जुम्लामा बाढीकाे वितण्डाः मार्सी धानका खेत बने बगर, भाैतिक संरचनामा क्षति

जुम्लाकाे प्रमुख खाद्य बाली मार्सी धानमा ठुलाे मात्रामा क्षति भएपछि किसानहरु चिन्तित बनेका छन्। बिहानै खेतमा पुगेका चन्दननाथ नगरपालिका -४ का लक्षि सार्कीले पानीमा डुबेका धानका बाला देखेपछि आँखा रसाए। 

'पानी आएकाे दिनबाट निदाउन सकेकाे छैन। धानका दाना खेतभरि तैरिएका छन्,' उनले भने, 'मेघ आएकाे दिनबाट निदाउन सकेकाे छैन। कहिले घाम लाग्ला र नापा भए पनि धान लग्याउँला भनी साेच्दै दिन जान्छन्।'

उनको ६ मुरी खेतमा धान लगाइएको थियो। सबै खेतका धान काटिसकिएको छ। नकाटेको धानमा खासै असर परेको छैन तर काटेको धान भिजेर काम नलाग्ने भइसकेको छ। 'यी धानकाे भात पनि गतिलाे हुनेजस्ताे छैन। धान राम्राे भएकाे साल ६ महिना खाना पुग्थ्यो। यो वर्ष ज्यालादारी गरेर किनि खानु बाध्यता भैगाे,' उनले निराश हुँदै थपे। 

चन्दननाथ -४ कै सुक सार्की वर्षाले धान सखाप बनाएपछि निकै चिन्तत छन्। 'खेत जाँदा धानको अवस्था देखेपछि भावुक हुने मन लाग्छ,' उनले भने, 'जेठ असारमा हरेक बिहान बेलुका पानी हालेर जगाएका धान खेर गएपछि त छाती चार ओैंला फाटेकाे छ।'

लक्षि र सुक सार्की जस्तै यतिबेला जुम्लाका लगभग अधिकांश गाउँका किसानकाे मन भारी भएकाे छ। तिला र हिमा नदी किनारमा पाकेर भित्र्याउनै लागेको मार्सीधान खेतमा बाढी पसेपछि क्षति भएको हाे।

मार्सीधानको उद्गम मानिने लाछु ज्युलाको आधा भागमा बाढी आएको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए। 'भित्र्याउनै लागेको मार्सी धानको खेतमा बाढी पसेपछि किसान निराश भएका छन्,' उनले भने। 

चन्दननाथ नगरपालिकाको तलिउम क्षेत्रमा पनि बाढी आएको किसान धनराशी भण्डारीले बताए। 

तातोपानि गाउँपालिका -७ सर्मीमा करिब ४७ भारीको खेत धान सहित बगाएको तातोपानि गाउँपालिका ७ सर्मिका स्थानीय पहलमान कुँवरले जानकारी दिए।

उनका अनुसार पाकेर भित्र्याउनलाई तयार भएको धान पानी परेर सबै बगाउँदा किसानहरु चिन्तित भएका छन्। बर्षभरिको मेहेनत एकै दिनको पानीले बगाएकोले किसानहरु दुखी भएका छन्। सार्मीकै पिपल जिउलामा करिब १५ देखि २० हलसम्मको धानखेतह नदीले बगाएको छ।

प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाई नेतृत्वको टोली क्षति भएको क्षेत्र तातोपानी र तिला अवलोकन गरि आएकाे छ। प्रशासनले भारी वर्षा र बाढी बढेकाले नदी र खोलाको छेउछाउ, पुराना भत्किन थालेका घरमा नबस्न नागरिकलाई अनुरोध गरेकाे छ। 

जिल्ला कृषि विकास कार्यालय जुम्लाले यो पटक जुम्लाको धान खेती वर्षाले नष्ट पारिसकेको बताएको छ। 

पछिल्लो समय मार्सी चामलको बजारमा माग बढेसंगै उत्पादनमा किसान हौसिएका थिए। तर यो पटक वर्षाले धान सखाप पारेपछि निकै समस्या भइरहेको छ। 

जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटा काटेको धानमा चिस्यान बढेकोले घुनकिरा लाग्ने खतरा बढेको बताउँछन्। उनले निरन्तर वर्षा भए खेतमै धान कुहिने त्रास बढेको बताए।

जिल्ला कृषि विकास कार्यालय जुम्लाले धान खेतीमा किसानलाई लाग्न आग्रह गरिरहेको थियो। यतिबेला वर्षाले धान खेती सखाप गरेको भन्दै उचित राहतको व्यवस्थापन गर्न माग गरेका छन्। अहिले जुम्लाका खेत पोखरीमा सावित भएका छन्।

हिमा गाउँपालिकाकी रत्ना शाही वेपत्ता
अविरल वर्षाका कारण हिमा गाउँपालिका -६ कि एक जना महिला बेपत्ता भएकी छन्। सोमबार परेको भारी वर्षाका कारणले हिमा गाउँपालिका -६ निवासी तथा हाल बागबजारमा बसोबास गर्ने अन्दाजी वर्ष ३२ की रत्ना शाही वेपत्ता भएको डिएसपी दानवहादुर थापाले जानकारी दिए। उनले भने, 'खोलामा दाउरा झिक्ने क्रममा बगेर वेपत्ता भएकी महिलाको खोजी कार्य जारी छ।'

तिला नदीकाे बहाव बढ्याे
आइतबारदेखि परेको वर्षाका कारण जुम्लास्थित तिला नदीको जलसतह बढेको छ। बाढी पूर्वानुमान महाशाखाले मंगलबार बिहान तिला नदीको सेरीघाट जलमापन केन्द्रमा नदीले सतर्कता तह पार गरेको जनाएको छ।  

तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा मंगलबार रातिसम्मै उच्च जोखिम रहेकाले सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ।

बंगालको खाडीमा र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यूनचापीय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा अहिले वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तिला गाउँपालिकामा सबैभन्दा बढी क्षति
आईतबार राति देखि परेको अविरल वर्षाका कारण तिला गाउँपालिकाको -६ मा सबै भन्दा बढी क्षति गरेको छ। भेरी खोलाबाट बगेको नदीको बहाब बढेर खेतहरुमा बाढी पस्दा खेतियोग्य जीमनमा ठुलै क्षति गरेको हो। साँपुली, रावतवाडा र नुवाकोट गाउँको झण्डै १ हजार हेक्टर भन्दा बढी धान खेतमा बाढीले क्षति पुर्‍याएको छ।

नदिको छेउछाउमा रहेका सबै खेतहरु बगरमा परिणत भएका छन्। पाकेको धान घर भित्र्याउने बेला बाढी आउदा खेतहरु बगरमा परिणत भएको रावतवाडाका स्थानीय शान्तिनाथ योगीले बताए। 

'गाउँमा रहेको विजुलीको नहर, खानेपानीका पाइप लाइन, काठेपुल र धान लगाईएको खेतमा नसोचेको क्षति गरेको छ,' उनले भने, 'बाढीले विद्युतको नहर र खानेपानीका पाइप बगाउँदा तिन गाउँका स्थानीय बिजुली र खानेपानी वबिहिन भएका छन्।'

साँपुली, रावतवाडा र नुवाकोट गाउँमा रहेको काठेपुल, सिंचाई कुलो, नदी छेउछाउमा रहेको घर, कुटानी पिसानी र चिरानी मीलहरु पनि बाढीले बगाएको छ। घरमा भित्र्याउन लागेको धान बाढीले बगाउँदा यो वर्ष खाद्यन्न समस्या हुने नुवाकोटका स्थानीय देविलाल चौलागाईले जानकारी दिए।

भेरी खोलाको नदीमा विक्रम संवत १९८४ र २०२८ पछिकै २०७८ मा ठुलो बाढी आएको उनकाे भनाइ छ। उनले भने, 'किसानहरुले गरेको वर्ष भरीको मेहेनत एकै दिनमा बालुवामा मिसिएको छ।' 

साँपुलीका स्थानीय गोकर्णराज शाहीका अनुसार बाढीले किसानहरुको सपना चकनाचुर बनायाे। 'इतिहासमै पहिलो पटक बाढीले ठुलो क्षति गरेको छ। पुरै खेतहरु बगरमा परिणत भएकाले किसानहरुले बिचल्ली भएको छ,' उनले भने, 'धान लगाएको खेतहरु बगरमा परिणत हुँदा किसान मनको रोहिरहेको छ। बाढीले गर्दा किसानहरु घरबार विहिन र सुकुम्बासी हुन पुगेका छन्।'

उनका अनुसार साँपुलीका २ सय ५०, रावतवाडाका ४० र नुवाकोट गाउँका झण्डै २ सय घरधुरीका किसानहरुको खेत, घर, पुलपुलेसा, पानी घट्ट, विजुलीको नहर, पावर हाउस, सिंचाई कुलो र जाजरकोट जोड्ने सडक बाढीले क्षति गरेको छ।

नुवाकोट गाउँनजिकै नदीको किनारबाट ताम्ती जोड्ने सडक बगरमा परिणत भएको गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए। 'रावतबाडामा निर्माणाधिन अवस्थामा रहेको झुलुङ्गे पुलको एकातिरको पुल बगाएको छ। गाउँमा तत्काल खानेपानी र विजुलीको व्यवस्थापन गरिनेछ,' उनले भने, 'गाउँपालिकाको बैठक बसेर बाढी प्रभावित क्षेत्रमा तत्कालका लागि राहत प्याकेज ल्याइनेछ।'

उनले थपे, 'तिलाको ६ नम्बर वडामा भएको क्षतिको आंकलन गर्न सकिने अवस्था छैन। स्थानीय सरकार बाढीले पुर्‍याएको क्षतिको विकास गर्न एक दशक समय लाग्छ। कल्पना गरेको भन्दा बाढीले ठुलो क्षति गरेको छ।'

यसैगरि तातोपानी गाउँपालिका -१ राँका र बाइराँका गाउँका खेतहरु नदीले कटान गरेको छ। तिला गाउँपालिकाको कुडारी र त्रिवेणीको ज्युलोमा बाढी पसेको छ। बाढीले पाकेको धान बालीमा ठुलै क्षति गरेको छ। 

जनता आवसको घर भेरी खोलाको नदीले बगायो
तिला गाउँपालिका -६ नुवाकोट गाउँका लालवहादुर सार्कीको जनता आवसको घर भेरी खोलाको नदीले बगाएको छ। नदीको छेउमै घर भएको हुँदा नदीले घर बगाएको हो। एउटै मात्र घर त्यो पनि बाढीले बगाउँदा सार्कीको परिवार घर विहिन भएको छ। आर्थिक अवस्था कमजोर भएकाले जनता आवासको घरमा बस्दै आएको सार्कीको परिवार यति बेला घर न घाटको हुनु परेको छ।

'एक कित्ता मात्रै जमीन थियो। त्यसैमा जनता आवासको घर बनाएर बसेको थिए। त्यहि घर पनि बाढीले बगाउँदा उठिबास भएको छ,' उनले भने, 'घरबाट सबै परिवार ननिस्केको भएर नदीमा बग्ने रहेछौं। गाउँका मानिस आएर घरबाट नबगाएको भए सबैको एकै चिहान हुने रहेछ।'

जनता आवासबाट निर्माण गरेको घर पनि बाढीले बगाउँदा घर विहिन अवस्थामा पुगेको उनले बताए। उनले भने, 'घर मात्रै बगाएको भए हुन्थ्यो। घर बनाएको जमीन पनि बगाएकाे छ। अब घर बनाउने जग्गा पनि छैन। घर बनाउन सक्ने अवस्था पनि छैन।'

नुवाकोट गाउँकै श्रीकृष्ण उपाध्याय, कृष्णकान्त चौलागाई, कन्नविर नेपाली र मानविर नेपालीको कुटानी, पिसानी र चिरानी मील बाढीले बगाएको छ। २०६७ साल तिर निर्माण गरेको मील बाढीले बगाएको हो। 

त्यस्तै सेतिवाडा माविको ६ कोठे भवन ढुबानमा परेको छ। गाउँमा रहेको पानी घट्ट र मीलहरु बाढीले बगाउँदा अन्नपिस्न पनि समस्या हुने स्थानीयले बताएका छन् भने रावतवाडा गाउँका नवराज चौलागाई र अतिचन्द्र चौलागाईको ७ कोठे घर भत्किन लागेको छ। माटोको छानाले निर्माण भएको घर अविरल वर्षाले भत्किन लागेको हो। जीण अवस्थामा रहेको घरमा नबस्न जिल्ला विपद् व्यवस्थापन समितिले आग्रह गरेको छ।

तातोपानीमा १ सय १७ वटा भेडा र ३ कुकुर वेपत्ता
जुम्लाको तातोपानी गाउँपालीका -७ भेरीखोला नदीले १ सय १७ वटा भेडा र ३ कुकुर बगाएको छ। तातोपानी गाउँपालीका -७ पाथरसागु नजिकैको नदीमा बाढी आउँदा १ सय १७ वटा भेडा ३ कुकुर बगाएको हो। जाजरकोट लैजाने क्रममा तातोपानी -७ ताम्ती बारे गाउँका ७ सात जना किसानले नदी नजीक राखेका भेडा बाढीले बगाएको किसान जय बहादुर रावलले जानकारी दिए।

जुम्लामा ठुलो संख्यामा बाढीले भेडा बगाएको यो पहिलो घटना हो। पानसय पाटनबाट ओर्ली आएको बाढीले भेडाको बगाल नै बगाए पछि भेडा पालक किसानलाई ठुलाे नाेक्सान गरेकाे स्थानीय महेन्द्र रावतले बताए।

भाैतिक संरचनामा क्षति
भारी बर्षा हुँदा टोप्लामा पनी ठुला भौतीक संरचनामा क्षेती पुर्‍याएको हो।  तातोपानी -८ टोप्लामा बिद्युतको पावर हाउस बगाएको स्थानीय लालवहादुर शाहीले जानकारी दिए।

उनका अनुसार भारी वर्षाका कारणले बिद्युतमा अबरुद्ध हुदा झन्डै ३ सय २५ घरधुरी प्रभावित छन्। ९ वटा पानी घट्ट समेत बगाएको छ भने २ वटा घर समेत पूर्ण रुपमा क्षति भएको छ।

यसैगरि तातोपानी गाउँपालिका  -४ मा रहेको नेत्रज्योति माविको २ कोठे भवन, शौचालय, घेरबार र खेलमैदान पुरै नदीले कटान गरेको वडाध्यक्ष धिरज जैशीले बताए। 'विद्यालयको ८० थान डेस्क र बेन्च नदीले बगाएको छ,' उनले भने, 'झण्डै १ करोड बराबरको क्षति भएको  छ।'

तत्काल राहतकाे व्यवस्था गर्नुपर्ने मन्त्री र सांसदकाे भनाइ
बाढीले कर्णालीका १० वटै जिल्लामा क्षति गरेकाे कर्णालीका उर्जा तथा जलस्रोत मन्त्री दिनबन्धु श्रेष्ठले बताए। 'कर्णालीका दसै जिल्लाका सम्बिन्धित मन्त्रालय मातहतका कार्यालयहरुलाई तत्काल  राहात उपलब्ध गराउन निर्देशन दिएकाे छु,' उनले भने, 'क्षतिकाे लगत संकलन हुँदैछ। प्रदेशले सक्ने हामी गर्छाैं, नसक्ने संघ सरकारलाई अनुराेध गर्छाैं।'

कर्णाली प्रदेश सभाका सांसद नरेश भण्डारीले आंलन गर्न नसकिने क्षति हुँदा आफू दुखि भएको बताएका छन्। 'अहिले तत्काल राहत र पुनस्र्थापनका कार्यक्रमका जाेड दिनुपर्ने बेला भएकाे छ,' उनले भने, 'अहिले जुम्लाको तीला नदीकाे बहाव बढेकाे छ। तिला नदीकै कारण बढी क्षति भएको देखियाे। तिला नदीले गर्ने कटान राेक्न बृहत याेजना जरुरी छ। हामी त्यसैका लागि पहल गर्छाैं।'

प्रकाशित मिति: : 2021-10-20 06:40:00

प्रतिकृया दिनुहोस्