राप्तीका पाँच स्वर्गीय स्रष्टालाई मरणोपरान्त सम्मान गरिने

फाइल तस्वीर
फाइल तस्वीर

राप्ती क्षेत्रका पाँच स्वर्गीय स्रष्टालाई मरणोपरान्त सम्मान प्रदान गरिने भएको छ। नेपाली गीतसंगीतको उन्नयन तथा राप्ती क्षेत्रका स्रष्टाहरुको सम्मान गर्ने उद्देश्यले आउने मंसिर ११ गते दाङमा आयोजना गरिएको उत्सर्ग संगीत अवार्डमा स्वर्गीय अग्रज स्रष्टाहरुलाई मरणोपरान्त सम्मान प्रदान गरिने भएको हो।

पहल नेपाल र उत्सर्ग फिल्मस् नेपालको आयोजनामा उत्सर्ग संगीत अवार्ड २०७८ हुन लागेको छ। उक्त कार्यक्रममा नेपाली गीतसंगीतको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै स्व। प्रेमप्रकाश मल्ल (रुकुम), स्व. जंगबहादुर गन्धर्व (सल्यान) स्व.मधुबाबु थापा (दाङ), स्व. नारायण पाण्डे (दाङ) र स्व. मथुरा प्रसाद श्रेष्ठ (दाङ) लाई मरणोप्रान्त सम्मान गरिने कार्यक्रम निर्देशक केएल पीडितले जानकारी दिए। यो संख्या बढ्न सक्ने उनले बताए।

यस्तै कार्यक्रममा जीवित अग्रज स्रष्टाहरुलाई दीर्घ संगीत साधना सम्मान प्रदान गरिनेछ भने केही विशिष्ट प्रतिभाहरुलाई अभिनन्दन तथा पुरस्कृत गरिने पनि उनले जानकारी दिए। साथै कार्यक्रमका अवसरमा राप्ती क्षेत्रका विभिन्न जाती तथा समुदायका साँस्कृतिक झाँकीहरु प्रस्तुत गरिने कार्यक्रम उपनिर्देशक पाण्डव शर्माले बताए।

अवार्ड वितरण समारोहमा लुम्बिनी प्रदेशका सभामुख एवं जनवादी कवि, गीतकार एवं संगीतकार पूर्णबहादुर घर्ती मगरलाई २५ हजार राशीको उत्सर्ग जनसंगीत राष्ट्रिय पुरस्कार प्रदान गरिने आयोजक संस्थाले जनाएको छ।

राप्ती क्षेत्रका स्रष्टाहरु सहभागी हुने गरी आयोजना गरिए उत्सर्ग संगीत अवार्ड २०७८ मा  राप्ती क्षेत्रमा गाइने लोकभाका, रुपान्तरण एवं राष्ट्रिय भावधाराका गीतहरु, मातृभाषाका गीतहरु, आधुनिक, पप, गजल तथा म्युजिक भिडियो विधामा अवार्ड प्रदान गरिनेछ।  

अवार्डमा सहभागी हुन चाहने स्रष्टाहरुले आगामी कार्तिक १६ गतेसम्म सिर्जना पठाइसक्नु पर्ने कार्यक्रम उपनिर्देशक शर्माले बताए।

प्रकाशित मिति: : 2021-10-10 15:46:00

प्रतिकृया दिनुहोस्