिन्, ‘नेपाली कला क्षेत्र र कलाकारहरुलाई प्रोत्साहन गर्नुपर्ने टेलिभिजन च्यानल, टेलिभिजन कार्यक्रम र प्रस्तोता नै भ्रमित सामाग्री प्रसारण गरी कलाकारहरुलाई अनावश्यक विवादमा तान्ने तथा निरुत्साहित गर्ने कार्यको घोर भत्सर्ना पनि गर्छु।’
केही दिनअगाडी टिकटक लाइभमा खेल खेल्ने क्रममा हाँसो ठट्टामा बोलिएका संवादहरुका टुक्रा-टुक्री तानेर राष्ट्रिय टेलिभिजनबाट उक्त सामाग्री प्रसारण गर्नु सरासर गलत भएको बताएकी छिन्।
'रजतपट'का सञ्चालक प्रकाश सुवेदीले भने कलाकारजस्ता व्यक्तिहरुले हाँसो मजाकको बहानमा यस्ता शब्द प्रयोग गरेर समाजिक सञ्जालमा भाइरल हुन खोज्नु गलत भएको बताएका छन्।
यसरी सामाजिक सञ्जालमा भाइरल हुने नाममा कलाकारहरुले चलचित्र क्षेत्र नै बदनाम हुने काम गरेकै कारण रिर्पाेट तयार पारेकाे बताएका छन्।