प्रशासनकै मिलेमतोमा नदीजन्य पदार्थ उत्खननः स्थानीय भन्छन्- प्रहरीले नै महिनाबारी लिएपछि कसले गर्छ कारवाही ?

विजय साह

जनकपुर

महोत्तरीमा क्षेत्रबाट दशक अघिदेखि हुँदै आएको अवैध उत्खनन अझै रोकिएको छैन।

सरोकारवाला नै प्रभावमा परेपछि अवैध उत्खनन नरोकिएको हो।

महोत्तरीको भंगहा नगरपालिका–४ बिर्ता सिमा क्षेत्रबाट एक्साभेटर र जेसीबी प्रयोग गरेर अवैध रूपमा उत्खनन भइरहेको छ।स्थानीय प्रशासनकै मिलेमतोमा नदीजन्य पदार्थ उत्खनन भइरहेको स्थानीयको आरोप छ।

रातको समयमा खोलामै व्यवस्थित तरिकाले २५ फिटभन्दा बढी खाल्डो बनाइ अवैध उत्खनन गरिरहेको स्थानीयको भनाइ छ।

प्रहरी प्रशासनले नदेख्ने गरी एक्साभेटर नै खाल्डोमा लुकाएर दिनरात नै अवैध तरिकाले उत्खनन गर्ने गरिएको छ। खोला ठेक्का अहिले बन्द भएको छ तर पनि खोला क्षेत्रबाट अवैध नदीजन्य पदार्थ उत्खनन रोकिएको छैन।

ठूलो यन्त्र लगाएर नदीजन्य पदार्थ उत्खनन गर्न प्रतिबन्ध छ। तर, ठूला उपकरण यन्त्र प्रयोग गरेर खोलामा उत्खनन भइरहेको छ। स्थानीय सरकारले रोक्ने प्रयास नगरेको स्थानीयको आरोप छ।

प्रहरीमाथि स्थानीयको कडा दबाब परेपछि भंगहा नगरपालिका–४ स्थित बिर्ता र पशुपतिनगरको बिचमा रहेको खोलाको खाल्डोमा ना१क ५८५२ नम्बरको जेसिबी भंगहा प्रहरीले नियन्त्रणमा लियो। तर कारवाही भएन।

'उत्खनन माफियासँग प्रहरीले महिनाबारी लिएपछि कसले कार्वाही गर्छ?', स्थानीयले भने।

खाल्डोमा रंगेहात समातिएको जेसीबीको चालक नहुँदा कारवाही अगाडि नबढाएको भंगहा चौकीका इन्चार्ज भरत शिलवालको भनाइ छ।

यता भंगहा नगरपालिकाका मेयर संजिव साहले यो उत्खननको विषयमा केही पनि जानकारी नभएको बताउँछन्। ठेकेदारसँग प्रहरी प्रशासन र स्थानीय तहको मिलोमतोमा अवैध उत्खनन् हुने गरेको स्थानीयको आरोप छ।

प्रकाशित मिति: : 2021-07-15 10:30:00

प्रतिकृया दिनुहोस्