फिल्म रिभ्यु

एअर : प्रेरणादायक कथामा मनोरञ्जनात्मक प्रस्तुति

नाइकी एअर (NIKE AIR) ब्राण्डको जुत्ता नलगाउने र नलगाए पनि नामसम्म पनि नसुन्ने मान्छे आजको दिनमा सायदै होलान। यस्तै एउटा जुत्ता कम्पनी र त्यो कम्पनीसँग जोडिएका एक महान खेलाडीको कथामा निर्माण भएको सिनेमा ‘एअर’ गत शुक्रबार (१२ मे) सिधै अमेजन प्राइम भिडियो ओटीटीमा रिलिज भएकाे छ।

जन पल विन्सेट बकारो (सनी बकारो)नामक व्यक्तिले बास्केटबलका महान खेलाडी माइकल जोर्डनलाई नाइकी कम्पनीको ब्रयाण्ड एम्बेसडर बन्न स्वीकार गर्न गरेको परिश्रम र खेलाडी जोर्डनले हरेक वर्ष आफ्नो नाममा उत्पादन भएको एअर जोर्डनको बिक्रीबाट आर्जन गर्ने करिब ४० करोड डलरको सत्य कथामा आधारित यो सिनेमा दर्शनीय बनेको छ।

सन १९८४ मा नाइकी कम्पनी लगातार घाटामा गइरहेको कारण उक्त कम्पनीको व्यवस्थापन समूह तनावमा रहन्छ। कम्पनीको मालिकसँग दुई वटा मात्र विकल्प बच्छ। पहिलो, कम्पनी बन्द गर्ने र दोस्राे कुनै ‘सेलिब्रेटी’लाई आफ्नो उत्पादनसँग जोड्ने। कम्पनीका मालिकहरु दोस्राे विकल्पको लागि तयार भएपछि कम्पनीका मार्केटिङ्ग प्रमुख सनी बकारो (म्याट डेमन) आफूहरुले रोजेको बास्केटबलका खेलाडी माइकल जोर्डन (डेमिन योङ्ग)लाई भेट्न निस्कन्छन्। जब बकारोले यो बारेमा जोर्डन कि आमा डेलोरिस जोर्डन (भायोला डेभिस)सँग कुरा राख्छन्, उनले भर्खरै सफल हुन लागेको आफ्नो छोराको भविष्य खतरामा पर्छ कि भन्ने शंका गर्छिन्। अनेकौँ बाधा पार गरेपछि बकारो आफ्नो उद्देश्यमा सफल हुन्छन तर उनले यसको लागि के-के गर्नुपर्छ त्यो थाहा पाउन भने सिनेमा नै हेर्नुपर्छ।

सिनेमामा दिग्गज कलाकारहरु जेसन ब्याटम्यान (रब स्ट्रेसर), क्रिस मेसिना (डेभिड फ़्लक), मार्लन वेयन्स (जर्ज राभेलिङ्ग), क्रिस टकर (होवार्ड ह्वाइट), म्याथ्यु माहेर (पिटर मुर्), गुस्ताफ स्कार्सगार्ड (होर्स्ट डस्लेयर) र जुलियस टेनन (जेम्स जोर्डन) विभिन्न भूमिकामा छन र उनीहरु सबैको अभिनय स्वभाविक छ। निर्देशक बेन एफ्लिकले पनि नाइकी कम्पनीको सीइओ (फिल नाइट)को भूमिकामा अभिनय गरेका छन्। निर्देशन, लेखन (एलक्स कन्भेरी), छायांकन (रोबर्ट रिचर्डसन), सम्पादन (विलियम गोलडेन्बर्ग) र संगीत (निना टाङ्का)को काममा पंक्तिकार जस्तो सामान्य दर्शकले कुनै कमी देख्ने कुरा भएन।

सम्भवत ओस्कार र गोल्डेन ग्लोब अवार्डहरुमा प्रतिस्पर्धा गर्न निर्माण गरिएको यो सिनेमा एक पटक हेर्न सकिन्छ तर पंक्तिकार जस्तो अंग्रेजी भाषामा पूर्ण दखल नभएकाहरुको लागि त्यति रमाइलो नलाग्न पनि सक्छ।

@twitter# naviinr

ट्रेलर :

प्रकाशित मिति: : 2023-05-17 12:30:00

प्रतिकृया दिनुहोस्