निकाे नभएका 'युद्धका घाउहरु'

कोरोना महामारीले ठप्प बनेको कलाकारिता क्षेत्र विस्तारै चलायमान हुन थालेको छ।

महामारीले नराम्ररी प्रभाव त पारेकै हो। तर महामारीले नेपालमा 'डिजटल प्लाट फर्म'को विकास गर्न भने ठूलो सहयोग गर्यो। अब दर्शकहरुलाई चलचित्र हेर्न हलसम्म पुग्नु पर्दैन। नाटक हेर्न थियटरसम्म पुग्नु पर्दैन। अनलाइनबाटै चलचित्र रिलिज गर्ने र नाटक लाइभ गर्ने संस्कारको विकास भएको छ। जसको कारण दर्शकले घरमै बसेर आनान्द लिन थालेका छन्।

यहीबीच गत सोमबार 'मण्डला ड्रामा स्कुल'का पहिलो व्याचका विद्यार्थीहरुले 'युद्धका घाउहरु' नाटक प्रस्तुत गरे। बेपत्ताविरुद्धको अन्तर्राष्ट्रिय दिवस 'मेमोरी ३० अगस्त'को अवसरमा नाटक प्रस्तुत गरिएको थियो। नाटकलाई मण्डला थियटरकै आधिकारिक फेसबुकबाट प्रत्यक्ष प्रशारण गरिएको थियो। थियटर मै पुगेर नाटक हेर्ने दर्शकहरु सिमित संख्यामा थिए। तर अनलाइनबाट भने हजारौं दर्शकहरुले नाटकको आनान्द लिए।

त्यसो त 'थियटर ड्रामा' जो कोहीलाई मन पर्दैन। प्राय दर्शकलाई मेकअपसहितका सुन्दर अनुहारलाई महंगा क्यामेराले छायांकन गरेर निर्माण गरिने चलचित्र मनपर्छ। तर यसको अपवाद बनेर 'ड्रामा' रुचाउनेहरु भने थियटर भन्नबित्तिकै हुरुक्क हुन्छन्।

सोमबार प्रस्तुत गरिएको नाटकको लेखन निर्देशन पनि मण्डलाको पहिलो व्याचका वि‍द्यार्थीहरु आफैले गरेका थिए। 'युद्धका घाउहरु'भित्र चार समूहले खण्ड-खण्ड रुपमा चार वटा प्रस्तुती राखे।

'थाहा?' लाई प्रदीप ढुंगाना, शिव परियार, आदित्य मिश्रा र निरज चौधरीले प्रस्तुत गरे। 'जिउँदो लास'लाई सरिता कठायत, हांग ओ हांग राई, दिक्षा चौधरी र आकाश नेपालीले प्रस्तुत गरे। त्यस्तै 'लिई'लाई सुमित्रा पेहिम र सञ्जय विश्वकर्माले न्याय गरे भने 'भँवर'लाई सुस्मिता पोखरेल, पासागं ल्हामु शेर्मा, सुस्मिता गुरागाँई, समृद्धि नेपाल र अनिल कुर्मीले प्रस्तुत गरे।

०५२ साल फागुन १ गते रोल्पाको पश्चिकी भूगोलमा रहेको होलेरी चौकी आक्रमण गरेर माओवादीले १० वर्षे जनयुद्धको सुरु गर्यो। सर्वहारा वर्गको मुक्तिको लागि भन्दै सुरु गरिएको जनयुद्ध अन्तत ०६३ साल मंसिर ५ गते तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच विस्तृत शान्ति सम्झौता भएपछि रोकियो।

यसबीचमा क्रान्तिको लागि युद्धमा होमिएका १६ हजारभन्दा बढी जनताको ज्यान गयो। कयौं अंगभंग भए। घरबारविहिन भए। बाबुआमा र सन्तान गुमाए। यहाँसम्म कि हजारौं बेपत्ता भए। जसको आजसम्म पनि कुनै खबर छैन।

क्रान्तिको लागि हिँडेका केही मानिसहरु सत्तामा पुगे। शाषण चलाए। तर उनीहरुले टेकेको जनताको छाती भने अझैसम्म पनि जहाँको त्यही छ।

युद्धमा बेपत्ता पारिएकाहरुको लागि आजसम्म पनि कुनै न्यायोचित कदम चालिएन। हरेक वर्ष बेपत्ता दिवस मनाउँदै आइएपनि बेपत्ताहरुको खोजीको विषयप्रति कसैको चासो गएको छैन।

यस्ता विभिन्न विषयलाई आधार मानेर मण्डलाका विद्यार्थीहरु प्रस्तुत गरेको नाटक 'युद्धका घाउहरु' वास्तवमा शसक्त थियो। कलाकरहरुले नाटकमा यस विषयप्रति गम्भीर रुपमा न्याय गरे।

प्रकाशित मिति: : 2021-09-04 06:40:00

प्रतिकृया दिनुहोस्