विशेष अदालतमा धरौटी संकलनको किस्सा– ठूलो रकम बुझ्नुपर्दा छुट्छ कर्मचारीको पसिना !

लोकान्तर

काठमाडौं

विशेष अदालतमा जब ठूल्ठूला मुद्दामा थुनछेक बहस चल्छ, तब कर्मचारीहरूमा एक किसिमको तनाव शुरू हुन्छ- कतै धरौटीको ठूलो रकम नगदमा बुझ्नुपर्ने त होइन ?

खास तनाव पैसा बुझ्नलाई होइन, पैसा गन्ने कुरामा हुँदो रहेछ । एक करोड रूपैयाँ नगद धरौटी बुझ्नुपर्‍यो भने ५/६ जना खटिँदा पनि पैसा गन्न ४/५ घण्टा लाग्ने कर्मचारीहरूले बताए ।

बुधवार कांग्रेस उपसभापति समेत रहेका पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारको मुद्दामा थुनछेक बहस चलिरहँदा विशेष अदालतको आर्थिक प्रशासन फाँटका कर्मचारीहरूमा तनाव प्रस्टै देख्न सकिन्थ्यो ।

गच्छदारमाथि ललिता निवास प्रकरणमा ९ करोड ६५ लाख ७६ हजार रूपैयाँ बिगो कायम गरिएको भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन छ ।

गच्छदार धरौटीमा छुट्न सक्ने लख कर्मचारीहरूलाई पनि थियो । सोही कारण कतै धेरै पैसा नगदमा बुझ्नुपर्ने त होइन भन्ने चिन्ता कर्मचारीहरूमा थियो ।

तर अदालतले गच्छदारलाई १० लाख धरौटीमा रिहा गर्‍यो । उनले नगदमै धरौटी रकम बुझाए । सानो रकम भएकाले कर्मचारीहरूलाई पनि सहजै भयो ।

प्रकाशित मिति: : 2021-07-18 13:00:00

प्रतिकृया दिनुहोस्