च्याङ्ग्रा छाेइनसक्नु महंगाे: व्यापारी भन्छन्- मान्छे हेर्न त आउँछन्, तर किन्दैनन् [भिडियाे]

पोखरेलीहरु खानाका पारखी हुन्छन्। शानको जिन्दगी बाचिरहेका पोखरेलीलाई सेलिब्रेसन गर्न कुनै स्पेशल समय त पर्खी राख्नु पर्दैन। 

तर, दसैंमा मुस्ताङी च्याङ्ग्रा पोखरा नझरेसम्म दसैंको रौनक आए झैं हुन्न। हप्तौं लामो यात्रा पार गरी यसपालि पनि मुस्ताङी च्याङ्ग्रा पोखरा झरेका छन्। तर, पोहोर साल जसरी यसपालि च्याङ्ग्रा बिक्री नभएको व्यापारीहरु बताउँछन्। 

'मान्छेहरू हेर्न त आउँछन्। खासै बिक्री भएको छैन,' च्याङ्ग्रा व्यापारी अशोक थकालीले भने। उनले मुस्ताङबाट एक हप्ता लगाएर च्याङ्ग्रा पोखरा ल्याएका थिए। पहिरोले ठाउँ ठाउँमा बाटो छेकेको छ। गाडीमा ल्याउँदा च्याङ्ग्राको तौल घट्ने हुँदा व्यापारीहरु प्राय पैदलमार्गबाटै च्याङ्ग्रा ल्याउने गर्छन्।

पोखराको हेम्जा र याम्दी आसपासमा च्याङ्ग्राको मोलमोलाइ र किनबेच हुने गर्छ।  अघिल्लो वर्ष ३० देखि ३५ हजार पर्ने च्याङ्ग्राको भाउ बढेर यसपाली ४० देखि ४५ हजारसम्म पुगेको छ। हिमाली जडिबुटी खाएकोले च्याङ्ग्राको मासु स्वास्थ्यका लागि फाइदाजनक हुने भन्दै वर्षमा एक दिन च्याङ्ग्राको मासु खाने चलन बढ्दै गइरहेको छ। 

च्याङ्ग्राको माग बढेपछि पोखरामा सुदूरपश्चिमबाट पनि च्याङ्ग्रा ल्याइन्छ। तर, सकभर मुस्ताङी च्याङ्ग्रामा नै पोखरेलीहरु जोड गर्छन्।थकालीको समुहले २ सय च्याङ्ग्रा ल्याएको थियो। दसैंसम्म सबै च्याङ्ग्रा बिक्री हुने आशमा थकालीले च्याङ्ग्रा ल्याएको बताए।

लकडाउनले कोराला नाका ठप्प हुँदा  तिब्बतका व्यापारीले नेपालमा च्याङ्ग्रा भित्र्याउन पाएका छैनन्। यसपालि स्थानीय च्याङ्ग्रा मात्र आएको छ। कम संख्यामा रहेको स्थानीय च्याङ्ग्राले बजारको माग धान्न गाह्राे छ। त्यसकारण पनि च्याङ्ग्राको भाउ बढेको व्यापारी बताउँछन्।

बझाङका व्यापारी सुमन बोहोराले १ सय २० च्याङ्ग्रा पोखरा ल्याएका थिए। बुटवलदेखि चितवनको बाटो हुँदै ट्रकमा पोखरा ल्याइपुर्‍याएको च्याङ्ग्राको व्यापार भने यो वर्ष पहिला जस्तो छैन।

मुस्ताङी च्याङ्ग्रा भन्दा बझाङी च्याङ्ग्राको भाउ सस्तो छ। ३५ देखि ३८ हजारसम्म बझाङी च्याङ्ग्रा बिक्री भइरहेको छ।

प्रकाशित मिति: : 2021-10-10 14:40:00

प्रतिकृया दिनुहोस्