तालिबान अझै पुग्न नसकेको पंजशिरको रहस्यः काबुलबाट १५० किमी उत्तरमा के छ खास ?

लोकान्तर

विन्देश दहाल

अफगानिस्तानका सबै भागमा तालिबानले कब्जा गरिसकेको छ तर एउटा प्रान्त अझै पनि उसको नियन्त्रणमा आएको छैन। 

काबुलबाट १५० किलोमिटर उत्तरमा रहेको पंजशिर प्रान्त, विशेषगरी पंजशिर उपत्यकामा तालिबानविरोधी समूहको पकड कायम छ। उक्त समूहले तालिबानसँग वार्ता गर्ने तर वार्ता सफल नभएमा अन्तिम सास रहुन्जेल हिंस्रक प्रतिकार गर्ने बताएको छ। 

नेसनल रेजिस्टेन्स फ्रन्ट अफ अफगानिस्तान (एनआरएफ) नामक यस तालिबानविरोधी समूहले आफूसँग हजारौं लडाकूहरू रहेको र तिनले तालिबानको कुनै पनि आक्रामकतालाई नसहने बताएको छ।

उता तालिबानले पंजशिर उपत्यकालाई घेराबन्दी गरिसकेको र एनआरएफका लडाकूहरूलाई दबाबमा राखेको दाबी गरेको छ। यससँगै जोडिएको बागलान प्रान्तका तीन जिल्लामा एनआरएफ लडाकूहरूले केही समय नियन्त्रण कायम गरेको भए पनि त्यसलाई फिर्ता लिइसकिएको तालिबानले बताएको छ। 

पंजशिरको दुर्गम भूगोल नै यसको शक्ति हो। हिउँले वर्षैभरि ढाकिने तीनतिरबाट अग्ला पहाडले घेरिएको पंजशिर पुग्नका लागि एउटा साँघुरो सडक मात्र उपलब्ध छ। त्यसैले यसलाई नियन्त्रणमा लिन निकै कठिन छ।

 

प्रकाशित मिति: : 2021-08-25 17:13:00

प्रतिकृया दिनुहोस्