भीमाद नगरपालिका–१ हुक्कामा दसैंभर खुब चहलपहल थियो। गाउँका सबैजसो परिवारका सदस्य दसैं मनाउन घर फर्किएका थिए। पढाई, जागीर र सुखसयल खोज्दैँ बजार झरेकाहरू दसैं मनाउन गाउँ फर्किएका थिए। अरु बेला सुनसान हुने गाउँका हरेक घरमा सपरिवार भेला हुँदा छुट्टै रौनक थियो। तर त्यो रौनक दसैं सकिएसँगै हराएको छ। हुक्काका एकबहादुर झेडी मगर भन्छन्, ‘छोराबुहरी नातिनातिना दसैं मनाउन गाउँ आएका थिए। दसैं मनाएर फर्किसके। अब घरमा हामी बुढाबुढी मात्रै छौँ।’
झेडीको घरमा मात्रै होइन यहाँका अधिकांश घरको कथा उस्तैं छ। दसैं मनाउन आएका आफन्तजन फर्किएपछि गाउँघर सुनसान बन्न थालेका छन्। ‘छरछिमेक जताततै रमाइलो थियो। अब फेरि त्यस्तै चहलपहल र रमाइलो हुन त अर्को दसैं कुर्नुपर्छ,’ उनले भने। अब कहिलेकाहीँ पूजाआजा हुँदा मात्रै आफन्तसँग भेटघाट होला नभए अर्को दसैं नै कुर्नुपर्ने उनले बताए।
स्थानीय कल्पना केसी पनि दसैं मनाउन गाउँ आएका सबै फर्किएपछि अहिले गाउँ सुनसान बनेको बताउँछिन्। ‘दसैं मनाउन सबै घरमा परिवार जुटेका थिए। दसैंको टीका लगाएपछि फर्किए। पूर्णिमाको दिनसम्म सबै फर्किए। फेरि घरमा बुढाबुढी एक्ला भएका छन्,’ उनले भनिन्।
हुक्का त केवल प्रतिनिधि गाउँ मात्रै हो। तनहुँका हरेकजासो गाउँको अवस्था यस्तै छ। ग्रामीण भेगका अधिकांश गाउँ दसैं सकिएसँगै रित्तिएका छन्। दसैं मनाउन घटस्थापनादेखि गाउँ उक्लनेको लर्को टीकाको दिन विहानसम्मै थियो।
ऋषिङ गाउँपालिका–६ दुकुडाँडाका दानबहादुर आलेका अनुसार गाउँ फेरि एक्लिएको छ। गाउँमा अब बुढापाका मात्रै छन्। ‘दसैंका बेला गाउँका सबैसँग भेट भयो। रमाइलो भयो। टीका थापेपछि फर्कने क्रम सुरु भयो। हिजोसम्म प्राय सबै फर्किसके,’ उनले भने। गाउँ छाडेकामध्ये केही फेरि तिहारमा फर्कन्छन्। तर दसैंमा जस्तो सबैजना नआउने हुँदा खासै चहलपहल हुँदैन। उनका अनुसार बर्षेनी गाउँ रित्तिदैँ छ। गाउँको माया र अन्त कतै जाने ठाउँ भएकाहरू मात्रै गाउँमा भेटिन्छन्। आले भन्छन्, ‘गाउँमा सडक, बिजुली, खानेपानी, शिक्षा, स्वास्थ्य र रोजगारीको उचित प्रबन्ध भएको भए रोकिन्थेँ की?’
जिल्लाका ग्रामीण क्षेत्रबाट सदरमुकाम दमौली, दुलेगौंडा, खैरेनीटार, डुम्रे, आँबुखैरेनी, भिमादलगायतका बजारमा झरेका छन्। काठमाडौं, पोखरा, चितवनलगायत ठूला सहरमा बसाइँ सर्ने पनि उत्तिकै छन्। बजार गुल्जार हुँदा गाउँ निर्जन हुँदैछ। तनहुँका १० स्थानीय तहमध्ये ऋषिङ, घिरिङ, आँबुखैरेनी र देवघाट गाउँपालिकाका ग्रामीण भेगबाट विशेगागरी बजार झर्ने प्रचलन अलि बढी छ। अरु स्थानीय तहका ग्रामीण बस्ती पनि रित्तिदै छन्। बुढापाकाले धानेका छन् गाउँघर अनि खेतीपाती ।
विपत्तिमा गाउँकै भरथेग
शहर बजार पसेकाहरू ०७२ सालमा विनाशकारी भुकम्प जाँदा गाउँ फर्किएका थिए। त्यसपछि कोरोना भाइरसले महामारीको रुप लिएपछि पनि सुरक्षित ठाउँ खोज्दै गाउँ पस्नेको लर्को लागेको थियो। त्यतिबेला फर्केएका केही त अब शहर नफर्कने प्रण गरेर गाउँमै बसेका थिए।
दसैंको बेलाबाहेक गाउँ फर्कनेको लर्को लागेको पछिल्लो दशकमा भुकम्प र कोरोनाको बेला मात्र हो। नत्र शहर झरेकाहरूको गाउँ फर्कने लर्को हरेक बर्ष दसैं अगाडी मात्र हुन्छ। जब दसैं सकिन्छ फेरि रित्तिन्छ गाउँ।