एमालेले निर्वाचन आयोगमा पठायो २६० केन्द्रीय सदस्यकाे विवरण

बाँयाबाट क्रमशः नवराज सिलवाल, विमला पौडेल राई, अग्नि खरेल, रमेश बडाल र बाबुराम दाहाल
बाँयाबाट क्रमशः नवराज सिलवाल, विमला पौडेल राई, अग्नि खरेल, रमेश बडाल र बाबुराम दाहाल

नेकपा एमालेले केन्द्रीय कमिटीको संख्या र नाम अद्यावधिक गर्न निर्वाचन आयोगमा पठाएको छ। साउन ४ गते बसेको केन्द्रीय कमिटीको निर्णयबमोजिमको उक्त नामावलि आयोग पठाइएको हो। 

आयोगमा गएका पूर्वमहान्यायाधिवक्ता रमेश बडालका अनुसार, आयोगसँग चार दिनअघि नै समय मागिएको थियो। पाँचै जना आयुक्त भेला भएकाे दिन बुझ्ने भनेर मंगलबारका लागि समय दिइएको हो । 

बडालले बिएल नेपाली सेवासँग भने, 'निर्णय गरेको ३० दिनभित्र निर्वाचन आयोगमा बुझाउनुपर्ने कानूनी व्यवस्था छ । सोहीबमोजिम नामावलि बुझाएका हौँ । आज विकसित भएको राजनीतिक घटनासँग नामावलि बुझाउनुको सम्बन्ध छैन ।'

हालसम्म २०३ सदस्यीय केन्द्रीय कमिटी रहेकोमा अब २६० सदस्यीय केन्द्रीय कमिटी रहने विवरण बोकेर एमाले केन्द्रीय सदस्य अग्नि खरेलको नेतृत्वमा अधिवक्ताहरु रमेश बडाल, बाबुराम दाहाल तथा सांसदद्वय विमला पौडेल राई र नवराज सिलवाल आयोगमा पुगेका थिए ।

सरकारले संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशतले  दल विभाजन गर्न पाउनेगरी अध्यादेश पारित गरेकै दिन एमालेले नामावलि बुझाएको हो।

अब माधव नेपालसँग ५२ जना केन्द्रीय सदस्य वा २५ जना सांसद्ले साथ दिएमा मात्र विधिवत रुपमै एमाले विभाजन हुनसक्ने छ। 

प्रकाशित मिति: : 2021-08-17 16:00:00

प्रतिकृया दिनुहोस्