माधव नेपालसहित १४ सांसद् हटाउने एमालेको निवेदन थन्क्याएर सभामुख कार्यालयमा अनुपस्थित, प्रचण्डका ज्वाइँले दिए ‘कानून अध्ययन गरेर घरमै बसेको’ जानकारी

माधवकुमार नेपाल र अग्नि सापकोटा
माधवकुमार नेपाल र अग्नि सापकोटा

एमालेले माधवकुमार नेपालसहित १४ जना सांसद्लाई कारवाहीका लागि सिफारिश गरेको निवेदन थन्क्याएरसभामुख अग्निप्रसाद सापकोटा मंगलबार संसद् सचिवालयमा रहेको कार्यकक्षमा अनुपस्थित भएका छन्।

कारवाहीबारे बुझ्न गएकी एमाले सचेतक शान्ता चौधरीलगायतको टोलीलाई नेकपा माओवादीकेन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का जेठो ज्वाइँ एवम् सभामुख अग्नि सापकोटाका प्रमुख स्वकीय सचिव सागर केसीले भेटी उहाँ मंगलबार कार्यालय नआउने जानकारी दिएका हुन्।

तीन दिनको सार्वजनिक बिदापछि एमालेको टोली मंगलबार बिहान साढे १० बजे सभामुखको सचिवालय पुगेको थियो। टोलीका एक सहभागीले बिएल नेपाली सेवासँग भने, ‘उहाँका स्वकीय सचिव सागर केसीजीले सभामुखजी नियम–कानून र निवेदन अध्ययन गरेर घरमै बस्नुभएको छ भन्नुभयो। उहाँ आज कार्यालय नआउने जानकारी दिनुभयो।’

नेपाल समूह नयाँ पार्टी गठनका लागि आफू पक्षका ५८ जना एमाले केन्द्रीय सदस्यसहित चन्द्रागिरि रिसोर्टमा दुई दिनदेखि आवासीय बैठक बसिरहेका छन्। बुधबार बिहान चन्द्रागिरिबाट सोझै निर्वाचन आयोग गएर हस्ताक्षर सनाखत गर्ने सो समूहको तयारी छ। अनि सभामुख सापकोटा पनि निर्वाचन आयोगबाट नेकपा (एकीकृत समाजवादी) पार्टीले मान्यता नपाउँदासम्म एमालेले नेपाल समूहका सांसद्माथिको कारवाही थन्क्याएर राखिदिने रणनीतिमा कार्यालयमा अनुपस्थित भएर घरमै बसेको स्रोतको दाबी छ।

प्रकाशित मिति: : 2021-08-24 12:53:00

प्रतिकृया दिनुहोस्