माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेता कार्यकर्ताहरू पार्टी बनाउने होइन, गुट बनाउनतिर लागेको भन्दै असन्तुष्टि पोखेका छन्।
पोष्टबहादुर बोगटीको ७औं स्मृति दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रचण्डले अधिकांश नेता कार्यकर्तामा व्यक्तिगत स्वार्थका निम्ति अलि बढी नै लगाव देखिएको भन्दै असन्तुष्टि जनाएका हुन्।
उनले आफ्नो पार्टी यो बीचमा कहीँ न कहीँ आफ्नो उद्देश्यबाट विचलित भएको पनि उल्लेख गरे। ‘वर्ग, उत्पीडित जाति समुदायको निम्ति जसरी सम्पूर्ण रूपले समर्पित भएर आफ्नो व्यक्तिगत हित स्वार्थलाई त्याग गरेर बलिबेदीमा हामी होमिन हिँड्थ्यौं। लडाइँको मोर्चामा जान पाउँ भनेर हुन्थ्यो, तर आज त्यस्तो छैन। आज हामी व्यक्तिगत पद र स्वार्थका निम्ति अलि बढी नै लगाव देखाएका छौं। गुट बनाउनेतिर जाँगर देखाएका छौं। पार्टी बनाउने होइन, गुट बनाउनेतिर फाइदा हुन्छ भनेर सोच्ने प्रवृत्ति देखिएको छ। पार्टीको क्रान्तिकारी चरित्र विस्तारै विस्तारै स्खलित हुँदै अरु बुर्जुवा पार्टीजस्तै हुने दिशातिर गइराखेको छ,’ प्रचण्डले भने।
पार्टीलाई क्रान्तिकारी बनाउन आवश्यक संरचना निर्वाचन निर्देशिका, निमयवाली, विधि, पद्धति विकास गरेर चल्नुपर्ने उनले बताए। ‘हामी एउटा विशाल पार्टी हौं। नेता कार्यकर्ताको संख्याको कुरा गर्ने हो भने, आन्दोलनमा समर्पण र भावनाको कुरा गर्ने हो भने अहिले पनि माओवादी केन्द्र देशको सर्वाधिक विशाल पार्टी हो। यसको तुलना अरुसँग हुँदैन,’ उनले भने, ‘आन्दोलनमा जाने जुर्मुराएर उठ्ने पार्टी नेता कार्यकर्ता यसै पार्टीमा छन्। ५ पुसको प्रतिगमनविरुद्ध आन्दोलन नेतृत्व गर्यौ। क्रान्ति भनेपछि अहिले पनि त्यसरी नै लाखौँको संख्यामा सडकमा आउन तयार रहेछन्। हामी अलिअलि बिग्रयौ भनेर ठानेको जनता बिग्रेका रहेन छन्। ग्रास लेभल कार्यकर्ता बिग्रेको होइन। जनता बिग्रेको होइन। माथि हामी नेताहरू, गुट गर्दै रमाउने हामी नेताहरू बिग्रेको सावित भयो। गलत बाटोतिर हाम्रा पाइला छन्। हामी सुधार्नुपर्छ भनेर जनताले भनिरहेका छन्,’ प्रचण्डले भने।
देशको राजनीति दुर्घटनातिर जाँदै गर्दा धेरै ठूलो आन्दोलनबाट देशलाई रक्षा गर्ने, संविधान र परिवर्तनको एजेन्डाको रक्षा गर्ने, गणतन्त्र राष्ट्रको रक्षा गर्ने अभियानमा सफलता हात पारेको उनले बताए। ‘झन्डै झन्डै प्रतिगमनमा जाने हो कि भनेर देशमा राजनीतिक घटना भए र क्रान्तिका उपलब्धि धरापमा पर्ने हुन् कि भन्ने परिस्थितिबाट हामीले जोगाएका छौं। नेपाली जनताले जोगाएका छन्,’ उनले भने।