न्यूजिल्याण्डमा एक जना काेराेना संक्रमित भएपछि देशभरि नै लकडाउन

Photo : AP
Photo : AP

न्यूजिल्याण्डमा एक जना नागरिकमा कोरोना संक्रमण देखिएपछि यहाँको सरकारले तीन दिनका लागि राष्ट्रव्यापी लकडाउनको घोषणा गरेको छ।

न्यूजिल्याण्डले कोभिड–१९ सङ्क्रमण बिस्तार नहोस भनी तीन दिन देशव्यापी लकडाउन गरेको छ भने कोरोना संक्रमित भेटिएको अकल्याण्ड सहरमा एक हप्ता लकडाउन हुने घोषणा गरिएको छ। मुलुकको अन्य स्थानमा तीन दिनपछि लकडाउन हट्नेछ।

न्यूजिल्याण्डका अधिकारीहरूले अहिले भेटिएको कोरोना संक्रमण डेल्टा भेरियन्टको हो कि भनेर सुरक्षा सतर्कता बढाइएको बताएका छन्। अहिले न्यूजिल्याण्डका करिब २० प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन्।

न्यूजिल्याण्डमा भेटिएका कोरोना संक्रमितले भ्रमण गरेको मान्डेल सहरमा पनि एक साताको लकडाउन गरिएको छ। प्रधानमन्त्री ज्यासिन्डा अर्डनले लकडाउन अवधिमा अत्यावश्यकबाहेकका सबै सेवा बन्द हुने बताएका छन्।

न्यूजिल्याण्ड कोरोना संक्रमणलाई नियन्त्रणमा सफल भएको मुलुक हो। यहाँ पछिल्लो छ महिना एता एक जनामा पनि कोरोना भाइरसको संक्रमण देखिएको थिएन।

प्रकाशित मिति: : 2021-08-17 21:00:00

प्रतिकृया दिनुहोस्