शहीद कृष्णबहादुर रानाको स्मृति सभामा एमालेको शक्ति प्रदर्शन

बर्दिवासको हात्तीलेड कम्युनिष्ट आन्दोलनको उद्गमस्थल मानिन्छ। यस ठाउँलाई सेल्टर बनाएर त्यतिबेलाका कम्युनिष्ट लिडरहरू नरबहादुर कर्मचार्य, निर्मल लामा, मोहनविक्रम सिंह, ऋषि देवकोटा आजाद, बिष्णुलाल वाइवा, जयगोविन्द साहलगायत नेताहरूको सेल्टर बनाएर बसेका थिए केही समय।

बाल संगठनबाट कम्युनिष्ट आन्दोलनमा होमिएका नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा महोत्तरी जिल्ला अध्यक्ष टेकबहादुर बलम्पाकीको घर ती नेताहरूको सेल्टर थियो। बलम्पाकीका बुवा होमबहादुर र आमा राम्री बलम्पाकी पनि क्रान्तिकारी थिए।

कतिसम्म क्रान्तिकारी भने राम्रीले त एसएलसी पास गर्ने बितिकै काईंलो छोरा केशरबहादुर बलम्पाकीलाई कम्युनिष्ट क्रान्ति सफल बनाउन भन्दै मोहनविक्रम सिंह (तत्कालिन चोथो) महाधिवेशन (चौम) का महामन्त्री) लाई जिम्मा लगाएकी थिइन्। बलम्पाकीका माइला दाइ बलबहादुर र साइँला दाइ नलबहादुर बलम्पाकी २०२८ सालदेखि चौमको पूर्णकालिन सदस्य थिए।

२०३६ साल आश्र्विन ६ गते पञ्चायती शासनले यसै गाउँका कम्युनिष्ट नेता कृष्णबाहादुर रानालाई प्रहरी परिचालन हात्तीलेडको जंगलमा हत्या गराएको थियो। राणा तत्कालिन चौथो महाधिवेशन (चौम) मार्फत पञ्चायती शासनविरुद्ध भूमिगत राजनीतिमा थिए।

हात्तीलेडमा रैथाने मगर समुदायको बाहुल्यता छ। राना पनि मगर समुदायका हुन्। तर रानालाई सरकारले अहिलेसम्म आधिकारिक रूपमा शहीद घोषणा गरेको छैन।

असोज ६ गते तीनै रानाको ४२ औँ स्मृतिसभा एमालेले हात्तीलेडमा एक कार्यक्रमको आयोजना गरी भव्य रूपमा मनायो। कार्यक्रमस्थलमा सयौँको संख्यामा एमालेका नेता कार्यकर्ताको सहभागिता थियो।

स्मृतिसभाका प्रमुख अतिथि एमाले केन्द्रीय सदस्य तथा एमाले राष्टिय सभा दलका नेता सुमन प्याकुरेल, केन्द्रीय सदस्य तथा महोत्तरी जिल्ला अध्यक्ष टेकबहादुर बलम्पाकी, केन्द्रीय सदस्य तथा पूर्व महिला बालबालिका मन्त्री जुलीकुमारी महासेठलगायतले सम्बोधन गरेका थिए।

कार्यक्रममा जनसाँस्कृतिककर्मी र कोपीला समूहका कलाकारहरूले आफ्ना प्रस्तुती पस्किएका थिए।

प्रकाशित मिति: : 2021-09-22 17:15:00

प्रतिकृया दिनुहोस्