‘छोरालाई पुरुष मात्र नभएर असल मान्छे बनाउछु’:- ऋचा शर्मा

हालै आमा बनेकी अभिनेत्री ऋचा शर्माले आफ्नो छोरालाई पुरुष मात्र नभएर असल मान्छे बनाउने बाचा गरेकी छन्। बिहीबार (आज) सामाजिक सञ्जालमा स्टाटस लेख्दै ऋचाले यस्तो बताएकी हुन्।

उनले लेखेकी छिन्, ‘एउटा असल आमा जो एउटा दरिलो साथी पनि बन्न सकोस् र छोरालाई पुरुष मात्र नभएर असल मान्छे बनाउन सकु भन्ने मात्र लोभ छ अब।’

उनले हिजोका दिनमा आफैं केटाकेटी छु जस्तो लागे पनि अहिले भने परिपक्वताको आभास भएको उल्लेख गरेकी छन्। ‘हिजोसम्म आफैँ केटाकेटी छु जस्तै लागिरहेको थियो। आज एकाएक परिपक्व भएको झै आभास भइरहेको छ। सोच्दा पनि पृथ्वी बोके झै लाग्छ’, उनले भनेकी छन्।

उत्सुकता, अस्थिरता, हर्ष, पीर, डर, दृढ़ता, संकल्पहरुको बाढ़ी मनभित्र चलिरहेको भन्दै उनले थपेकी छिन्, ‘पर्दामा अनेक भूमिका निभाउदा निभाउदै आज पर्दा बाहिर आमा बन्ने सौभाग्य पाउँदा, यो जत्तीको महत्वपूर्ण र न्यानो चरित्र सायद मैले कहिल्यै निर्वाह गर्ने मौका पाएको थिइन् जीवनमा।’

उनले परिवारबाट पनि भरपुर माया पाएको बताएकी छिन्। ‘आज सम्म के कति कमाएँ लेखा-जोखा छैन, तर आमा झै माया गर्ने सासु आमा हुनुहुन्छ, बुवा झै आशीष दिने ससुरा बुवा हुनुहुन्छ, र मनले मागे भन्दा बढ़ी बुझदिने जीवनसाथी।’

अभिनेत्री ऋचाले सन्तानको आगमनसँगै आफू जत्तिको धनी मान्छे कोही छैन झैं लागिरहेको उल्लेख गरेकी छिन्। उनले छोराको नाम आभ्यान बिक्रम राणा राखेकी छन्।

प्रकाशित मिति: : 2021-09-09 19:02:00

प्रतिकृया दिनुहोस्