कांग्रेसमा गुटैगुट

 १४ औं महाधिवेशन नजिकिँदै जाँदा कांग्रेसभित्र गुट उपगुट सक्रिय भएका छन्। महाधिवेशनबाट आफू कसरी स्थापित हुने र नेतृत्व हात पार्ने भनेर शीर्ष नेताहरू नै गुट बनाउन थालेका छन्।

१३औं महाधिवेशनसम्म पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको गुट गरी ३ गुट सक्रिय थियो। तर, १४औं महाधिवेशन आउँदै गर्दा विमलेन्द्र निधि र डा. शेखर कोइराला नेतृत्वको गुट थपिएका छन्। योसँगै कांग्रेसमा ५ गुट सक्रिय देखिएका छन्।

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा सरकार सञ्चालनमा भन्दा महाधिवेशनमा बढी केन्द्रित भएको आरोप पनि लाग्ने गरेको छ। हाल उनी सातै प्रदेशका आफ्ना गुटका नेताहरूसँगको छलफललाई तीव्रता दिएका छन्। देउवा गुटमा महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, सदस्य चित्रलेखा यादव, सदस्य बालकृष्ण खाँण, सदस्य ज्ञानेन्द्रबहादुर कार्कीलगायत सक्रिय छन्। 

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पनि आफ्ना निकटका कार्यकर्तासँग दैनिक छलफलमा व्यस्त छन्। पौडेल समूहमा सभापतिका आधा दर्जनभन्दा धेरै आकांक्षीसमेत रहेका छन्। यस गुटमा डा.शशांक कोइराला, सदस्य डा. मिनेन्द्र रिजाल, सदस्य अर्जुन नरसिंह केसी, सदस्य प्रकाशमान सिंह, डा. रामशरण महत, कोषाध्यक्ष सितादेवी यादवलगायत सक्रिय छन्। 

१३औं महाधिवेशनसम्म निकै सक्रिय पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको गुट पनि १४ औं महाधिवेशन नजिकिँदै गर्दा सक्रिय भएको छ। उनको गुटमा सदस्य गगन थापा, प्रदीप पौडेल, शिव हुमागाईं, भीमसेन प्रधान, धना खतिवडालगायत सक्रिय छन्। 

त्यस्तै, विद्यार्थी राजनीतिदेखि नै देउवासँग निकट रहेका उपसभापति विमलेन्द्र निधिले पनि आफ्नो छुट्टै गुट निर्माण गरी महाधिवेशनमा उम्मेदवार हुने घोषणा गरिसकेका छन्। उनले सम्पर्क कार्यालय खोलेर प्रचार प्रसारसमेत सुरु गरिसकेका छन्। यद्यपि, निधि भने छुट्टै गुट भन्न रुचाउँदैनन्। ‘मेरो उम्मेदवारी गुटगत राजनीतिभन्दा माथि छ, निधि भन्छन, ‘गुट भन्न मिल्दैन। मेरो उम्मेदवारी आओस् भन्ने सबै गुटका साथीहरूको आग्रह हो।’ महाधिवेशन प्रतिनिधि चयनपछि नेताहरू आफ्नो पक्षमा खुल्ने निधि बताउँछन्। 

प्रकाशित मिति: : 2021-09-01 07:53:00

प्रतिकृया दिनुहोस्