युएईमा सम्पन्न मैत्रीपूर्ण फुटबलमा नेपाली पत्रकार टिम विजयी

युएईमा शुक्रबार सम्पन्न नेपाली पत्रकार र समाजसेवीहरु बीचको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा पत्रकारको टोली विजयी भएको छ।

स्वास्थका लागि खेलकुद भन्ने सन्देश प्रवाह गर्न आयोजित खेलमा आयोजक नेपाली समाज युएईलाई नेपाल पत्रकार महासंघ युएई शाखाको टोलीले ०-२ को गोलअन्तरले पराजित गरेको हो।

दुबईको सफा पार्कमा सम्पन्न खेलको पहिलो हाफ बराबरीमा टुंगिएको थियो। नेपाली समाजका खेलाडीले गोल गर्ने केही अवसरहरु पाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन्। दोस्रो हाफको ११ औं र १९ औं मिनेटमा पत्रकारको टोलीले दुई गोल गर्दै खेलको नतिजा आफ्नो पक्षमा पारेका थिए।

खेल समाप्तिपछि आयोजित औपचारिक कार्यक्रममा नेपाली समाज युएईका अध्यक्ष गोविन्द ढकाल, महासचिव वेदप्रकाश अर्याल, नेपाल पत्रकार महासंघ युएई शाखाका अध्यक्ष लक्ष्मण खनाल लगायतले स्वास्थका लागि खेलकुदको महत्त्व बारे बोलेका थिए।

खेलमा विजयी खेलाडीहरुलाई नेपाली समाज युएईका संस्थापक अध्यक्ष चन्द्रप्रसाद सापकोटा, अग्रज समाजसेवीहरु कृष्ण ढकाल, मोहन शर्मा, वर्तमान अध्यक्ष गोविन्द ढकाल लगायतले ट्रफी तथा मेडल प्रदान गरेका थिए।

प्रकाशित मिति: : 2021-10-22 20:47:00

प्रतिकृया दिनुहोस्