सफलताकाे कथा–२

जसले पासाङ ल्हामु शेर्पालाई एक्लै सगरमाथा चढ्न सुझाइन् (भिडियाेसहित)

भरियाबाट व्यवसायी बनेकी लाक्पाफूटी

BreaknLinks
BreaknLinks

रात छिपिँदै थियो, दिनभरिकाे थकाइका कारण उनी निन्द्रामा मस्त थिइन्। त्यति नै बेला उनलाई आफ्नो नजिक काेही आएझैं लाग्यो। भारी बाेकेर थाकेकाे निन्द्राकै झोँकमा उनले भुइँतिर हात छामिन्। उनले भाँडाे भेटाइन्, त्यही भाँडाेकाे झटारो उनले अँध्याराेमा हिर्काइन्। उताबाट मात्र ‘ऐया!’ को आवाज आयो। 


सोलुखुम्बुकी लाक्पाफूटी शेर्पाले विश्वमा सञ्चालन नभएकाे पढाइ नेपालमा ल्याइन्। उनले ‘ब्याचलर अफ माउण्टेरिङ’, ‘मास्टर इन टुरिजम’ र ‘मास्टर इन माउण्टेरिङ’ जस्ता विषय त्रिभुवन विश्वविद्यालयमा सुरु गरिन्।

स्विजरल्याण्ड, भारत र पाकिस्तानले आफ्नो देशमा सुरू गर्न खोजेको पढाइ नेपालमा सञ्चालन हुनु नै गर्वको कुरा रहेको उनी बताउँछिन्। ‘मैले लुकेर यो विषयको तालिका बनाएँ र यो विषयलाई सुरु गरेँ’, उनले भनिन्।

माउण्टेरिङसम्बन्धी बुझाउनका लागि पर्यटक जोखिम पर्वतारोहणसम्बन्धीको विषय सुरु गरेको उनले बताइन्। ‘अहिलेसम्म मान्छेले माउण्टेन भन्नाले हिमाल चढ्ने र झर्ने मात्र बुझिरहेका छन्। तर माउण्टेनसँग सम्बन्धित धेरै पक्षहरु छन्, जसलाई बुझाउनका लागि हामीले माउण्टेरिङसम्बन्धी कोर्शहरु निकालेका हौँ।’



नेपालकी एक्ली महिला अर्थोपेडिक डाक्टर शिलु : जसले १० हजार बढीलाई बचाइन् 

चित्त नबुझेपछि राजाको लालमोहर नै मिल्काइदिइन् 



चार दशक बढी पर्यटन क्षेत्रमा रहेर काम गरेकी उनी सफल व्यवसायी बनेकी छिन्। उनी नेपाल माउण्टेन एकेडेमीकी पूर्वअध्यक्ष तथा 'लक्जरी डिएमसी' ट्राभल एजेन्सीकी सञ्चालिका हुन्। जहाँबाट उनले हजारौँ पर्यटकहरुलाई सगरमाथा घुमाइसकेकी छिन्। ‘भरियाबाट सुरु गरेको यात्रा व्यवसायीमा पुग्दा धेरै खुसी छु,’ भरिया जीवन सुनाउँदै उनले भनिन्, ‘मैले यहाँसम्म आइपुग्न धेरै संघर्ष गरेँ।’ 

भरियादेखि व्यवसायीसम्मकाे यात्रा

घरधन्दा र मेलापातमा बितिरहेको थियो, लाक्पाफूटीको दिन। ग्याल्जेन शेर्पा र दावा लमु शेर्पाकी पहिलो सन्तान उनी सानैदेखि घरको कामकाजमा पोख्त थिइन्। बिहानदेखि साँझसम्म उनी घरकै काममा व्यस्त हुन्थिन्। उनी सोच्ने गर्थिन्, घरको काम गर्नु नै छोरी मान्छेको साैभाग्य हो। तर गाउँमा स्कुल स्थापना भएपछि उनको सोच पनि बदलिँदै गयो। उनमा स्कुल गएर पढ्ने इच्छा जाग्याे।

पढ्नका लागि घरको एकसरो काम सकाएर स्कुल धाउन थालिन्, उनी। तर छोरी पढाउनु हुँदैन भन्ने समाजमा जन्मिएकी उनी कतिञ्जेल पो स्कुल जान पाउँथिन् र! स्कुल जान थालेको दुई महिनामै उनी पढ्नबाट बञ्चित भइन्। 

‘स्कुल जाँदै थिएँ तर हजुरआमाले छोरीले पढेर केही हुँदैन भनेपछि स्कुल जान रोकिएँ’, उनी भन्छिन्, ‘बाआमाले स्कुल जान रोकिदिनुभयो।’ बाआमाले स्कुल नजान भनेपनि उनी लुकीलुकी स्कुल जान्थिन्।

घरबाट डोको बोकेर घाँस काट्न जाने निहुँमा उनी पढ्न जान्थिन्। र खाजा खाने समयमा साथीहरुसँग तास खेलेर खाजा कमाउँथिन्। ‘आफूसँग खाजा हुँदैन थियो, त्यसैले साथीहरुसँग तास खेल्थेँ अनि खाजा जितेर खाइदिन्थेँ’, बिएल नेपाली सेवासंग उनले भनिन्, ‘स्कुल छुट्टी भएपछि जङ्गल जान्थेँ अनि हतारिएर घाँस-दाउरा टिपेर घर पुग्थेँ।’

घरबाट कामको बहाना गर्दै स्कुल जाँदै थिइन्, उनी। तर कतिञ्जेलसम्म टिकथ्यो र उनको झुठ! उनले ढाँटेको कुरा घरकाले थाहा पाए। र उनलाई सदाका लागि स्कुल जानबाट बञ्चित गराइदिए।

पढ्ने इच्छा भएर पनि पढ्न नपाएकी उनी काम गरेर पैसा कमाउन चाहन्थिन् तर के गर्ने उनलाई नै पत्ताे थिएन। दिनभरि घरकै काममा व्यस्त रहने लाक्पाले एकदिन सगरमाथा जाने पर्यटकहरुलाई आफ्नै गाउँको बाटो हिँडेको देख्थिन्।

सुकिला–मुकिला, नजिक जाँदा मगमग बास्ना आउने मान्छे लठ्ठी टेक्दै हिमालतिर गइरहेको देख्दा उनी छक्क पर्थिन्। हेर्दा गोरा र चटट् परेका हातगोडा भएका पर्यटकहरुलाई देखेर उनी खरानीले भाँडा माझेर पट्पटी फुटेका आफ्ना हात गोडा निराशिएर हेर्थिन्।

आफूले पहिलोपटक देखेका चिटिक्क परेका पर्यटकहरुलाई देख्दा उनी सोच्ने गर्थिन्, ‘यति राम्रा मान्छे कहाँबाट आएका होलान्, म पनि यिनीहरु जस्तै राम्ररी भइदिएको भए हुन्थ्यो नि!’

उनका बुबा ग्याल्जेन शेर्पा गाइड थिए। उनी हिमाल आरोहण गर्न जाने पर्यटकहरुलाई घुमाउने गर्थे। त्यसैले उनमा पनि जोश आयो, राम्रा पर्यटकहरुको गाइड बन्ने।

पर्यटकको गाइड बन्ने कुरा उनले घरमा सुनाइन्। तर कसैले अनुमति दिएन। ‘मलाई बाआमाले गाइड नबन्न सुझाव दिनुभयो तर मैले मानिनँ’, उनले भनिन्, ‘मैले गरेको जिद्धीका अगाडि बाआमाको केही लागेन। अन्तिममा म गाइड बनेरै छाडेँ।’

घरमा बाआमाको अनुमति लिएपछि उनी १३ वर्षको उमेरमा भरिया भइन्। पहिलो पटक भरिया हुँदा उनले ६ रुपैयाँ पारिश्रमिक पाइन्। जुन पैसा उनले आमाको हातमा थमाइदिन्थिन्। पैसा पाएर खुसी भएकी आमाले उनलाई काम गर्न रोकिनन् र उनी निरन्तर काम गर्न थालिन्।

‘मेरो प्रतिस्पर्धा पुरुषसँग हुन्थ्यो, मैले ३५ केजी सामान बोकेर हिमाल चढ्नुपर्थ्यो’, विगतको कुरा सुनाउँदै उनले भनिन्, ‘भारी बोक्ने समयमा म चलाख हुन्थेँ। सामान बोक्नुअघि नै ढुङ्गा हाल्थेँ अनि कसैले थाहा नपाउने गरी ढुङ्गा बाटोमा फ्यालिदिन्थेँ भारी कम हुन्थ्यो।’

भारी बोक्दा दुख पाएपनि खुसी थिइन्, लाक्पा। तर घरमा चलेको विवाहको कुराले उनी दुखी भइन्। विवाहको कुरा चलेपछि उनी भागेर काठमाडौं गइन्। ‘मलाई विवाह गर्न मन थिएन, त्यसैले भागेर काठमाडौं आएँ’, उनले सुनाइन्।

काठमाडौं सहर भागेर आएपनि उनी सन्तृष्ट हुन सकिनन्। र सोलुखुम्बु नै फर्किइन्। ‘सोचे जस्तो थिएन, काठमाडौँ। यहाँ आएपछि थाहा भयो काठमाडौं त फोहोर पो रहिछ’, उनले भनिन्, ‘काठमाडौंमा पैसा कमाउन सानोतिनो काम गरेँ तर केही सीप लागेन। भारी बोक्नु नै सजिलो लाग्यो, त्यसैले घर फर्किएँ।’ काठमाडौंबाट गाउँ फर्किएकी लाक्पा पुनः भरिया पेशामा लागिन्।

गाइड बनेर पर्यटकहरुसँग घुलमिल हुनु उनको पेशा थियो। साेही क्रममा उनको भेट, स्विजरल्याण्डका एक नागरिकसँग भयो। जोसँग उनको मन मिल्यो र विवाह पनि भयो। विवाह गरेर उनी स्विजरल्याण्ड पुगिन्। उनले त्यहीँ सिकिन्, ‘स्केटिङ’ र बनिन् यूरोपकै स्केटिङ खेल्ने पहिलो महिला।

विवाह गरेर विदेशिएकी उनी १० वर्षपछि स्वदेश फर्किइन्। ‘मलाई नेपालमै केही गर्ने मन थियो, त्यसैले नेपाल फर्किएँ’, उनले भनिन्।

स्वदेश फर्किपछि उनी पर्यटन क्षेत्रमा क्रियाशील रहेर ट्रेकिङ एजेन्सीज् एसोसियसन अफ नेपाल (टान) को कार्यकारी सदस्य भइन्। त्यसपछि उनले पर्यटन क्षेत्रमा उदाहरणीय काम गरिन् र सफल व्यवसायी बनिन्। ‘म धेरै दुख र संघर्ष गरेर यहाँसम्म आएकी हुँ। त्यसैले मलाई आफू देखेर गर्व लाग्छ’, उनले भनिन्।

लाक्पासँग घटेको त्यो घटना...

सानै उमेरदेखि आत्मनिर्भर बनेर पैसा कमाउन थालेकाे कारण आफूले धेरै समस्याहरूकाे सामना गर्नुपरेकाे उनी बताउँछिन्। उनी भन्छिन्, ‘आफ्नो शरीरको सुरक्षा आफैँले नै गर्नुपर्थ्यो।’

कुरा आजभन्दा पाँच दशकअघिको हो। जब १६ वर्षकी लाक्पा पहिलोपटक ‘किचन गर्ल’ को रुपमा अन्नपूर्ण हिमाल जाँदैथिइन्। त्यही साँझ उनी मुक्तिनाथमा बसिन्। ‘सबैजना पर्यटकहरु रमाइलो गर्न थाले, म भने किचन सम्हाल्न थालेँ’, उनले भनिन्।

हिमाल चढ्न गएकाहरूका लागि खाना पकाइसकेपछि उनी भान्सामा नै निदाइन्। रात छिपिँदै थियो, उनी निन्द्रामा मस्त थिइन्। त्यति नै बेला उनलाई आफ्नो छेउमा कोही आएजस्तो लाग्यो। निन्द्राकै झोँकमा उनले भुइँतिर छामिन्। हातमा भाँडो आयो, त्यही भाँडाेको झटारो उनले अँध्याराेमा हिर्काइन्। उताबाट मात्र ‘ऐया!’ को आवाज आयो।

‘रात छिप्पिएको कारण अँध्यारो थियो, त्यसैले मेरो नजिक को आयाे भनेर केही थाहा भएन’, उनी भन्छिन्, ‘अध्याँरोमै भाँडाको झटारो हानिदिएँ।’

रातमा भएको घटनाबारे उनले भोलिपल्ट मात्र चाल पाइन्, उनी सुतेको ठाउँमा आउने व्यक्ति त आफ्नै टिमका ‘कुक दाइ’ पो रहेछन्। ‘कुक दाइको टाउकोमा टुटुल्को उठेको थियो, त्यसैले थाहा पाएँ’, उनले भनिन्।

अन्नुपूर्ण पुगुन्जेलसम्म आफूसँग नबोलेका कुक दाइ पोखरा आएपछि मात्र बोले। ‘त्यो दिन आफैँ सर्तक भएर मैले आफ्नो त्यसरी आफ्नो अस्मिता जोगाएकी थिएँ’, उनले सुनाइन्।

हिमाल चढ्नअघि पासाङ ल्हामु शेर्पाले लाक्पालाई सुनााएको त्यो सपना...

सर्वोच्च शिखर सगरमाथा चढ्ने नेपालकी पहिलो महिला आरोही पासाङ ल्हामू शेर्पा उनकी दिदी पर्थिन्। जोसँग उनी नजिक थिइन्। ‘पासाङ दिदी र मेरो सपना भनेको हिमाल चढ्ने थियो, हाम्रो कुराहरु पनि मिल्थ्यो’ उनले सुनाइन्। दुई जनाको सपना एउटै थियो, त्यसैले २०५० सालमा उनीहरुले सगरमाथा चढ्ने निधाे गरे।

उनीसहित पासाङ ल्हामू शेर्पा र नन्दा राईले सगरमाथाकाे चुचुराेमा पुग्ने लक्ष्य लिए। जसकाे नेतृत्व पासाङले गरिन्। ‘हाम्रो टिमको लिडर पासाङ दिदी हुनुहुन्थ्यो, म उहाँको पछि थिएँ’, उनले भनिन्।

पासाङकी निकट थिइन्, उनी। त्यसैले उनीसँग पासाङ खुलेर कुरा गर्थिन्। उनलाई अझै पनि याद छ, पासाङले हिमाल चढ्नु अगाडि आफूलाई सुनाएका ती सपनाका कुरा।

उनलाई पासाङले भनेकी थिइन्, ‘बहिनी म सधैँ सपनामा नयाँ गुम्बा र नयाँ लामासँग भेटेको देख्छु, सपनामा यस्तो देख्नु त राम्रो होइन। तिम्रो भेनाले सँगै हिमाल चढ्यौँ भनिरहेका छन्, म के गरुँ बहिनी?’ पासाङले सपनाको कुरा सुनाएपछि उनले पनि पासाङलाई भनिन्, ‘सपना पनि नराम्रो देख्नुहुन्छ भनिरहनुभएको छ, तीन जना छोराछोरी सानै छन्, केही भयो भने बच्चाहरु टुहुरो हुन्छन्, त्यसैले तपाईं एक्लै नै जानुहोस् दिदी।’ लाक्पाको सुझाव सुनेपछि पासाङ श्रीमानबिना नै हिमाल चढ्न तयार भएकी थिइन्।

पासाङ लाक्पा र नन्दाभन्दा अगाडि थिइन्। उनीहरूकाे याेजना थियाे, ‘पासाङ हिमाल चढेर झरेपछि मात्र सबैजना सगरमाथा चढ्ने।’ तर उनीहरूकाे सपना चकनाचुर भयाे, जब पासाङकाे मृत शरीर भेटियाे।

‘मलाई अझै याद छ, त्यो दिन। जब पासाङ दिदीको कान्छी छोरीले उहाँलाई सगरमाथा चढेर छिट्टै फर्किनु है मम्मा भनेर पत्र लेखेकी थिइन्’, उनी सम्झिन्छिन्, ‘सारै नरमाइलो थियो, त्यो दिन।’

सगरमाथा चढेर फर्किने क्रममा खराब माैसमकाे कारण पासाङकाे निधन भएपछि उनी आजित भइन्। त्यसपछि उनले सगरमाथा चढ्ने इच्छा सदाका लागि त्यागिन्। पासाङले हिमालको चुचुरोसम्मै पुगेर विश्व कृतिमानी कमाए पनि आफूले जीवन कमाएको उनको ठम्याइ छ। त्यही कुरामा सन्तृष्ट छिन्, लाक्पा।

आफूले भोगेको दुख र सघंर्षको कारण पर्यटन क्षेत्रमा स्थापित भइसकेकी ५९ वर्षीया लाक्पाले तीन वटा किताब लेखिसकेकी छिन्। जहाँ उनले हिमालकाे वर्णन गरेकी छिन्।

पासाङ ल्हामु शेर्पाको सगरमाथा हिमाल अरोहणको सहयात्री र सफल पर्यटन व्यावसायी तथा लेखक बनिसकेकी लाक्पाकाे अब एउटै सपना छ, त्यो हो नेपालमै माउण्टेरिङ विश्वविद्यालय खोल्ने। जसका लागि उनी निरन्तर खटिरहेकी छिन्। 

प्रकाशित मिति: : 2023-03-28 20:00:00

प्रतिकृया दिनुहोस्