प्रशान्त किशोरको ‘जन-सुराज’ मा बदलाव खोजिरहेको बिहार

Break n Links
Break n Links

‘भोट जस्लाई दिनु छ दिनुस तर मतदान गर्नु अघि एक पटक आफ्ना सन्तानको मुख हेर्नुस्…’ ग्रामीण वस्तीका जनसभामा पिके अर्थात् (प्रशान्त किशोर पाण्डे)ले भन्ने वाक्य हो यो। 

त्यति भनिसकेपछि उनी थप्छन् –‘म कुनै नेता होइन न त मसँग कुनै जादुको छडी छ, सबै समस्या हल गर्ने। कसैले त्यस्तो भन्छन् भने उनीहरू बेईमान हुन्। जो वर्षौं देखि जाती, धर्म र परिवारका नाममा विहारलाई लुटिरहेका छन्। म तपाईंहरूकै विहारको दाई, भाई छोरा हुँ। तर जे मुद्दामा भोट गर्नुहुन्छ त्यो काम पक्कै हुन्छ। मन्दिरका नाममा र जातका नाममा भोट गर्नु भयो आज सम्म त्यही भईरहेको छ।’ 

पछिल्लो पटक केही महिना अघि पटनामा पिके (प्रशान्त किशोर)लाई मैले भेट्दा उनी आफ्नो ‘जन-सुराज’ यात्रामा थिए। पटनामा रणनीतिक तयारीमा केही समय बसेका थिएँ। म महोत्तरीको भिट्ठामोड हुँदै विहार पसेको थिएँ। सितामढीं, मधुवणी, दरभंगा पछि समस्तिपुर त्यहाँबाट महुवा, हाजीपुर, मुजफ्रपुर, छपरा पछि पटनासम्म पुगेर ‘जन सुराज’ पद यात्र नियाल्ने अवसर मिलेको थियो। 

भारतमा महात्मा गान्धीको नेतृत्वमा भएको स्वतन्त्रता आन्दोलन पूर्वको सिद्धान्तलाई आत्मसाथ गर्दै विहारमा जनसुराज दल दर्ता गरेर पिके (प्रशान्त किशोर) अघि बढिरहेका छन्। सेन्टर टू सेन्टर लेफ्ट  जन सुराज दलको सिद्धान्त रहेको छ। जन सुराज राजनीतिक दलको मुख्य चेहेराका रुपमा महात्मा गान्धी र डा. भिमराव अम्वेडकरको तस्विर राखिएको छ।

सन् २०२२ को अक्टुवर २ मा विहारको पश्चिम चम्पारण भिटहिरवा स्थित गान्धि आश्रमबाट जन सुराज अभियानको थालनि गरेका थिए पिके (प्रशान्त किशोर)ले। 

अनुसूचित जाती र अनुसूचीत जनजातीको हक हित सहित विहारमा शिक्षा र रोजगारमा परिवर्तन ल्याउने लक्ष्य सहित आप्ना १५ वर्षका योजना सहित पिके (प्रशान्त किशोर)ले पछिल्ला २ वर्ष ग्रामिण वस्तिको पद यात्रा गरेका छन्।

करिव १३ करोड आवादी भएको विहारका अधिकांश युवा वेरोजगार र विहारबाट पलायन हुने गरेको मुल समस्यामा पिके(प्रशान्त किशोर) ले आवाज वुलन्द गरिरहेका छन्। विहारको शुसाशन, शिक्षा र अर्थतन्त्रका विषयमा केन्द्र सरकारबाट भएका विभेदका विषयमा पिके (प्रशान्त किशोर) ले ग्रामीण वस्तीमा जनतालाई सुसूचित पार्दै हिँडेका छन्।

आफ्ना  सन्तान र रोजगारीका लागि आउँदो चुनावमा मतदान गर्न आग्रह गर्दै २ वर्ष देखि विहारमा सक्रिय रहेका प्रशान्त किशोरले जन सुराज अभियानलाई अगाडी बढाईरहेका छन्।

सन् २०१४मा दिल्ली पछी उनीसँग करिव ९ वर्षको अन्तरको भेट थियो। सन् २०१३ मा सिटिजन्स फर एकाउण्टेवल गर्भनेन्स(सिएजी)को स्थापना गरेका थिए। 

सन् २०२५ को अक्टुवर–नोभेम्वर  महिनामा विहारमा विधान सभाको निर्वाचन हुने छ। २ सय ४३ विधान सभा सिटका लागि यही वर्ष विहारमा चुनाव हुने लगभग तय नै छ।

चुनावी रणनीतिका माहिर रहेका पिके (प्रशान्त किशोर)ले विहारमा परिवर्तनका लागि भन्दै जन सुराज अभियान चलाएका छन्। अभियानको नेतृत्व आँफुले गरेपनि जन सुराज दलको नेतृत्व आफुले गरेका छैनन्। सन् २०२४ अक्टुवर २ मा राजनीतिक दलका रुपमा दर्ता भएको जन सुराज पार्टीका केन्द्रीय अध्यक्ष उदय सिंह छन्। सिंह इण्डियन नेश्नल काँग्रेस र भारतीय जनता पाटीमा काम गरिसकेका पूर्व सांसद पनि हुन। र विहार अध्यक्षमा मनोज भारती रहेका छन्। पिके (प्रशान्त किशोर) केवल संस्थापक मत्रा छन। साथै जनसुराज दलका प्रवक्ता छन पवन बर्मा र यदुवंश गिरि। दिल्ली स्थित दक्षिणेश्वरमा जनसुराजको केन्द्रीय कार्यालय रहेको छ।

गरिबीबाट विहारलाई मुक्त गराउन र शिक्षा क्षेत्रमा आमुल परिवर्तन गराउन भन्दै जनसुराज अभियान लिएर पिके(प्रशान्त किशोर)ले विहारमा गएको २ वर्षमा करिव ५ हजार गाउँको पैदल यात्रा गरेका छन्।
जातीय राजनीतिको चरमता विहारमा छ। तर पिके (प्रशान्त किशोर)ले शिक्षा र रोजगारको सवालललाई वुलन्द गरेका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले विहारमा रोजगारी र शिक्षाका खातिर सिन्को नभाँचेको खरो टिप्पणी गरिरहेका छन्।

भारतमा विभिन्न दलका लागि लगभग १५ वटा चुनावी अभियान सफल बनाएका पिके (प्रशान्त किशोर) २० मार्च सन् १९७७ सालमा विहारको रोहतास स्थित कोनारमा जन्मेका हुन्। उनका बाबु सरकारी सेवामा चिकित्सक थिए। आमा उत्तर प्रदेशकी हुन्। असमबाट विवाह गरेका पिके (प्रशान्त किशोर) की श्रीमति चिकित्सा पेशामा छन्। उनका एक सन्तान छन्।

पिके (प्रशान्त किशोर)ले गुजरातमा सन् २०११ मा नै नरेन्द्र मोदीलाई चुनाव जिताउने देखि सन् २०२१ मा तामिलनाडुमा रहेको डिएमके दलका लागि एम.के. स्टालिनलाई १५९ सिटमा चुनाव जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए। त्यति मात्रै होइन आन्ध्र प्रदेशमा वाईएस जगनमोहन रेड्डीका लागि समेत सन् २०१९ मा १ सय ७५ विधान सभा सिटमा १ सय ५१ सिटमा सफलता दिलाउन भूमिका खेलेका थिए।

पिके(प्रशान्त किशोर)ले दिल्लीमा अरविन्द केजरवाल नेतृत्वको उदाएको दल आम आदमी पार्टीकाम लागि समेत सन् २०२०मा चुनावी रणनीतिमा लागि महत्वपुर्ण काम गरेका थिए। दिल्ली विधान सभाको ७० सिट मध्ये आप दलले ६२ सिटमा चुनाव जितेर सरकार बनाएको थियो।

एक पछी अर्को चुनावी सफलता हासिल गरिरहेका पिके (प्रशान्त किशोर)लाई सन् २०२१ मा ममता वनर्जीको दल तृणमूल काँग्रेसले पश्चिम बंगालमा चुनावी रणनीति बनाउने जिम्मा दिएको थियो। पश्चिम बंगाल विधान सभामा रहेको २ सय ४९ सिट मध्ये २ सय १३ सिटमा ममता वनर्जीलाई सफलता दिलाउने मुख्या रणनीतिकार पनि पिके (प्रशान्त किशोर) नै थिए।

संयुक्त राष्ट संघमा बसेर विभिन्न नेताहरुलाई करिव ८ वर्ष राजनीतिक सल्लाहकारको रुपमा सेवा दिएर आप्mनो करियरको शुरुवाती चरणमा पिके (प्रशान्त किशोर)ले काम गरेका थिए।
उता लगातार सत्ता बाट बाहिरीएको पञ्जाव काँग्रेसलाई सन् २०१७ को विधान सभा चुनाव बाट सत्तामा फर्काउने रणनीतिका मुख्य पात्र पनि यिनै पिके (प्रशान्त किशोर) थिए। क्याप्टेन अमरेन्द्र सिंहलाई सफल बनाउँदै १ सय १७ सिट मध्ये ७७ सिटमा जित दिलाउन सफल भए।

पिके (प्रशान्त किशोर)का चुनावी रणनीतिका सफलता अनेकन छन्। करिव १५ राज्यमा सफलता दिलाएका पिके (प्रशान्त किशोर)ले सुरुवाती चरणको विहार चुनावमा जनता दल युनाईटेडका लागि नितिश कुमारलाई समेत विहारमा सहयोग गरेका थिए। तर सन् २०१७ मा उत्तर प्रदेशको चुनावका लागि कंग्रेसले दिएको जिम्मेवारीमा उनलाई सफलता हासिल भएन्। त्यसो हुनुमा प्रियङ्का गान्धीलाई मुख्यमन्त्रीको चेहेराका रुपमा कंग्रेसले अघि बढाउन नचाहनुलाई उनले दोष दिएका छन्। पिके (प्रशान्त किशोर) ले उत्तर प्रदेशमा आफ्नो रणनीतिमा कंग्रेसले नै साथ नदिएको बताएका थिए। राहुल गान्धीसँग कामका लागि सहकार्य गरे पनि गान्धीको कोर टिमले असहयोग गरेपछि उनी त्यहाँबाट अलग्गिएका थिए।

अब फेरि पिके (प्रशान्त किशोर)को विहार यात्रामा फर्केर हेरौं। सन् २०२० मा आफूले भनेका विषयमा जनतादल युनाईटेडका जेडियुले काम नगरेपछि उनी त्यहाँबाट अलग भएर जन सुराज अभियानका साथ विहारमा आमुल परिवर्तनका लागि पद यात्रा थालेका थिए।

आगामी विधानसभा निर्वाचनका सबै २ सय ४३ सिटमा आफ्ना उम्मेद्वारले प्रतिष्पर्धा गर्ने जनसुराज दलले बताउँदै आएको छ।


वेलाबखत पत्रकारहरुले उनीसँग गर्ने तीखा प्रश्नमाथि पिके (प्रशान्त किशोर) प्रतिप्रश्नको जवाफी हमला गर्न पछी पर्दैनन्। 

उत्तर मध्ये अफ्रिकामा समेत काम गरेका पिके (प्रशान्त किशोर)ले कुपोषणको अवस्थाका बारेमा भारतका विभिन्न राज्य पुगेर अध्ययन गरेका छन्। गुजरातको समेत कुपोषणको अध्ययन प्रतिवेदन तयार पारेका पिके (प्रशान्त किशोर)लाई नरेन्द्र मोदीले फोन गरेर भेटेका थिए। त्यहींबाट उनको चुनावी रणनीतिकारको काम अघि बढेको थियो।

लामो समय अरु दलहरुलाई चुनाव जिताउने भूमिका र्विाह गरेका पिके(प्रशान्त किशोर)ले आफ्नै प्रदेश विहारमा आगामी विधान सभा चुनावमा आफ्नै दललाई जिताउन सक्छन वा सक्दैनन अग्नि परिक्षा हुँदै छ। तर पछिल्लो भारतको लोक सभा चुनावमा पिके (प्रशान्त किशोर)ले गरेको आंलन उति मेल खाने देखिएको थिएन। 

भारतमा चुनावी नारा, चुनावी र्‍याली, म्यासेज र सोसल मीडिया अभियानको रणनीतिक प्रयोगका लागि पिके(प्रशान्त किशोर)लाई महारथ हा सिल भएको बताईन्छ। उदाहरण्का लागि नरेन्द्र मोदीको ‘चाय पे चर्चा’ होस् वा विहारमा लालु यादव र नीतिश कुमारबीच गठबन्धन बनाउन सफल थिए।

पिके (प्रशान्त किशोर)लाई सफल बनाउने पर्दा पछाडी केही व्यक्तिहरुश्र सहितको समुह छ। ति मध्ये मुख्य ३ चेहेरा छन्। आईआईटी मुम्बइबाट दिक्षित विहारका प्रतिक जैन, आईआईटी कानपुरबाट अध्ययन सकेका दिल्लीका ऋषीराज सिंह, नेश्नल ल इन्स्टिच्युटबाट कानुन पढेका विनेश चंडेल लगाएतकाहरुको साथ रहन्छ।

विहार भारतको अति नै पिछडिएको र गरिव राज्य जो नेपालका पूर्वी जिल्लाहरुसँग सिमाना जोडिएको राज्य पनि हो। विहारमा आगामी विधान सभा निर्वाचनको तयारी शुरु भईसकेको अवस्था छ। प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्य विपक्षी दलका नेता राहुल गान्धिले पटक पटक विहारको यात्रा गरिरहेका छन्। 

केन्द्रको गठबन्धन भारतीय जनता पार्टीको अगुवाईको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडिए) र काँग्रेस नेतृत्वको अगुवाइमा रहेको (इण्डिया) गठबन्धनको प्रतिष्पर्धाको साँधमा पिके(प्रशान्त किशोर)को परिकल्पनामा बनेको जनसुराज दलले विहारमा कस्तो प्रभाव पार्ला भन्ने विषमयमा भारमा चर्चा हुन थालेको छ।

विहारमा मुलतः लालु यादवको राष्ट्रिय जनता दल,नितिस कुमारको जनतादल युनाईटेड,भारतीय जनता पार्टी र काँग्रेसबीच गठबन्धनको जगमा सिट बाँडफाँड भई नै रहन्छ। साथमा अन्य केही क्षेत्रीय दलहरु समेत चुनावी मैदानमा उत्रिने छन्। तर यो पटक विहारमा पिके (प्रशान्त किशोर)ले अघि बढाएको दल जनसुराज समेत प्रतिष्पार्धामा उत्रने छ। 

विहारमा पछिल्लो विधान सभा मार्फत लालुप्रसाद यादवको आरजेडीले २३.१ प्रतिशत मत पाएको थियो। त्यसैगरी भारतीय जनता पार्टीले १९.५ प्रशित मत प्राप्त गरेको हो। साथै मुख्यमन्त्री नितिश कुमारको पार्टी जनता दल युनाइटेडले १५.४ प्रतिशत मत सहित भाजपाको समर्थथन सहित सरकाको नेतृत्वमा छ।

विहार विधान सभामा अल इन्डिया मजलिस-ए-इत्तेहादुल मुस्लिमिन ५ सिट, बहुजन समाज पार्टी १ सिट, भारतीय जनता पार्टी ७४ सिट, कम्युनिस्ट पार्टी आफ इंडिया २ सिट, कम्युनिस्ट पार्टी अफ इन्डिया (मार्क्‍ससिस्‍ट) २ सिट, कम्यूनिष्ट पार्टी  अफ इन्डिया (मार्क्ससिस्ट-लेनिनिस्ट) १२, हिन्दुस्तानी अवाम मोर्चा (सेक्युलर) ४ सिट, निर्दलीय १ सिट, इन्डियन नेशनल कंग्रेस १४ सिट, जनता दल (यूनायटेड) ४३ सिट, लोक जन शक्ति पार्टी १ सिट, राष्ट्रिय जनता दल ७५ सिट र विकासशील इन्सान पार्टी ४ सिट सहितका दलहरूको उपस्थिति रहेको देखिन्छ।
 
 

प्रकाशित मिति: : 2025-06-07 19:00:00

प्रतिकृया दिनुहोस्