पत्रकारको ‘जासुसी’ गर्न भारतले पेगासस सफ्टवेर किनेको खुलासा

Photo - Bhaskar
Photo - Bhaskar

भारत सरकारले पत्रकारसहित शंकास्पद व्यक्तिमाथि जासुसी गर्न इजरायली सफ्टवेर– 'पेगासस' को प्रयोग गरेको खुलासा भएको छ।

पत्रकारसहित सरकारी अधिकारी, वैज्ञानिक र सामाजिक कार्यकर्तामाथि सफ्टवेरमार्फत् निगरानी गरेको तथ्य खुलेपछि हल्लिखल्ली मच्चिएको हो। तीन सय भारतीयमाथि पेगासस सफ्टवेरले जासुसी गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

त्यसरी जासुसी गरिएका तीन सय जनामध्ये ४० भारतीय पत्रकार रहेको द वायर को 'रिपोर्ट'मा उल्लेख छ। उनीहरुलाई पेगासस सफ्टवेर प्रयाेग गरी फोनमार्फत् निगरानीमा राखिएको थियो।

प्रमुख विपक्षी दलका तीन नेतासहित दुई मन्त्री र न्यायाधीश पनि जासुसीको निगरानीमा परेको वासिङ्टन पोस्टद गार्जियन ले पुष्टि गरेको छ तर उनीहरूकाे नाम भने सार्वजनिक गरिएको छैन।

'पेगासस' नामक सफ्टवेर एक कम्प्युटर प्रोग्राम हो। जसको सहयोगमार्फत् ‘फोन ह्याक’ गरी क्यामेरा, माइकसहित महत्त्वपूर्ण सूचना प्राप्त गर्न सकिन्छ। फोन कुराकानीको विवरणसमेत सफ्टवेरबाट पत्ता हुने बताइएकाे छ।

भारत सरकारले 'पेगासस' प्रयोग गरी आफूले चाहेको व्यक्ति र संस्थाको निगरानी गर्नेगरेको छ। निगरानी गरिएका व्यक्तिलाई फोनमा म्यासेज, ह्वाट्स्एप, आईफोन म्यासेज वा अन्य कुनै माध्यमबाट एक लिङ्क पठाइन्छ।

उक्त व्यक्तिले प्राप्त लिङ्क क्लिक गरेलगत्तै सफ्टवेर फोनमा एक्टिभ हुन्छ। एकपटक एक्टिभ भएपछि फोनको एसएमएस, इमेल, ह्वाट्स्एप च्याट्, जीपीएस डाटा, फोटो वा भिडियो लाइब्रेरी 'पेगासस'को नियन्त्रणमा पुग्छ।

पेगासस निर्माण कम्पनी ‘एनएसओ’ ग्रूपले बताएअनुसार निजी कम्पनीहरुलाई यो सफ्टवेयर बेचिँदैन तर सरकारले मागेको वा आग्रह गरेको खण्डमा सहजै उपलब्ध (बेचिन्छ) गराइन्छ।

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाहलाई खरो आलोचना गर्ने पत्रकारहरूमाथि जासुसी गरिएपछि सरकारमाथि नै आशङ्का गरिएको विभिन्न सञ्चारमाध्यमले दाबी गरेका छन्।

द वायर सहित विश्वभरका १६ सञ्चार संस्थाले पेगासस सफ्टवेरबाट जासुसी गरिरहेको 'रिपोर्ट' सार्वजनिक गरेका छन्। पेगासस सफ्टवेरमार्फत् इन्डियन एक्स्प्रेस, हिन्दुस्तान टाइम्स, न्यूज–१८, इन्डिया टूडे, द हिन्दू, द वायरद पायनियर जस्ता प्रतिष्ठित सञ्चारमाध्यममा काम गर्ने पत्रकार लक्ष्यित ‘निगरानी’ गरिएको थियो।

सन् २०१७ देखि २०१९ सम्म एक एजेन्सीले ४० भन्दा बढी भारतीय पत्रकारको निगरानी गरेको उक्त 'रिपोर्ट'मा उल्लेख छ।

निगरानीमा को-को?

१. शिशिर गुप्ता- हिन्दुस्तान टाइम्स
२. रोहिणी सिंह- द वायर
३. सुशांत सिंह- इण्डियन एक्सप्रेस
४. प्रशान्त झा- हिन्दुस्तान टाइम्स
५. औरंगजेब नक्शबंदी- हिन्दुस्तान टाइम्स
६. ऋतिका चोपड़ा- इण्डियन एक्सप्रेस
७. संदीप उन्नीथन- इण्डिया टुडे
८. मनोज गुप्ता- टिभी १८
९. विजेता सिंह- द हिन्दु 
१०. सिद्धार्थ वरदराजन- द वायर
११. एमके वेणु- द वायर
१२. देवीरूपा मित्रा- द वायर
१३. प्रेमशंकर झा- स्वतन्त्र पत्रकार
१४. स्वाति चतुर्वेदी- द वायर
१५. विजेता सिंह- द हिन्दु 
१६. जे. गोपीकृष्णन- द पायनियर
१७. सैकत दत्ता- स्वतन्त्र पत्रकार
१८. परंजॉय गुहा ठाकुरता- न्यूजक्लिक वेबसाइट
१९. स्मीता शर्मा- द ट्रिब्यून
२०. सिद्धांत सिब्बल- विऑन टिभी च्यानल 
२१. मनोरंजना गुप्ता- फन्टियर टिभी
२२. संजय श्याम- स्वतन्त्र पत्रकार
२३. जसपाल सिंह हेरन- स्वतन्त्र पत्रकार
२४. रूपेश कुमार सिंह- स्वतन्त्र पत्रकार

प्रकाशित मिति: : 2021-07-19 18:30:00

प्रतिकृया दिनुहोस्