अटेरी दुर्गेशलाई प्रतिष्ठानले सदस्यबाटै निकाल्याे

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठानले गायक दुर्गेश थापालाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेकाे छ। प्रतिष्ठानले दुर्गेशकाे तीज गीतमा रहेका आपत्तिजनक शब्द हटाउन पटक– पटक आग्रह गरे पनि वेवास्ता गरेपछि कारवाही गरेकाे हाे।

प्रतिष्ठानले आइतबार एक विज्ञप्ती जारी गरी दुर्गेशलाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरेकाे बताएकाे छ।

‘मिति २०७८ असार १७ गते बसेको केन्द्रिय समितिको बैठकबाट विधानत् परिच्छेद (७) धारा (२६) को उपधारा १ बमोजिम निजको साधारण सदस्य समेत नरहने गरी सदस्यता खारिज गर्ने निर्णय गरिएको छ।’ प्रतिष्ठानले जारी गरकाे विज्ञप्तीमा उल्लेख छ।

दुर्गेशले गीतमा प्रयाेग गरेकाे शब्द ‘ख्यास्स पुतली’प्रति प्रतिष्ठानले असन्तुष्टी जनाउँदै आएकाे थियाे। उक्त शब्द  हटाउन भन्दै प्रतिष्ठानले यसअघि पत्रसमते पठाएकाे थियाे तर दुर्गेशले भने वेवास्ता गर्दै आएका थिए।

उनले अन्य कलाकारले याे भन्दा नराम्राे शब्द प्रयाेग गर्दा पनि केही नबाेल्ने आफ्नाे सामान्य कुरामा पनि कारवाही गर्नु प्रतिष्ठानकाे नियती ठिक नभएकाे बताउँदै आएका छन्। उनले ‘ख्यास्स पुतली’ शब्द गलत नभएकाे बताउँदै आएका छन्। 

दुर्गेश यसअघि पनि पटक–पटक विवादमा आउने गरेका छन्। उनी गीतकै विवादका कारण प्रहरी हिरासतमा समेत बस्न परेकाे थियाे।

दुर्गेशले २०७६ को तिहारमा दुर्गेशले ‘ह्याप्पी तिहार चिसो बियर’ गीत विवादमा परेकाे थियाे। गीतमार्फत तिहारको सांस्कृतिक विचलन गरेको र प्रतिबन्धित गाँजा सेवन गर्न उक्साएको भन्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयमा उनीविरुद्ध उजुरी परेपछि उनलाई प्रहरीले पक्राउसमेत गरेको थियो। उनी तत्कालै आफ्नो युट्युब च्यानलबाट उक्त गीत हटाउने तथा आम माफी माग्ने र आगामी दिनमा यस्तो गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाएर रिहा भएका थिए।

त्यस्तै, ‘छक्का पन्जा ३’ को प्रमोसनल गीतको एउटा लाइनमा ‘यसपाली त (फलाना) ब्याउने कुरो छ’ भन्ने शब्द राखेकै कारण उनी विवादमा तानिएका थिए।

प्रकाशित मिति: : 2021-08-08 20:06:00

प्रतिकृया दिनुहोस्