मेराे कथा

'जिउनका लागि संघर्ष गर्नुपर्छ' भन्ने आँटले आफूलाई सम्हालिरहेँ !

BreaknLinks
BreaknLinks

श्रीमानकाे साथ र माया कतै बाँडियो। त्यसपछिको समय म बिछिप्त भएँ। नेपाली समाजमा त्यो वातावरण सिर्जना भएपछिको जीवन कस्तो हुन्छ, त्यो मैले बयान गरिराख्नुपर्छ भन्ने लाग्दैन।


म कमजोर भइसकेँ। उमेर घर्की सक्यो। मलाई साथ दिने कोहि छैनन्, म कसरी सक्छु र भन्ने कमजोर मानसिकतालाई जित्न दिएको भए आज मैले म हुनुको अस्तित्व गुमाइसकेकी हुने थिएँ।

आज भन्दा १५/२० वर्ष अगाडि मेरो जीवनमा ठूलो बज्रपात आइपर्‍यो। त्यतिबेला मैले शिक्षकको जागिर छाडिसकेकी थिएँ। परिवारको साथ सहयोगमा मेरो अध्यनलाई अगाडि बढाउने सल्लाह भयो। सरकारी जागिर छाडेर जनजाति कोटामा इन्टर लेबल फरेस्टी अध्ययन सुरू गरेँ। पास पनि भइयो। त्यसपछि भने मेरो जीवनले कोल्टे फेर्‍यो। मैले सोँचे जस्तो जीवन भएन।

०००

पारिवारिक साथ र सहयोगमा एउटा खाडल सिर्जना भयो।

श्रीमानकाे साथ र माया कतै बाँडियो। त्यसपछिको समय म बिछिप्त भएँ। नेपाली समाजमा त्यो वातावरण सिर्जना भएपछिको जीवन कस्तो हुन्छ, त्यो मैले बयान गरिराख्नुपर्छ भन्ने लाग्दैन। ममाथि कमजोर र निरीहको लान्छना लगाइयो। म कसैको छोरी, दिदी, बहिनी, श्रीमती मात्र थिइनँ यो संसारले पुज्ने शब्द ‘आमा’ पनि थिएँ।

तीनजना सन्तानको जिम्मेवारी थियो। म मात्र एउटा लाचार बुहारी, उसले भनेजस्तो कुरूप श्रीमती मात्र थिइनँ। म राम्रोसँग बुझ्दथेँ म एक सृष्टिकर्ता बहादुर नारी, मेरो सन्तानको लागि संसारकै सुन्दर आमा, बहादुर आमा अनि विश्वास र भरोसाको धरोहर थिएँ। मैले जिउनुपर्छ। जिउनका लागि संघर्ष गर्नुपर्छ। म सक्छु भन्ने आँटले आफूलाई सम्हालिरहेँ।

झण्डै दुई दशक बच्चाहरू सम्हाल्दै विश्वासघात र महत्वाकांक्षी सोँचले थला पारेको मेरो सम्बन्ध र मनलाई झेल्दै सम्हाल्दै जिन्दगी अगाडि बढाउने क्रममा ७५ प्रतिशत बढी टुटिसकेकी थिए। तर मसँग सही र गलत छुट्ट्याउन सक्ने विवेक थियो। कहिँकतै अझैपनि केही गर्न सक्छु भन्ने साहस थियो। त्यो अवस्थामा मलाई हौसला दिने, थप साहस भरिदिने, उमेरले छेक्दैन पढ्नुपर्छ, बाँचुन्जेल अझै केही गर्न सकिन्छ भनेर २१ वर्ष लामो विश्रामपछी पढाइलाई निरन्तरता दिन कलेज भर्ना गर्न तत्पर बनाउने साथी पुष्पा थापालाई कहिल्यै विर्सन सक्दिनँ।

त्यस्तै, सधैं हौसला प्रदान गरिरहने साथी रन्जु श्रेष्ठ, शिला शर्मा, उमेरले म भन्दा कैयौं कान्छा मेरा शिक्षक वर्गहरू जसले मलाई प्रेरणाको स्रोत ठान्नुहुन्थ्यो, आदरका साथ सिकाइमा सहजीकरण गरिदिनुहुन्थ्यो सबैमा आभार प्रकट गर्दछु।

अंग्रेजी सहयोग गर्ने मेरो छोरा–छोरी मेरो जीवनलाई सार्थक बनाउने प्रमुख पात्रहरू हुन्। उनीहरूको सहयोगमा बीएड रेगुलर पास गर्न सफल भएँ, यसले मलाई थप हौसला प्रदान गर्‍यो। मास्टर डिग्री पनि राम्रो नतिजा सहित नै सकाएँ।

०००

पारिवारिक जिम्मेवारी सम्हाल्दै जागिरको सिलसिलामा एनजीओ/आइएनजियो संस्थामार्फत देशको विभिन्न ठाउँमा पुगेँ। पाल्पा, सिराहा, तनहुँ, सप्तरी, लम्जुङ लगातको जिल्लाहरूको कुना–कुना पुगेकी छु। यो यात्रामा धेरै जना दिदी बहिनिहरूसँग भेट भयौँ।

कैयाैँको दर्दनाक जीवन भोगाइ नजिकबाट नियाल्न पाएँ। यसले मलाई नेपाली समाजमा महिलाको भोगाइ पीडा र संघर्षसँग परिचित हुने अवसर दियो। जीवनलाई थप ससक्त बनाउने साहास मिल्यो, यो बलियो सहासको बाबजुत पनि कहिलेकाहीँ मनै त हो अतालिन्थ्यो। आँशुधारा बगिदिन्थ्यो, भित्रभित्रै बेचैनीले छट्पटी हुन्थ्यो। महिलाले मात्र यी तमाम समस्याहरू किन भोग्नुपर्छ यसबाट कसरी छुट्कारा पाउन सकिन्छ भन्ने प्रश्नले मलाई भित्र भित्रै पोलिरहन्थ्यो।

बाधा–अवरोध र नकारात्मक सोँचहरूलाई शक्तिमा बद्ल्ने प्रयासमा रहँदा कैंयौ पटक आफू आफैसँग हारेको छु। जीवन नै नरहेपछि के–को पीर के–को लँडाई, यस्तै–यस्तै कमजोर मनस्थितिले जन्माएको विचारले जीवन फाल्न तयार भएर लरखराएको ज्यानलाई फेरि आफ्नै मनले सम्झाउँदै कैयाैंँ पटक आफैले आफैलाई नयाँ जीवन दिएकी छु।

जीवनको आरोह–अवरोहले अनेकाैँ पाठ सिकाएको छ। जीवनमा आइपर्ने हरेक परिस्थितिलाई अवसरको रूपमा लिएर सहज रूपमा सामना गर्न तयार हुने मान्छेको जीवन कहिले नहार्दो रहेछ। साथ, सहयोग र सम्मान सबै मनले खोज्ने र विश्लेषण गर्ने कुरा रहेछ। यो आफैमा ध्रूब–सत्य होइन रहेछ। यसको ज्वलन्त उदाहरण मैले मास्टर डिग्री पास गरेँ।

मैले सामजिक अभियान्ताको रूपमा धेरै कामहरू गरेँ। तर हिजो–मलाई कमजोर र गवार देख्ने ती मनस्थितिहरूलाई परिवर्तन गर्न सकिन। किनकि म सदियाैंदेखि जगडिएर रहेको पुरूष प्रधान समाजमा छु। आज पनि मलाई ती मनस्थितीहरूले त्यसरी नै विश्लेषण गरेँ। मेरो क्षमता र सफलताका प्रमाणहरूलाई फगत समय बिताउने बाहानाको रूपमा अथ्र्याए। यसकाे कुनै तुक नभएको विश्लेषण गरिरहेँ। तर म कहिले आफूले आफ्नो मनलाई हार्न दिएन।

क्षमता भएपछि ढिलो चाडो अवसरले पछ्याउँदो रहेछ। समाजले चिन्दो रहेछ। बस् हिम्मत हार्नु हुँदैन। हिजो एउटा घरको सानो योजनामा नपत्याएकी म आज प्रदेश सरकारको योजना बनाउने ठाउँमा छु। यो मेरो लागि ठूलो अबसर र मेरो संघर्षको प्रतिफल हो। दुःखलाई चिनेर अबसरको रूपमा सदुपयोग गरेर यसले मलाई म हुनुमा गर्व गर्न सक्ने बनायो। आज यो यात्रासम्म आइपुग्न दृश्य र अदृश्य रूपमा सहयोग गर्नुहुने सबै प्रति म आत्मै देखि सम्मान व्यक्त गर्दछु।


थापा लुम्बिनी प्रदेश योजना आयोगकी सदस्य हुन्।

प्रकाशित मिति: : 2022-09-16 06:40:00

प्रतिकृया दिनुहोस्