इतिहास स्मरणीय बनाउने अवसर

गोरखापत्र

धर्मेन्द्र झा

पाँचाैँ पटक देशको प्रधानमन्त्री बन्नुभएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको यस पटकको कार्यकारी प्रमुखको यात्रा पहिलेको भन्दा चुनौतीपूर्ण हुने आकलन गरिएको छ। सर्वोच्च अदालतको परमादेशपछि प्रधानमन्त्री बन्न सम्भव भएको अवस्थामा देउवाले यस पटक देश, जनता, पार्टी कार्यकर्ताका साथै अदालतको पनि मान राख्नुपर्ने छ। यस आलेखमा प्रधानमन्त्री देउवाका भावी कार्यसूची र चुनौतीका बारेमा चर्चा गर्ने प्रयत्न गरिएको छ।

सबभन्दा महत्त्वपूर्ण त देउवाले के सोच्नु जरुरी छ भने केपी शर्मा ओली जे कारणले सत्ताबाट बाहिरिनुपर्ने अवस्था सिर्जना भयो, त्यो अवस्था भोलि देउवाका सन्दर्भमा पनि उत्पन्न नहोला भन्न सकिन्न। यो अवस्था आउन नदिनु शायद देउवाको सबैभन्दा ठूलो चुनौती हो। यसबाहेक उहाँसामु अन्य धेरै चुनौती पनि छन्, जसको सामना उहाँले डटेर गर्नुपर्ने छ।

सुदूरपश्चिमको पहाडी जिल्ला डडेलधुराको रुवा खोलाको एक सामान्य विद्यार्थी देउवाको नेपाली काँग्रेसको सभापति र पाँच पटकसम्म देशको प्रधानमन्त्री बन्नेसम्मको राजनीतिक यात्रा कम रोमाञ्चक छैन। विगतमा चार पटक देशको प्रधानमन्त्रीको कार्यभार सम्हालिसक्नुभएका देउवा विविध कारणले राजनीतिक चर्चामा रहिरहनुहुन्छ। वैचारिक र सैद्धान्तिक आधारसँगै आक्रामक व्यक्तित्व, सत्ता–चातुर्य, साङ्गठनिक चुस्तता तथा कार्यकर्ताको संरक्षणका दृष्टिले प्रायः चर्चामा रहने देउवा प्रधानमन्त्री बनेसँगै नेपाली काँग्रेस नयाँ धारको राजनीतिमा प्रवेश गरेको विश्वास गरिएको छ। त्यसो त अहिले काँग्रेसले सरकारको नेतृत्वको लोभ गर्नु हुँदैनथ्यो भन्ने राजनीतिक विश्लेषकको पनि कमी छैन। 

प्रकाशित मिति: : 2021-08-01 10:18:00

प्रतिकृया दिनुहोस्