मानव सेवा आश्रमले पोखरामा वृहत् सांस्कृतिक देउसी भैलो कार्यक्रमको आयोजना गर्ने भएको छ। संस्कृतिको संरक्षणसँगै मानवता प्रवद्र्धनका लागि कार्यक्रमको आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको हाे।
महान् पर्व तिहारको पूर्व सन्ध्यामा कात्तिक १६ गते, मंगलबार दिनको ११ बजे कार्यक्रम गर्न लागिएको आश्रमका केन्द्रीय कोषाध्यक्ष होमनाथ तिमल्सिनाले जानकारी गराए।
पोखरा सभागृहमा हुने कार्यक्रममा हास्यकलाकार मनोज गजुरेल, लोक गायक पशुपती शर्मा, भजन गायक चिरन बराल, आश्रमको संरक्षणमा रहेका आशाका दीपक बालगोपाल साना–साना बाबुनानीहरुसहित आश्रमका अभियन्ताहरु र बालगोपालहरुको बेजोड प्रस्तुती रहने प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ।
हाल पोखरा १७, छोरेपाटनमा भाडामा सञ्चालन भइरहेको मानवसेवा आश्रम पोखरा शाखालाई घरभाडाबाट मुक्त गराई अपाङ्गतामैत्री, बालमैत्री भवनका लागि पोखरा– २५, बबियातारामा निर्माण भइरहेको भवनलाई पूर्णतातर्फ लैजानका लागि उक्त कार्यक्रम आयोजना हुन लागेको हो।
यसै कार्यक्रम मार्फत हालसम्म मानवसेवा आश्रमले गरेका कार्यहरुको जानकारी समेत गराइएको थियो। मकवानपुर जिल्लाबाट वि.स २०६९ सालमा सुरुवात भएको आश्रमले हालसम्म १७ जिल्लामा शाखा विस्तार गरेको छ। आजको दिनसम्म आश्रमले ६१३५ जनाको उद्धार गरिसकेको विवरण छ। जसमध्ये हाल आश्रममा १६०० बढी व्यक्तिहरु आश्रित छन् भने २२०० बढीको पारिवारिक मिलन समेत गराएको छ।
यस्तै, पोखरमा रहेका २ वटा सेवाकेन्द्रमा गरी ६८७ जना विभिन्न उमेर समूहका सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, शारीरिक तथा मानसिक रुपमा कमजोर) सडकआश्रित मानवहरुको सेवा गरेको छ। त्यस्तै ४६७ जनाको पारिवारिक मिलन भएको छ भने ५२ जनाको आश्रममा सेवाको क्रममा शरीर शान्त भएको छ।