काँग्रेस महाधिवेशन प्रक्रिया मात्र नहोस्

वर्तमान संविधानको पक्षमा काँग्रेसले स्पष्ट र कठोर पक्षधरता लिनु आवश्यक छ

गोरखापत्र

तारानाथ दाहाल

नेपाली काँग्रेसमा १४औँ महाधिवेशनको प्रक्रिया सुरु भएको छ। यस महाधिवेशनमा सहभागी हुने महाधिवेशनका प्रतिनिधिहरू चयन गर्न त्यसको पहिलो आधार तह वडा अधिवेशन जारी छ। समाचारमा ती अधिवेशनलाई निर्वाचनका रूपमा प्रस्तुत गरिएको देखिन्छ। निर्वाचन भनेको प्रतिस्पर्धाबाट जित हुने विधि हो। महाधिवेशन निर्वाचन मात्रै होइन। निःसन्देह यसले नेतृत्व चयन गर्छ र सोका लागि आन्तरिक निर्वाचन प्रक्रियाहरू अवलम्बन पनि गर्दछ तर महाधिवेशनलाई केवल प्राविधिक निर्वाचनका रूपमा बुझ्नुले महाधिवेशनको बृहत्तर अर्थलाई सङ्कुचन गर्दछ। महाधिवेशन भनेको कुनै संस्था वा सङ्गठनको जीवनको एक कालखण्डको बृहत् समीक्षा, अर्को चरणको यात्राको गन्तव्य र कार्यभारको निर्धारण गर्नु हो। काँग्रेसको १४औँ महाधिवेशनको यो सन्दर्भमा पनि १३औँ महाधिवेशन पछाडिका साढे पाँच वर्षका सफलता–असफलता र त्यसका लागि गरिएका निर्णय र कामको प्रभावकारिताको मूल्याङ्कन गर्नु प्रमुख दायित्व हो। देशभर चलिरहेको वडा तहको अधिवेशनमा यस प्रसङ्गमा बहस, छलफल र समीक्षा भएको कतै सुनिएको छैन। पार्टीले कुनै प्रतिवेदन छलफलका लागि प्रस्तुत गरेको पनि छैन। बहस भइरहेको छ त केवल को, कुन पदमा पुग्ने र पु-याउने भन्ने मात्रै।

नेपाली काँग्रेसको महाधिवेशन कार्यतालिका फेरि पनि संशोधन भएको छ। महाधिवेशन प्रक्रिया जारी रहेकै बेला वडा तहमा अधिवेशन हुन नसकेका २० जिल्लाको हकमा असोज ५ गते अधिवेशन गर्ने गरी आएको नयाँ तालिकामा वडा अधिवेशन भइसकेका पालिकाको अधिवेशनको तिथि सार्नुपर्ने थिएन। यो निर्णय सार्वजनिक गर्नु अगाडि पार्टीको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले राजीनामा दिनुभएको समाचार पनि बाहिरिएको छ। यी दुवै घटनाले महाधिवेशनको प्रक्रियामा अनिश्चितताको बादल छाएको छ। 

प्रकाशित मिति: : 2021-09-12 09:09:00

प्रतिकृया दिनुहोस्