हैटी: राष्ट्रपतिको हत्यामा प्रधानमन्त्रीकै संग्लनता, देश छोड्न लगाइयाे प्रतिबन्ध

बिएल संवाददाता

पोर्ट–अउ–प्रिन्स
Photo : Reuters
Photo : Reuters

हैटीका प्रधानमन्त्री एरियल हेनरीलाई देश छोड्न प्रतिबन्ध लागेको छ।

राष्ट्रपति जोभेनल मोइसको हत्यामा उनको संलग्नताबारे छानबिन भइरहेकोले प्रधानमन्त्रीलाई देश छोड्न प्रतिबन्ध लगाइएको हो।

प्रधानमन्त्री हेनरीबिरूद्ध अभियोजनकर्ताले मुद्दा चलाउने तयारी गरिरहेका छन्। राष्ट्रपतिको हत्याका मुख्य शंकास्पद जोसेफ फिलिक्स बाडियोको प्रधानमन्त्रीसँग सम्बन्धबारे सोधपुछसमेत गरिएको छ।

राष्ट्रपतिको हत्यापछि प्रधानमन्त्री र जोसेफबीच धेरै पटक फोनवार्ता भएको अभियोजनकर्ताले बताएका छन्। राष्ट्रपति मोइसको ७ जुलाईमा आफ्नै घरमा हत्या भएको थियो। बन्दूकधारीले राजधानीस्थित उनको निजी निवासभित्र पसेर गोली हानी हत्या गरेका थिए। उनको मृत्युसँगै हैटीमा राजनीतिक संकट चुलिएको छ।

पदीय दुरूपयोग गरेको भन्दै मंगलबार प्रधानमन्त्रीले मुख्य अभियोजनकर्ता बेडफोर्ड क्लाउडेलाई बर्खास्त गरेको पत्र पठाएका थिए। उनको ठाँउमा अर्को व्यक्ति नियुक्त गरेका थिए।

तर,अदालतले क्लाउडेको बर्खास्त गैरकानूनी भएको फैसला गरेपछि उनले प्रधानमन्त्रीबिरुद्धको कानूनी कारबाही तीब्र पारेका छन्। 

आक्रमणको चेतावनीपछि क्लाउडेलाई थप सुरक्षा प्रदान गरिएको छ। 

प्रकाशित मिति: : 2021-09-15 08:25:00

प्रतिकृया दिनुहोस्